ad ad

कारोबार


प्राधिकरणले हिमालयलाई ‘ग्राउन्ड ह्यान्डलिङ’ दिने, तत्काल सेवा सुरु गर्ने

प्राधिकरणले हिमालयलाई ‘ग्राउन्ड ह्यान्डलिङ’ दिने, तत्काल सेवा सुरु गर्ने

त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सको जहाज। तस्बिर : हिमालय एयरलाइन्स


वसन्त अर्याल
माघ १५, २०८० सोमबार १७:४४, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्नो विमानको भूमिस्थ सेवा आफैँ (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्ने अनुमति दिने भएको छ।

सर्वोच्च अदालतले परमादेश दिएसँगै हिमालयले माग गरेको ग्राउन्ड ह्यान्डलिङ पाउने भएको हो। 

प्राधिकरणले २०७७ असोजमा हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने निर्णय गरेको थियो। तर तत्कालीन उड्डयनमन्त्री योगेश भट्टराईले ग्राउन्ड ह्यान्डलिङ दिने विषय रोक्न प्राधिकरणलाई निर्देशन दिएका थिए। 

न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिन परमादेश दिएको थियो। हिमालय एयरलाइन्स प्रा.लि र कम्पनीका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए। 

ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिकाअनुसार हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ। हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको उपकरण खरिद गरी तयारी पूरा गरे पनि ग्राउन्ड ह्यान्डलिङ नदिएको भन्दै मुद्दा दायर गरेको थियो। 

हिमालय एयरलाइन्सले २०७९ फागुन ४ गते प्राधिकरणविरुद्ध मुद्दा दायर गरेको थियो। प्राधिकरणले ठाउँ अपुग रहेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिएको थिएन। 

प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले अदालतको फैसला मान्नुपर्ने बताए। 

‘हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्यान्डलिङ पाउँछ’, निरौलाले भने, ‘(हिमालयलाई) सेल्फ ग्राउन्ड ह्यान्डलिङसहितको सेवा दिने गरी लाइसेन्स दिइएको थियो।’

ग्राउन्ड ह्यान्डलिङ निर्देशिकामा हप्तामा ३५ बढी उडान गर्नेलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ। 

‘सन् २०७७ मै ग्राउन्ड ह्यान्डलिङ गर्न दिने प्रक्रियामा थियो। विभिन्न प्राविधिक कारणले पाएन’, निरौलाले भने, ‘अब अदालतकै परमादेशअनुसार उसले पाउँछ।’

उनले अदालतको पूर्णपाठ फैसला आएसँगै प्राधिकरणले हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने बताए। हप्तामा ३५ भन्दा बढी उडान गर्ने एयरलाइन्सले मात्रै सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउँछन्। 

‘हप्तामा कम्तीमा ३५ पटक नियमित उडान सञ्चालन गर्न अनुमति पाएको वायुसेवाले मात्र आफ्नो उडानमा भूमिस्थ प्रबन्ध तथा भूमिस्थ सेवा विमानस्थलमा आफैँले सञ्चालन गर्न सक्नेछन्’, निर्देशिकामा उल्लेख छ। 

सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमतिप्राप्त वायुसेवाले अनुमति प्राप्त गरेको बढीमा १ वर्षभित्र आफूले प्रदान गर्ने सेवाका लागि चाहिने उपयुक्त उपकरण तथा दक्ष जनशक्तिको व्यवस्था गरी स्तरीय सञ्चालन कार्यविधि तथा ग्राउन्ड ह्यान्डलिङ म्यानुअल स्वीकृत गराउनुपर्नेछ। 

त्रिभुवन विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले समग्र विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ। एयर इन्डियाको भने सेल्फ ग्राउन्ड ह्यान्डलिङ रहेको त्रिभुवन विमानस्थलले जनाएको छ। 

ग्राउन्ड ह्यान्डलिङमा जहाजमा यात्रु चढाउन तथा ओराल्न भर्‍याङ राख्ने, यात्रुलाई टर्मिनलबाट जहाजसम्म लैजाने र ल्याउने, यात्रुका ब्यागेजको व्यवस्थापनलगायतका काम आफैँ गर्न पाइन्छ। 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ

अनुमति दिएको २–३ दिनभित्रै सेवा सुरु गर्न सक्छौँ : एयरलाइन्स
हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको लागि आवश्यक पर्ने उपकरण खरिद गरिसकेको छ। 

‘प्राधिकरणले अब ग्राउन्ड ह्यान्डलिङ गर भन्दा हामी तयार भइसकेका छौँ’, विजय श्रेष्ठले भने, ‘प्राधिकरणले अनुमति दिएको ३–४ दिनमै ग्राउन्ड ह्यान्डलिङ सुरु गर्न सक्छौँ।’

श्रेष्ठले हिमालय एयरलाइन्सको लाइसेन्स लिने समयमै ग्राउन्ड ह्यान्डलिङसहितको सेवा दिने गरी प्रक्रिया पूरा गरेको बताए। 

‘उपकरण, सेल्फ ग्राउन्ड ह्यान्डलिङको मापदण्ड, व्यवस्थापन, दक्ष जनशक्ति तयार गरिसकेका छौँ’, श्रेष्ठले भने, ‘ग्राउन्ड ह्यान्डलिङको सेवा प्रदान र आकस्मिक अवस्थामा कसरी व्यवस्थापन गर्ने विषयमा तयार भइसकेका छौँ।’

प्राधिकरणका शर्तहरु पूरा गरिसकेको अवस्था छ। सेल्फ ग्राउन्ड ह्यान्डलिङको गुणस्तर कसरी कायम गर्ने भन्ने हाम्रो योजना प्राधिकरणले स्वीकृत गरिसकेको छ। 

हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको लागि आवश्यक पर्ने जनशक्तिलाई तालिम दिइसकेको जनाएको छ। 

प्राधिकरणले नै लाइसेन्स दिएको कम्पनीलाई रोक्नुपर्ने कुनै आवश्यक छैन। प्राधिकरणलाई बढी राजस्व दिने कम्पनीको विषयमा नकारात्मक हुनुपर्ने कुनै कारण नभएको श्रेष्ठ बताउँछन्। 

‘प्राधिकरणको लक्ष्य र उद्देश्यअनुसार नै हिमालय एयरलाइन्स सुरक्षा लगायतका मादपण्ड पूरा गर्दै आएको छ’, उनले भने, ‘लोकल अपरेटिङ बेस भएको कम्पनी हौँ। त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी उडान गर्छौँ।’

राजस्वको हिसाबले पनि प्राधिकरणको सहयोगी संस्थाजस्तै भएको श्रेष्ठले बताए।

ग्राउन्ड ह्यान्डलिङ सेवा पाएसँगै हिमालय एयरलाइन्सको खर्च जोगिने र नेपाल वायुसेवा निगमको आम्दानी घट्ने देखिन्छ। 

‘आम्दानी हाम्रो मात्रै होइन नेपाल सरकार र प्राधिकरणको पनि घट्ने देखिन्छ’, वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘सर्वोच्च अदालतको पूर्ण फैसला आएपछि निगमले आधिकारिक धारणा सार्वजनिक गर्छ।’

२०७७ मा प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिने निर्णय गरेपछि आधिकारिक रुपमै निगमले विरोध जनाएको थियो। 

हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट क्वालालम्पुर, दोहा, आवुधावी, दमाम, दुबई, रियाद, बेइजिङ, ढाकालगायतका गन्तव्यमा उडान गरिरहेको छ। 

टिबेटेन सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपालको यति वर्ल्ड इन्भेष्टमेन्ट प्रा.लिको संयुक्त लगानीसँगै हिमालय एयरलाइन्सका जहाजहरु उड्नथालेका हुन्।  

हाल हिमालय एयरलाइन्ससँग ४ वटा जहाज छन्। १८० जनासम्म सिट क्षमता भएको एयरबस ३२० का ३ वटा र १४४ सिट क्षमताको एउटा एयरबस ३१९ जहाज छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .