कारोबार


पुरानो बक्यौता खोज्ने दीर्घराज, टेबलमा फाइल नराख्ने भूपाल

आन्तरिक राजस्वमा नेतृत्व फेरिँदा कार्यशैली पनि फेरियो
पुरानो बक्यौता खोज्ने दीर्घराज, टेबलमा फाइल नराख्ने भूपाल

दीर्घराज मैनाली र भूपाल बराल


नेपालखबर
माघ २८, २०८० आइतबार १९:८, काठमाडौँ

गत हप्ता अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका महानिर्देशक परिवर्तन गरे। त्योसँगै गत सोमबारदेखि भूपाल बरालले आन्तरिक राजस्व विभागको जिम्मेवारी सम्हालिरहेका छन्। 

करिब १ वर्ष २ महिना विभागको नेतृत्व गरेका दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी दिइएको छ। मैनाली जागिरे जीवनको सुरुदेखि नै राजस्व पृष्ठभूमिका हुन् भने बराल सहसचिव भइसके पनि राजस्वतिर अनुभव लिएका हुन्। उनी प्रशासन पृष्ठभूमिका हुन्। 

विभागका एक अधिकारीका अनुसार यी दुईमा काम गर्ने शैली ठीक विपरीत देखिएको छ। 

मैनाली आउनेबित्तिकै चालू कामलाई निरन्तरता दिने र पुरानो बक्यौतालाई निगरानी राख्दथे। तर बरालले भने टेबलमा फाइल नै नराख्न भनेका छन्। आएका फाइलहरुलाई तुरुन्त काम अघि बढाइहल्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। 

बरालले गत बिहीबार सबै कर कार्यालयका हाकिमहरुलाई भेला गरेका थिए। उक्त भेलामा बरालले कुनै पनि फाइल टेबलमा नै नराख्न भन्दै निर्देशन समेत दिए।

अहिले हरेक कर कार्यालयमा कर परीक्षणको काम भइरहेको छ। ती कामहरु तुरुन्त अघि बढाइहाल्न एक फाइललाई कति समय लाग्छ, त्यसको लेखाजोखा गर्न बरालले भनेका छन्।

तर मैनालीले भने आफ्नो सफलतासँग बक्यौता उठाएको र बिगारिएका काम सपारिएको विषयलाई जोडेका छन्। 

मैनालीले आफ्नो धन्यवाद ज्ञापन कार्यक्रममै विगत लामो समयदेखिको एफपीओ र मर्जरको आयकरसम्बन्धी विषय विवादित बनाइएकोलाई वैधानिक रुपमा समस्या समाधान गरी करिब १३ अर्बजति राजस्व संकलन गरी भविष्यको कराधारलाई समेत संरक्षण गरिएको बताएका थिए।

विशेषगरी बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर संकलन भएको छ। त्यस्तै  अर्थतन्त्रको गति सामान्य रहेको अवस्थामा पनि करको संकलन गत वर्षको तुलनामा चालू वर्षको पुस मसान्तसम्म १० प्रतिशतको वृद्धिसहित भएको उनको भनाइ छ।  

२ खर्ब ४२ अर्ब राजस्व संकलन भएको जानकारी दिँदै मैनालीले मूल्यअभिवृद्धि करको दायरा विस्तार गरिएको, आयकरको छुटहरु हटाई महत्वपूर्ण रुपमा दायरा विस्तार गरिएको बताए। 

राजस्व चुहावट नियन्त्रणतर्फ झूठा तथा नक्कली बिल प्रयोग गरेका १ हजार ९ सय ८६ करदाताको अभिलेख तयार गरी ९ अर्ब ८३ करोड रकमको अनुसन्धान कार्य समेत भइरहेको उनको भनाइ छ। 

आर्थिक गतिविधि कमजोर हुँदा आन्तरिकतर्फको राजस्व समेत विगत दुई वर्षदेखि कम संकलन भइरहेको छ। पुस मसान्तसम्ममा २ खर्ब ४२ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .