कारोबार


कतारबाट आयो ९७ करोडको सुन, नेपालबाट गयो २ करोडको कार्पेट

कतारबाट आयो ९७ करोडको सुन, नेपालबाट गयो २ करोडको कार्पेट

दीपक भट्ट
बैशाख ११, २०८१ मंगलबार २२:४४, काठमाडौँ

कतारका राजा तमिम बिन हमाद अल थानी यतिबेला नेपाल भ्रमणमा छन्। 

उनी पहिलोपटक नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौं आएका हुन्। 

कतारसँग नेपालको छुट्टै साइनो जोडिएकाले पनि उनको यो भ्रमणलाई विशेष मानिएको छ। 

त्यसो त साढे ३ लाख हाराहारीमा नेपाली युवा कतारमा काम गर्छन्। सोही कारण नेपाल र कतारबीच हवाइ उडान समेत निरन्तर चल्दै आएको छ।

बेलाबखत कतारले नेपाललाई सहयोग पनि गर्दै आएको छ। यिनका अतिरिक्त नेपाल र कतारलाई वैदेशिक व्यापारले पनि जोडेको छ तर नगन्य रुपमा। 

शेख तमिमको भ्रमणमा वैदेशिक व्यापारको पाटोलाई हेरेर अझै महत्त्वपूर्ण बनाउन सके नेपालका लागि फलदायी हुने देखिन्छ। 

हाल नेपालको वार्षिक वैदेशिक व्यापारलाई तथ्यांकमा हेर्ने हो भने कुल १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको देखिन्छ। 

त्यसमा कतारसँगको हिस्सा १३ अर्ब ४१ करोड रुपैयाँ बराबरको मात्रै छ। त्यसमा पनि नेपालको निर्यातलाई कतारबाट हुने आयातले थिचेको छ। 

गत आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कतारबाट एक वर्षमा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। तर नेपालबाट ११ करोड रुपैयाँ बराबरको वस्तु मात्रै कतार निर्यात भएको छ। 

यही वर्षको वैदेशिक व्यापार हेर्ने हो भने पनि सोही अनुपातमा देखिएको छ।  

चालू आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्ममा नेपालबाट कतार निर्यात हुनेभन्दा आयात हुने वस्तु नै धेरै देखिएको छ।

यो अवधिमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु नेपाल आएको छ। तर नेपालबाट जम्मा ९ करोड १९ लाख रुपैयाँबराबरको वस्तु मात्रै निर्यात भएको छ।

चालू आर्थिक वर्षको वस्तु आयातनिर्यात हेर्दा कतारबाट जिउँदो विशेष प्रकारको कुखुराको आयात निकै ठूलो देखिएको छ।

चालू आर्थिक वर्षको ९ महिनामा ४० करोड रुपैयाँबराबरको  विशेष प्रजातिको कुखरा नेपाल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

नेपाल आयात हुनेमा सबैभन्दा धेरै भने सुन देखिएको छ। कर तिरेर नेपालमा काँचो सुन र ज्वेलरी गरेर ९७ करोड रुपैयाँबराबरको आयात भएको देखिएको छ।

त्यस्तै नेपालमा आयात हुने अन्य वस्तुहरुमा पेट्रोलियम बिटुमिन १२ करोड ४३ लाख रुपैयाँबराबरको आयात भएको छ। 

तीबाहेक मेडिकल फिल्डमा प्रयोग हुने रेयर ग्यास २ करोड २७ लाखबराबरको आयात भएको छ। 

प्लाष्टिकजन्य वस्तु १० करोड रुपैयाँबराबरको आयात हुँदा डेढ करोड रुपैयाँबराबरको स्मार्ट फोन आयात भएको छ। 

तीबाहेक २ करोड ५२ लाख रुपैयाँबराबरको ब्ल्याङ्केट, २ करोड ८९ लाखबराबरको कवाडी तामा समेत कतारबाट आयात भएको छ। 

साथै चकलेट, मेकअपका सामग्रीलगायतका वस्तुहरु समेत धेरै आएको देखिएको छ। विशेषगरी दैनिक उपभोग्य वस्तु नेपालबाट आवतजावत गर्नेहरुले आयात गर्ने गरेको देखिएको छ। 

नेपालबाट कार्पेटदेखि कुरिलोसम्म
नेपालबाट निर्यात हुनेमा सबैभन्दा धेरै कार्पेट देखिएको छ। करिव २ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ। तर पछिल्लो सयम हरियो तरकारी पनि निर्यात भइरहेको छ।

९० लाख रुपैयाँबराबरको कुरिलो, १३ लाख ६७ हजार रुपैयाँको अन्य सागपात, १ करोड ७० लाख रुपैयाँबराबरको अदुवा कतार निर्यात भएको छ।

त्यस्तै, ३५ लाखको पास्ता, १४ लाख रुपैयाँको लेज कुरमुरे निर्यात भएको छ।

खाद्यबाहेक ६१ लाख रुपैयाँबराबरको जुटको धागो, करिव ५० लाख रुपैयाँबराबरको कटनको कपडा पनि कतार निर्यात भएको छ।

नेपालबाट खानेपानी समेत दुई वर्षअघि निर्यात भएकोमा अहिले नगन्य रुपमा मात्रै भएको छ।

दुई वर्षअघि नेपालबाट करिब १८ हजार लिटर पानी निर्यात भएको थियो। नेपालको स्प्रिङ वाटर (मूलको पानी) निर्यात भएको थियो।

आगामी दिनमा खानेपानीको अभाव रहेको कतारमा यसको निर्यातको सम्भावना समेत देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .