ad ad

म्यागेजिन


त्यो दिन उनलाई फोन आयो– हल्ला नगर्नू, तपाईंको सर्वोच्चमा भएको छ

दुनियाँलाई न्याय दिने न्यायाधीश जब आफैँ अन्यायमा परिन्
त्यो दिन उनलाई फोन आयो– हल्ला नगर्नू, तपाईंको सर्वोच्चमा भएको छ

गौरी ढकाल भन्छिन्– सर्वोच्च अदालत पुगेपछि म झन् धेरै संवेदनशील बनेँ (तस्बिर : सरोज नेपाल)


राधिका अधिकारी
बैशाख २०, २०८१ बिहिबार ६:२२, काठमाडौँ

महिला न्यायाधीशको कथा–३

बोल्न नसक्ने एक महिलाले बलात्कृत भएर बच्चा जन्माइन्। अब उनलाई छोराको नागरिकता बनाइदिनु छ। उनको आफ्नो नागरिकता छैन। बच्चाको बाबु को हो, त्यो पनि उनलाई थाहा छैन। न त उनलाई आफ्नो परिवारका बारेमा नै थाहा छ।

अरुको घरमा काम गरेर ती महिला ज्यान पालिरहेकी छन्।

‘कम्तीमा उनको नागरिकता मात्रै भएको भए सरकारले दिने सुविधा त पाउँथिन्,’ उनी भन्छिन्।

सेवानिवृत्त जीवन गुजारिरहेकी सर्वोच्च अदालतकी पूर्वन्यायाधीश गौरी ढकालको दैलोमा आज पनि न्याय माग्न आउने निमुखाहरूको लर्को लाग्छ। तर, उनी आज न्याय दिने ठाउँमा छैनन्। न त न्यायका लागि लड्ने तागत नै उनीसँग छ। छ त केवल उनीहरूले न्याय पाए हुन्थ्यो भन्ने सदीक्षा।

यही कारण आफ्नो घरमा आइपुग्ने जोसुकैलाई उनी भनिरहन्छिन्, ‘उनीहरूका लागि केही गर्न सकिन्छ त?’

उनको नाम रेडियोले फुक्यो
गौरीको जन्म काठमाडौँको सिफलमा भएको हो। उनको संयुक्त परिवार थियो। अभाव उनले बेहोर्नुपरेन। परिवार चेतनाको धनी मानिन्थ्यो। गौरीकी आमा आफ्नो नाम आफैँ लेख्थिन्।

‘साँवा अक्षर चिन्ने मेरी आमा कहिलेकाही अक्षरहरू एकनासले हेरिरहनुहुन्थ्यो,’ गौरी ढकाल सम्झना गर्छिन्, ‘उहाँको इच्छा, चाहना के थियो, जानेर सोधेको भए भन्नुहुन्थ्यो होला कि!’

गौरी घरकी जेठी छोरी। त्यो बेला छोरीहरू स्कुल जाने चलन भर्खर सुरु भएको थियो। बुवा भनिरहन्थे, ‘हेर छोरी, राम्रोसँग पढ्नु पर्छ। पढेका मान्छेले संसार बुझ्छन्।’

गौरीलाई त्यो संसार बुझ्नु नपरे हुन्थ्योजस्तो लाग्थ्यो। उनलाई स्कुल जान मन लाग्दैनथ्यो। बुवा र हजुरबुवाले घरमै अक्षर चिनाए। उनी एकैपटक ६ कक्षामा गएर स्कुल भर्ना भइन् र २०१६ सालमा एसएलसी पास गरिन्।

एसएलसी पास गर्दासम्म पनि गौरीको पढाइमा खास रुचि थिएन। ‘म त मेरो बुवाको लागि पढिदिन स्कुल जान्थेँ,’ उनी भन्छिन्।

एसएलसीपछि गौरी पद्मकन्या कलेज पढ्न गइन्। त्यहाँ उनको भेट अंगुरबाबा जोशीसँग भयो। जोशी क्याम्पस प्रमुख थिइन्। उनको कुरा सुनिन्। त्यसपछि बल्ल गौरीको चेत खुल्यो। अनि आफ्ना लागि पढ्न थालिन्। तर, पढेर के बन्ने, अझै थाहा थिएन।

गौरी बीए पढिरहेकी थिइन्। २०२० सालमा देशमा नयाँ मुलुकी ऐन आयो। उक्त ऐनले जातीय छुवाछुत गरे कारबाही हुने व्यवस्था ल्यायो। त्यही वर्ष क्याम्पसस्तरीय वादविवाद प्रतियोगिता भयो। विषय थियो, ‘जातीय उत्थान तल्लो वर्गले गर्छ कि माथिल्लो?’ गौरी सहभागी भइन्, उनको भागमा पर्‍यो ‘निम्न वर्गको उत्थान उच्च वर्गको हातमा छ।’ 

राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा गौरी प्रथम भइन्। एउटै कार्यक्रममा उनले ३ वटा गोल्ड मेडल जितिन्। उनको नाम रेडियोले फुक्यो। उनलाई जिपमा राखेर अबिर, फूल, माला सहित सहर घुमाइयो। त्यसपछि उनका टोलमा छोरीलाई नपढाउने बाबुआमाले पनि आफ्ना छोरीहरूलाई स्कुल भर्ना गरिदिए।

कक्षाको एक्ली केटी
बीए पास गरिसक्दा गौरीलाई कानुन पढ्न मन लागेको थियो। उनले बुवालाई भनिन्। बुवाको आर्थिक अवस्था बलियो थिएन। बुवाले भने, ‘म पढाउन सक्दिनँ, जागिर गर।’

गौरीले नेसनल ट्रेडिङमा जागिरका लागि आवेदन दिइन्। लिखित र मौखिक दुवै परीक्षा भए। उनी पास भइन्। तर, उनलाई जागिरका लागि बोलाइएन। एकदिन उनी आफैँ नेसनल ट्रेडिङको अफिसमा गइन्। त्यो बेला म्यानेजर थिए, गोविन्दबहादुर देवकोटा। उनलाई भेटेर गौरीले भनिन्, ‘मलाई जागिर दिनुस् न, बीए पास गरिहालेँ।’ 

म्यानेजरले केही नबोली उनको अनुहारमा हेरिरहे। गौरीले फेरि भनिन्, ‘दिनुस् न दिनुस्। मलाई एमए पढ्न मन लागेन। अर्थोक नै पढ्न मन छ। पढ्न जागिर खानु छ।’ 

त्यसपछि म्यानेजर बोले, ‘के पढ्नुहुन्छ?’ 

उनले जवाफ दिइन्, ‘कानुन पढ्छु।’ 

देवकोटाले त्यही दिन उनको हातमा नियुक्ति थमाइदिए। २०२१ सालबाट गौरीको जागिरे जीवन सुरु भयो। 

गौरीलाई लाग्यो, बीए पास गरिहालेँ, जागिर भैहाल्यो। अब पुग्यो। उनी मन मारेर बसेकी थिइन्। एकदिन नाताले दाइ पर्ने प्रमोद आचार्यले भने, ‘तिमीले अगाडि पढ्नु पर्छ। कानुन राति पढाइ हुन्छ, पढ।’

त्यसपछि उनी बीएल भर्ना भइन्।

भर्ना हुँदा ताका कक्षामा छोरीमान्छे दुई जना मात्र थिए। उनलाई थोरै सहज थियो। तर, साथीले बीचमै पढाइ छोडिन्। त्यसपछि उनलाई कक्षा कोठामा बस्न पनि सकस भयो। लामा–लामा डेस्कबेन्च, एक्लै बस्न अप्ठेरो लाग्थ्यो। केटाहरूसँग बस्न झनै अप्ठेरो। उनी केटाहरू बसेको बेन्चको एक छेउमा बस्थिन्। शिक्षकहरू भन्थे, ‘तिमी छुट्टै बेन्चमा बस।’ 

पढाइमा अब्बल भएकै कारण उनी गुरु र साथी दुवैकी प्यारी थिइन्। छोरीहरूका लागि प्रशस्तै सीमारेखा थिए। तथापि मान्छेबाटै असुरक्षित महसुस गर्नुपर्ने अवस्था थिएन।

‘कक्षामा एक्लै केटी, बेन्चमा एक्लै बस्नु परे पनि असहज महसुस भएन,’ उनले सुनाइन्, ‘कहिलेकाही के के कुराले नमज्जा भने लाग्थ्यो।’

बीएलमा उनले कलेज टप गरिन्।

दशकौँपछि गौरी नेपाल ल क्याम्पसमा अतिथि प्राध्यापकका रूपमा पुगिन्। ‘अहो! कानुन अध्ययनमा छोरीको संख्या। समाजप्रति उनीहरूको चासो। कक्षाकोठामा सराबरी भएर केटा साथीहरूसँग बसिरहेका उनीहरूको आत्मविश्वास! म मन्त्रमुग्ध हुन्थेँ,’ गौरीले चहकिँदै भनिन्।

लोकसेवा पास गर्न सक्छौ?
एकदिन अधिवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘गौरी तिमी एकपटक कानुन सचिवलाई भेट न।’ 

उनले प्रश्न गरिन्, ‘कहाँ गयो भने भेटिन्छ?’ 

भण्डारीले जवाफ दिए, ‘सिंहदरबार।’ 

गौरीलाई सिंहदरबार प्रवेश गर्ने बाटो नै थाहा थिएन। भण्डारीले आफ्ना ड्राइभरलाई बोलाएर भने, ‘उसलाई सिंहदरबार लगिदेऊ।’ भण्डारीले गौरीलाई मुलुकी ऐन पढाएका थिए। 

उनले सिंहदरबारमा गएर विश्वनाथ उपाध्यायलाई भेटिन्। उपाध्यायले सोधे, ‘किन आएको?’ उनले जवाफमा भण्डारीको नाम लिइन्। त्यसपछि उपाध्यायले भने, ‘तिमी राम्रो विद्यार्थी हो?’ 

गौरीले जवाफ दिइन्, ‘खोइ!’ 

उपाध्यायले भण्डारीलाई भनेका रहेछन्, ‘कोही राम्रो विद्यार्थी भए पठाइदिनू।’ उपाध्यायले अस्थायी कर्मचारीका लागि आवेदन दिन भने। उनले त्यहीँ आवेदन दिइन् र घर फर्किन्।

तर, घरमा बुबाले अस्थायी जागिर नखान सुझाए, ‘योग्य छौ भने लोकसेवा पास गरेर जाऊ न।’ 

उनले भोलिपल्टै सिंहदरबार पुगेर उपाध्यायलाई भनिन्, ‘म अस्थायीमा आउँदिनँ, स्थायीमै आउँछु।’ 

उपाध्याय छक्क परे। उनले भने, ‘लोकसेवा पास गर्न सक्छौ?’

गौरीको सीधा जवाफ थियो, ‘सक्छु।’ 

नभन्दै त्यही वर्ष उनले लोकसेवा पास गरिन्। २०२५ सालबाट उनले कानुन मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्य प्रारम्भ गरिन्। २०३१ सालमा उपसचिव भइन्। 

उनी उपसचिव हुँदा कानुन सचिव थिए चुडामणिराज सिंह मल्ल। उनी बेलाबेला भनिरहन्थे, ‘गौरी न्यायाधीशमा जाने हो?’ 

गौरी भन्थिन्, ‘नजाने।’

काठमाडौँकी न्यायाधीश
पछि कानुन सचिव भएर धुव्र सिंह आए। धुव्रले पनि न्यायाधीश बन्न सुझाए। २०३६ सालमा गौरी काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश नियुक्त भइन्। ३ वर्ष काठमाडौँ जिल्ला अदालतमा गुजारिन्।

अदालतमा छोरी मान्छेको पहुँच असाध्यै कम थियो। न्यायाधीश जम्मा दुई जना महिला थिए– शारदा श्रेष्ठ र उनी। त्यसमाथि लामो समय अधिकृत भएर कानुन मन्त्रालयमा काम गरेकी गौरीलाई सहकर्मीले सहजै न्यायाधीशका रूपमा स्वीकार गरेनन्। उनीहरू गौरीतिर व्यंग्यको झटारो हानिरहन्थे, ‘न्यायाधीश भएर निसाफ गर्नु भनेको टिप्पणी लेख्नुजस्तो सजिलो छैन।’ 

उनलाई भने छोरी मान्छे कमजोर हुन्छन् भन्ने कहिल्यै महसुस भएन। समाजले गरेका हरेक प्रश्न उनी सुन्थिन्। मनमा लिनुपर्ने लिन्थिन्। बाँकी छोडिदिन्थिन्। 

उनी जिल्ला अदालत काठमाडौँ हुँदा लागुऔषध चरेसको मुद्दा अत्यधिक मात्रामा आउँथे। गौरीलाई भने धेरै सिक्नु थियो। उनी जिल्ला अदालतको बसाइलाई सिकाइको चरण मान्छिन्।

उनलाई लाग्थ्यो, ‘यहाँ सिकिनँ भने मैले जान्दिनँ।’ उनलाई राम्रो गरेर इतिहास लेख्नु थियो। गौरी भन्छिन्, ‘सिक्ने क्रममा गल्ती थुप्रै गरियो तर बेइमानी गरेको छैन।’

अनि मात्रै विवाह गर्नू 
गौरी अहिले दिनहुँ पारपाचुकेका खबर सुन्छिन्। नाम चलेका मानिसहरूको पारपाचुकेको धेरै चर्चा भैरहेको हुन्छ। घरेलु हिंसाका खबर पनि दिनहुँजसो सुनिन्छन्। गौरी आफ्नो समय सम्झिन्छिन्। 

‘त्यो समय अहिले जस्तो थिएन। झण्डै ३ वर्ष काठमाडौँ जिल्ला अदालत बस्दा एउटा पारपाचुकेको मुद्दा आएको थियो। घरेलु हिंसाका त मुद्दा नै आउँदैनथे,’ उनी भन्छिन्, ‘समाज पूरै संवेदनशील थियो कि छोरीहरूले सहनशील हुनुपर्छ, अध्ययन गर्नुपर्छ।’

अहिलेको पुस्तालाई गौरीको सुझाव छ, ‘अन्याय सहेर बस्नुहोस् भन्ने कुरा आउँदैन। तर, सकेसम्म बच्चाको लागि संयमित भैदिनुहोस्। छोरी मान्छे पहिला सक्षम हुनुपर्छ। आफ्ना छोराछोरी परिआयो भने एक्लै पनि हुर्काउन सक्ने हुनू, अनि मात्रै विवाह गर्नू।’

एक्ली महिला निर्वाचन अधिकृत
गौरी ढकालको बढुवा अञ्चल न्यायाधीशमा भयो। त्यसपछि गण्डकी अञ्चल अदालत पुगिन्। काठमाडौँमा भन्दा गण्डकीमा आउने मुद्दाका प्रकृति फरक थिए। गण्डकीमा जग्गा किचलो र कुटपिटका मुद्दा धेरै आउँथे।

४ वर्ष गण्डकी अञ्चल अदालतमा बसेपछि गौरी जनकपुर पुगिन्। जनकपुरमा शोषणमा परेका गरिबका मुद्दा धेरै आउँथे। २०४६ सालको आन्दोलन ताका गौरी जनकपुरमै थिइन्। 

२०४७ सालको आन्दोलनपछि निर्वाचन हुने भयो। देशभरिमा गौरी एक्ली महिला निर्वाचन अधिकृत थिइन्। उनलाई रामेछाप खटाइयो। उनले काम हो, जहाँ खटाएपनि जानु पर्छ भन्ने सोचिन्। 

काठमाडौँ स्टाफ कलेजमा मतदान अधिकृतहरूको सम्मेलन थियो। त्यहाँ भेला भएका मानिसहरूले भने, ‘यत्रो निर्वाचनमा जम्मा एउटा महिला अधिकृत हुनुहुन्छ, त्यो पनि रामेछाप!’ 

उनको मन कटक्क भयो। बल्ल आफूमाथि अन्याय भएको महसुस भयो। गौरीको मन खिन्न भयो। 

त्यो दिन खिन्नतामै बित्यो। त्यही साँझ तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सांग्रिला होटलमा रात्रीभोज आयोजना गरेका थिए। परिचय गर्ने क्रममा उनले भनिन्, ‘म गौरी ढकाल, रामेछाप।’ 

भट्टराई पनि चकित परे। प्रश्न गरे, ‘तपाईं एउटा छोरी मान्छे, त्यो पनि रामेछाप?’ उनले प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठलाई भने, ‘यो के गरेको?’  

प्रमुख आयुक्त श्रेष्ठले हाँस्दै भने, ‘गौरी ढकाल भन्या त लोग्ने मान्छे भन्ठान्या!’ 

गौरीसँग यो हेपाइको जवाफ तत्काल थिएन। उनी चुपचाप रामेछाप गइन्। निर्वाचन सम्पन्न गरेर फर्किइन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतहरूलाई पदक बाँडियो। पदक पाउने सूचीमा गौरीको नाम थिएन। 

प्रमुख निर्वाचन आयुक्तको सिफारिसमा गृह मन्त्रालयले बाँडेको त्यो पदकले जीवनमा कुनै अर्थ राख्थ्यो कि राख्दैनथ्यो, गौरीलाई थाहा छैन। तर, नपाएको त्यो पदकले उनको हृदयमा गहिरो घाउ लगाएको छ। जुन, आजसम्म पुरिएको छैन।

२० वर्ष काठमाडौँबाहिरका जिल्लाहरूमा काम गरेकी गौरी यसलाई आफूमाथिको विभेद भन्छिन्।

जब उनको खबर राजा ज्ञानेन्द्रसम्म पुग्यो
गौरीसँग अनगिन्ती भोगाइ र तिनका कथा छन्। त्यसमा पनि थुप्रै कथा विभेदकै छन्। ०४७ सालको परिवर्तनपछि अदालतको संरचना बदलियो। अञ्चल र क्षेत्रीय अदालत खारेज भए र पुनरावेदन अदालत स्थापना भयो। उनी पुनरावेदन अदालतको न्यायाधीश भइन्। 

करिब डेढ दशक पुनरावेदन अदालतमा काम गरेपछि सर्वोच्चमा पुग्ने पालो उनको थियो। तर, त्यसो भएन। उनको पालो मिचियो।

योग्यता पुग्दा पनि उनलाई सर्वोच्च अदालतमा सिफारिस नगरिएको त्यस घटनाले दिएको चोट उनले अझै बिर्सेकी छैनन्।

गौरीमाथि भएको यो अन्यायका बारेमा अर्का न्यायाधीश दुर्गाप्रसाद उप्रेतीले लेखेका छन्, ‘लगातार ४२ वर्ष न्याय सेवामा रही विवादरहित तरिकाले न्याय सम्पादन गर्नु भएको गौरी ढकालमाथि २०६१ सालमा अन्याय भयो। मुख्य न्यायाधीश हुने रोलक्रम अन्यायपूर्वक मिची उहाँलाई सो समयको न्यायिक नेतृत्व र न्याय परिषदले अन्याय गरेको थियो।’

पुनरावेदन अदालतको न्यायाधीश रहँदा उनको रोलक्रम मिचिएको खबर तत्कालीन राजा ज्ञानेन्द्रसम्म पुग्यो। राजा ज्ञानेन्द्रले न्याय परिषदका कर्मचारीलाई प्रश्न गरे, ‘उसको प्रमोसन किन नगरेको? घुस खाने न्यायाधीश हो?’ उनीहरूले होइन भन्ने जवाफ दिए। त्यसपछि न्याय परिषदका प्रमुख सचिवले फोन गरेर गौरीलाई भने, ‘तपाईंलाई मर्का परेको हो? ३ महिना पर्खनुस् है।’ 

त्यो समय उनी पोखरामा थिइन्। एक दिन उनलाई फोन आयो, ‘हल्ला नगर्नू, तपाईंको सर्वोच्चमा भएको छ।’ 

प्रमोसनमा भएको अन्यायले गौरी विक्षिप्त थिइन्। सो अन्यायले आफू डिप्रेसनको सिकार समेत भएको गौरी सुनाउँछिन्।

सर्वोच्चमा सिफारिसको खबर सुनेर खुसी हुने कि दुखी, उनले मेसो पाइनन्। उनले श्रीमानबाहेक कसैलाई सुनाउन सकिनन्। भोलिपल्ट रेडियोले सर्वोच्चमा सिफारिस हुने न्यायाधीशको नाममा उनको नाम भन्यो। २०६२ सालमा उनी सर्वोच्चमा नियुक्त भइन्। 

उनलाई सर्वोच्च त लगियो, तर सबैभन्दा कनिष्ठ बनाएर। सर्वोच्चमा पुगेपछि पनि उनीमाथि हुने विभेदको शृंखला रोकिएन। इजलासमा वरिष्ठ न्यायाधीश दायाँतिर र कनिष्ठ बायाँतिर बस्ने चलन छ। नियुक्तिमा पालो मिचिएका कारण आफूभन्दा कनिष्ठहरू सबै आफ्नो दायाँतिर बस्न आइपुगे। त्यो सम्झिँदा अहिले पनि उनको चित्त बुझ्दैन।

लामो समय जिल्ला र अञ्चल अदालतमा बिताएकी गौरी सर्वोच्च पुगेपछि झन् धेरै संवेदनशील बनिन्। जिल्लामा हुँदा पनि उनले पीडितले थप अन्याय महसुस गर्नु नपरोस् भन्ने कुरामा सचेत भएरै काम गरिन्। तर, त्यहाँ अन्याय महसुस गरे पुनरावेदन, सर्वोच्च जाने बाटो हुन्थ्यो। सर्वोच्चमा पुगेका मुद्दामा गल्ती भएको खण्डमा सुधार्ने ठाउँ छैन। 

‘त्यसैले म सर्वोच्चमा झन् धेरै संवेदनशील बनेँ,’ गौरी सुनाउँछिन्।

चार्ल्स शोभराजको त्यो चर्चित फैसला
सिरियल किलर भनेर चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराजले नेपालको कारागारमा १९ वर्ष २ महिना बिताए। २०७९ भदौमा उमेरका कारण कैद छुट पाएका उनलाई दुईजनाको हत्या र एकको हत्या प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय तोकिएको थियो।

सर्वोच्चबाट यो फैसला २०६७ साउन १४ गते भएको थियो। र, त्यो फैसला गर्ने न्यायाधीश न्यायाधीशद्वय रामकुमार प्रसाद साह र गौरी ढकाल थिए। यस फैसलाबाट धेरै नजिर प्रतिपादन भएका छन्, जसले त्यसपछिका अरू फैसला पनि निर्देशित भएका छन्। 

२०६६ असार १२ मा भएको गौरी ढकालको अर्को चर्चित फैसला नागरिकतासम्बन्धी छ। 

अर्का न्यायाधीश राजेन्द्रप्रसाद कोइरालासमेत भएको संयुक्त इजलासबाट भएको उक्त फैसलाको पूर्ण पाठ गौरीले नै लेखेकी थिइन्। र, यही फैसलाले आमाको नामबाट नागरिकता दिने बाटो खोलिदिएको हो। पुरुषप्रधान समाजमा महिलाका नामबाट वंशज नागरिकता प्रदान गर्न सर्वोच्चले गरेको त्यो फैसला लैंगिक समानताका लागि एउटा कोशेढुंगाका रूपमा अहिले पनि लिइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .