कारोबार


शिवाकोटी समितिको ठहर– निजी क्षेत्रको स्वामित्वमा नयाँ स्टक लाइसेन्स आवश्यक

शिवाकोटी समितिको ठहर– निजी क्षेत्रको स्वामित्वमा नयाँ स्टक लाइसेन्स आवश्यक

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार २१:२८, काठमाडौँ

नयाँ स्टक एक्सचेन्जको प्रक्रिया स्थगित गरेर अध्ययनका लागि गठन भएको समितिले प्रतिवेदन दिएको छ। लाइसेन्सको प्रक्रिया सुरु भएको डेढ वर्षभन्दा बढी समय बितेपछि आवश्यक छ वा छैन भनेर निर्क्यौल गर्दै प्रतिवेदन तयार पारेको हो।

मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठन गरेको अध्ययन समिति प्रतिवेदन तयार गरेको थियो। समितिले तयार गरेको प्रतिवेदन गत हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार वैशाख १३ गते नै समितिले प्रतिवेदन बुझाएको हो।

सरकारी स्वामित्वमा एउटा मात्र स्टक रहेकाले प्रतिस्पर्धाको वातावरण बनाएर यस क्षेत्रको गुणस्तर बढाउन पनि नयाँ स्टक ल्याउनुपर्ने माग भइरहेको छ। सोही कारण गत वर्ष धितोपत्र बोर्डले नयाँ लाइसेन्सको प्रक्रिया अपनाएको थियो।

गत वर्षको असोजमै प्रक्रिया अपनाए पनि १ वर्षभन्दा बढी समय बितेपछि सरकार अध्ययनमा अघि बढेको थियो।

यता अधिवक्ता दीपकविक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेपछि प्रक्रियामा ढिलाइ हुन पुगेको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।  

तर पाँच महिनापछि ब्रोकर लाइसेन्स रोक्नको लागि परेको रिट सर्वोच्चले खारेज गरेपछि बोर्डलाई प्रक्रिया अगाडि बढाउने बाटो खुलेको थियो। २०७९ चैत २६ गते अदालतले रिट खारेज गरेपछि धितोपत्र बोर्डले पुनः प्रक्रिया अघि बढाएको थियो।  

यसअनुसार खुलेको प्रक्रियामा तीन कम्पनीले आवेदन दिएका थिए। तर सो समयमा नयाँ लाइसेन्स रोक्न सरकार नै अघि बढ्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई र अर्थमन्त्रीले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई निर्देशन दिएर लाइसेन्स प्रक्रिया रोकिएको थियो। प्रक्रिया रोक्ने विषय मन्त्रिपरिषद्ले समेत छलफल गरेको थियो।

पुनः गत महिना नयाँ लाइसेन्स दिने विषयमा धितोपत्र बोर्डको बैठकले छलफल समेत गरायो। बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले बोर्डबाट नयाँ लाइसेन्सको प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पुर्याए।

प्रस्ताव पुगे पनि लाइसेन्स वितरणको बाटो भने खुल्न सकेन। त्यसयता गत पुस २० मा हमाल आफ्नो कार्यकाल सकेर बिदा भए। यति प्रक्रिया सुरु भएपछि अहिले आवश्यक छ वा छैन भन्ने विषयमा निक्र्याैल भएको छ।

समितिले तयार गरेको प्रतिवेदनमा के छ?
समितिलाई दिएको कार्यादेशमा अन्तर्राष्ट्रिय अभ्यास के–के छन्? नेपाली बजारको आकार कत्रो हुन्छ, के कस्ता जटिलताहरू छन्, नयाँ ल्याउदा के–के विषयहरू राम्रो हुन्छ र नल्याउँदा के हुन्छ भन्ने ख्याल हुने थियो।

सोहि अनुसार अहिले प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा समेत नेपालको पुँजी बजार निरन्तर वृद्धि भैरहेको उल्लेछ। बढिरहेको बजारमा नयाँ प्रतिपर्धाी ल्याउँदा नै उपयुक्त हुने उल्लेख गरिएको छ।  

अहिले सरकारी स्वामित्वमा नेपाल स्टक एक्सचेन्ज रहेको र अब निजी क्षेत्रको स्वामित्व रहने गरि नयाँ स्टक ल्याउनुपर्ने उल्लेख छ। यसरी निजी क्षेत्रलाई नयाँ लाइसेन्स वितरण गर्दा नेपाल स्टक एक्सचेन्जलाई समेत बलियो बनाउनुपर्ने समेत उल्लेख गरिएको छ। पुनर्संरचना गरेर होस् वा रणनीतिक साझेदार भित्र्याएर होस् थप बलियो बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको  छ।

नयाँ लाइसेन्सका लागि दाबी गर्ने को–को छन्?
नयाँ लाइसेन्सको लागि तीनवटा आवेदन परेका छन्। हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा आवेदन परेको छ। नयाँ स्टककोे चुक्ता पुँजी तीन अर्ब तोकिएको छ। हाल त्यसको ७० प्रतिशत जुटाए पुग्नेछ।

धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गर्दै चुक्ता पुँजी तीन अर्ब पुर्याइएको थियो। आवेदन दिने लगानीकर्ताहरूले तोकिएको व्यवस्थाअनुसार पुँजी जुटाउँदै छन्। हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरूमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका छन्।

आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, लगानीकर्ता रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको समेत लगानी रहेको आवेदनमा उल्लेख छ।

त्यसैगरी अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .