बिहीबार बिहान ६ बजे उठ्दा उनको मोबाइलमा थुप्रै फोन कल र म्यासेजहरू आएका रहेछन्। झस्किइन् पनि– के भएछ? हतारहतार म्यासेज हेरिन्।
‘बधाई’ रहेछन्।
पूरा विश्वास लागेन। इमेल खोलिन्। बिहान साढे ४ बजे नै इमेल आइसकेको रहेछ। विश्वास गर्न कर लाग्यो। ह्याप्पी माइन्ड्स नेपालकी संस्थापक श्रेया गिरी अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचीमा परेकी थिइन्।
इमेल हेर्नेबित्तिकै सबैभन्दा पहिला उनी दौडेर आमालाई सुनाउन गइन्। फोर्ब्सको सूचीमा आफ्नो नाम परेको खुसी सुनाइरहँदा आमा र बुवा सँगै थिए।
‘पहिलो दिनदेखि मलाई यो क्षेत्रमा काम गर्न साथ/सहयोग गर्ने उहाँहरू हुनुहुन्छ। यो खुसीको पहिलो हकदार पनि उहाँहरू नै हो भन्ने लाग्यो र सुरुमा ममी बाबालाई सुनाएँ,’ श्रेयाले सुनाइन्।
श्रेयाको यो सफलतामा आमाबुवा त औधी खुसी छन् नै, साथीभाइ र आफन्तले पनि निकै गर्वको महसुस गरेका छन्। उनको फोनको घण्टी लगातार बजिरहेको छ। श्रेयालाई चिन्ने हरकोहीले अहिले उनलाई बधाई दिइरहेका छन्।
उनी पनि मक्ख छिन्।
‘म यो खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ,’ श्रेया भन्छिन्, ‘हामीले नेपालमा मात्र होइन, एसियामै नेपालको मानसिक स्वास्थ्यको क्षेत्रलाई एउटा उचाइमा राख्न सकेका छौँ आज।’
खुसीको यो क्षणमा उनी ती उतारचढावलाई सम्झिन चाहन्छिन्, जसलाई बेहोरेर उनी यहाँसम्म आइपुगेकी छन्। किनकि उनको यो यात्रा सजिलो थिएन।
लन्डन पुगेर बदलिएकी ‘नबोल्ने केटी’
बिहीबार दिउँसो ४ बजे श्रेयालाई भेट्न ह्याप्पी माइन्ड्स नेपालको झम्सीखेलस्थित कार्यालय पुग्दा दिनको पाँचौँ अन्तर्वार्ता दिँदै थिइन् उनी। उनलाई फोन उठाउन भ्याईनभ्याई छ। अचानक बढेको व्यस्तताबीच उनले आफ्नो र ह्याप्पी माइन्ड्सको कथा सुनाउन सुरु गरिन्।
२०५२ सालमा काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहमा जन्मिएकी थिइन् श्रेया। बाल्यकालमा एकदमै कम बोल्ने स्वभावकी उनलाई धेरै साथी बनाउन अप्ठ्यारो लाग्थ्यो। आफ्नो भाइ, बुवाआमा र नजिकका आफन्तसँग मात्रै खुल्थिन्।
‘म बच्चामा एकदमै कम बोल्ने, साथीहरू बनाउन अप्ठेरो लाग्ने, आफैँसँग मात्रै रमाउने खालको थिएँ,’ श्रेया बाल्यकाल सम्झिन्छिन्, ‘लन्डन पुगेपछि चाहिँ पर्सानालिटी चेन्ज भयो। बाहिरफेर पनि बोल्न सक्ने भएँ।’
एसएलसीपछि नै श्रेयालाई बाहिर पढ्न जान्छु भन्ने लागेको थियो। विदेशमै बस्ने, देश नफर्किने सोच बनाएकी थिइन्।
स्कुलमा हुँदा पढाइमा खास अब्बल थिइनन्। अकाउन्ट र फाइनान्स बढी गाह्रो लाग्थ्यो।
औसत पढाइकै बीच ए लेबल सकेर उच्च शिक्षाका लागि बेलायत जाँदा श्रेयाले इन्टरनेसनल बिजनेस र इन्टरनेसनल बिजनेस विद प्रोजेक्ट म्यानेजमेन्ट विषय छनोट गरिन्।
‘मलाई अकाउन्ट एकदमै गाह्रो लाग्ने। कहाँ चाहिँ अकाउन्ट र फाइनान्स एकदम कम पढ्नुपर्छ, त्यहीँ पढ्छु भनेर गएको,’ उनले सुनाइन्, ‘इन्टरनेसनल बिजनेस भन्ने नयाँ मोडल सुरु भएको रहेछ। त्यसमा पनि बिस्तारै काम गर्दै जाँदा, सिक्दै जाँदा प्रोजेक्ट म्यानेजमेन्ट एकदमै रमाइलो रहेछ। त्यसमै काम गर्दै गएँ।’
कोभिडले ल्याएको घुम्ती
लन्डनमा मास्टर्स सकेपछि उनले काम सुरु गरिन्। फेसबुकमा काम पाएकी थिइन्। काम थालेको महिना दिनपछि नै कोरोना महामारी सुरु भयो। जसले उनको जिन्दगीको लय मात्र भत्काइदिएन, बाटो नै बदलिदियो।
सामाजिक सञ्जालमा नकारात्मक समाचारहरू मात्रै थिए। मृत्युका खबरहरू मात्रै आइरहन्थे। ‘मेरो वरपर सबै मरिरहेका छन्, म पनि अब मृत्यु नै कुरिरहेको छु’ भन्ने भावना आउन थाल्यो। बाआमा र परिवार भेट्न पाउँदिनँ होला भन्ने लाग्न थाल्यो। एक्लोपनले सताउँदै गयो। निद्रा घट्यो, छटपटी बढ्यो।
निद्रा लागिहाले पनि उठ्नेबित्तिकै कतिजनाको मृत्यु भएछ भनेर समाचार हेर्न मन लाग्थ्यो। उनले आफू मानसिक रूपमा कमजोर हुँदै गएको महसुस गर्न थालिन्। र, अनलाइन परामर्शदाता खोज्न थालिन्।
तर, महामारीको बीचमा उनले राम्रो सहयोग पाइनन्।
‘बाहिरबाट गएको विद्यार्थीले भिजा स्पोन्सर गरेर फेसबुकजस्तो कम्पनीमा काम पाउनु सानो कुरा थिएन। मैले भर्खरै काम सुरु गरेको थिएँ। एक महिना मात्रै भएको थियो। तर, उठ्नै मन नलाग्ने, खानै मन नलाग्ने, बाँच्नै मन नलाग्ने हुन थाल्यो,’ उनी सम्झिन्छिन्, ‘यस्तो हुँदाहुँदै समस्या लिएर बस्नुहुँदैन, आफ्नो स्वास्थ्य पहिलो प्राथमिकतामा राख्नुपर्छ, बरू बाआमासँग बस्छु भन्ने अठोटमा पुगिन्।’
उनी नेपाल फर्किइन्। निको हुने र लन्डन फर्किने सोचले उनी आएकी थिइन्।
‘मेरो सामान उतै थियो। किनकि म यहाँ काम गर्न फर्केकै होइन,’ श्रेया सुनाउँछिन्, ‘मेरो मानसिक अवस्था एकदमै नराम्रो भएका कारण उपचारमा जानुपर्ने थियो।’
आफूले परामर्श लिइरहँदा उनी आफूजस्तै समस्या भोगिरहेका मानिसबारे सोच्थिन्। लाग्थ्यो, सबैले सहजरूपमा अनलाइनबाटै परामर्श लिन पाए कति राम्रो हुन्थ्यो! त्यही बेला उनको दिमागमा ‘ह्याप्पी माइन्ड्स’को आइडिया बीजारोपण भयो।
‘आफ्नो मानसिक स्वास्थ्य नाजुक भएका बखत सहयोग माग्दा थेरापिस्टहरूले रेस्पोन्स गर्नुभएन। मलाई मात्र होइन, अरू पनि कति होलान् जस्तो लाग्यो,’ श्रेया ती दिन सम्झिन्छिन्।
कसैसँग अनुरोध गर्दा पनि सहयोग नपाइएको त्यही घडीमा उनले निर्णय लिइन्, ‘कठै विचरा भनेर बस्नुभन्दा अब यस्तो सेवा आफैँले सुरु गर्नुपर्छ।’
२०७८ वैशाखमा औपचारिक रूपमा ह्याप्पी माइन्ड्स नेपालको सुरुवात भयो।
एउटा कोठाबाट सुरु भएको ह्याप्पी माइन्ड्स
सामान्यतः मानसिक स्वाास्थ्य भन्नेबित्तिकै मानिसहरूको सोच एन्जाइटी, डिप्रेसनतिर जान्छ। तर श्रेयालाई लाग्छ, खुसी पनि मानसिक स्वास्थ्यको एउटा पाटो हो। त्यसैले उनले संस्थाको नाम ह्याप्पी माइन्ड्स राखिन्।
नयाँ व्यवसाय चलाउन कठिन थियो। यसमा उनलाई बेलायतको अनुभवले थोरबहुत सहयोग पुग्यो। कसरी सेवाग्राहीलाई आफूसम्म ल्याउने, थेरापिस्टहरू कसरी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा कसरी दिने, प्राविधिक पाटो, सञ्चालनको क्षेत्र, प्रोजेक्ट म्यानेजमेन्टमा आफूले गरेको कामको अनुभवले उनलाई यहाँ सघायो।
सुरुको एक महिना अनलाइनबाट मात्रै सेवा दिएको ह्याप्पी माइन्ड्सले त्यसपछि भने भौतिक रूपमा उपस्थित भएरै सेवा लिन मिल्ने व्यवस्था गर्यो।
श्रेयाको अनुभवमा नेपालमा मानसिक स्वास्थ्य सेवा लिने धेरैले भेटेर कुराकानी गरेपछि मात्रै विश्वास गर्छन्। तर, अनलाइनबाट दिएको सेवा पनि उत्तिकै प्रभावकारी हुने उनको दाबी छ।
सुरुमा बुवाको अफिसको एउटा कोठाबाट काम सुरु गरेकी श्रेया अहिले सिंगै घर भाडामा लिएर अफिस चलाइरहेकी छिन्। २२ जनाको टिम छ। ८ जना पूर्णकालीनरूपमा खट्छन्। संस्थामा काम गर्ने केही सदस्य बाहिर छन्, जसले अनलाइनबाट सेवा दिन्छन्।
‘अब फर्कन्नँ’
ह्याप्पी माइन्ड्सलाई उनले सुरुमा थोरै समयको एउटा सामाजिक अभियान ठानेकी थिइन्। तीन महिना जति काम गर्ने अनि बेलायत जाने सोच थियो। तर विस्तारै संस्थाको बारेमा धेरैलाई थाहा हुँदै गयो। सेवाग्राही बढ्दै गए।
एक-दुईपटक सेवा लिइसकेपछि आफूलाई राम्रो महसुस भएको बताउने बढेपछि नहौसिने को होला र? यो जिन्दगीकै खुसीको क्षण मान्छिन् उनी। अनि श्रेयाले अठोट गरिन्, ‘यो मान्छेहरूको जीवन बचाउने काम हो। अब म फर्कन हुँदैन।’
उनको परिवारमा बुवा, आमा र एकजना भाइ छन्। बुवा पस्मिनाको व्यापार गर्छन्। आमा लघुवित्त कम्पनीको सञ्चालक। स्नातक पढ्दै गरेका भाइ पनि पस्मिना व्यवसायमा जोडिएका छन्।
अहिले उनी अध्ययनका लागि विदेशिएका आम युवाभन्दा आफूलाई बढी भाग्यमानी ठान्छिन्। किनभने, धेरै विदेशिन्छन्, थोरै फर्किन्छन्। फर्केकामध्ये पनि अझै थोरैले कार्यक्षेत्रमा सन्तुष्टि पाउँछन्। उनले त विदेशको सिकाइ स्वदेशमा उपयोग गर्न सकेकी छन्। परिवारसँगै बसेर खुसी साट्न पाएकी छन्।
के गर्छ ह्याप्पी माइन्ड्सले?
ह्याप्पी माइन्ड्स नेपाल मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था हो। अनलाइनबाट र भौतिक रूपमै उपस्थित भएर पनि यहाँबाट सेवा लिन सकिन्छ। मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै पनि अप्ठ्यारो परेमा सम्पर्क गर्न सकिन्छ।
नेपालमा बस्ने मात्रै होइन, प्रवासीलाई समेत संस्थाले सेवा प्रदान गरिरहेको छ। यो तीन वर्षको अवधिमा २७ देशमा रहेका ५७ हजार जनाले ह्याप्पी माइन्ड्सबाट सेवा लिइसकेका छन्। विदेश पुगेका श्रमिकदेखि विद्यार्थीसम्मले अनलाइनबाट सेवा लिएका छन्।
‘धेरै जिल्लाका मान्छे काठमाडौँ बस्ने भएर होला, अधिकांश सेवाग्राही काठमाडौँकै हुनुहुन्छ। तर, झापादेखि हुम्लासम्मका मान्छे प्लेन चढेर पनि सेवा लिन आउनुहुन्छ। केही महिना काठमाडौँ नै बसेर सेवा लिन्छु, अनि मात्रै फर्किन्छु भन्नुहुन्छ,’ उनको अनुभव छ, ‘कतिपय भने आफ्नै ठाउँमा बसेर फोन र अनलाइनबाट सेवा लिनुहुन्छ।’
सेवा लिनेमा महिला धेरै भएको उनको भनाइ छ।
‘पुरुषहरू सम्पर्क गर्छन्, सोध्छन्, मलाई पनि यो सेवा लिन मन छ भन्छन्। तर, सम्पर्क गरेपछि सेवा लिइहाल्ने चाहिँ महिला धेरै छन्,’ उनले भनिन्।
घरेलु हिंसामा परेका कतिपय महिला फोन गर्छन्। कुरा गर्दै जाँदा भन्छन्, ‘मैले कुरा गर्दागर्दै यो फोन काटियो भने फेरि यो नम्बरमा फोन नगर्नुहोला है।’
पैसा नहुनेहरू पनि सेवाबाट वञ्चित नहोऊन् भनेर ह्याप्पी माइन्ड्सले विभिन्न कम्पनीहरूसँग सहकार्य गर्न थालेको छ। यो अवधारणा अनुसार कुनै पनि कम्पनीमा काम गर्ने व्यक्तिहरूलाई संस्थाले मानसिक स्वास्थ्य सेवा र परामर्श दिन्छ। सो बापतको रकम भने कम्पनीले व्यहोर्ने गर्दछ।
व्यक्तिगत रूपमा सेवा लिन जाँदा भने १५ सय रुपैयाँ तिरेर नाम दर्ता गर्नुपर्छ। थप सेवा र परामर्श आवश्यक पर्दै गएमा भने थप रकम तिर्नुपर्ने हुन्छ। अहिले ह्याप्पी माइन्ड्सले व्यक्तिगत रूपमा भन्दा धेरै सामूहिक रूपमा विभिन्न कम्पनीका कर्मचारी र तिनका परिवारलाई सेवा दिइरहेको छ।
‘मनमा कुरा नगुम्स्याउनुहोस्’
श्रेयाका अनुसार धेरै नेपालीहरू प्राकृतिक विपद्, द्वन्द्व, महामारी, घरेलु हिंसा, पारिवारिक कलहजस्ता कारणले मानसिक समस्यामा धकेलिएका छन्। तर, मानसिक समस्याका लागि ठूलो कारण नचाहिने उनको भनाइ छ।
‘यही कारणले नै मानसिक स्वास्थ्यमा असर पर्यो भनेर ठ्याक्कै भन्न सकिँदैन। स–साना कारणले पनि मान्छेमा चोट परेको हुन्छ। त्यसले पछि ठूलो रूप लिन सक्छ। र, मानसिक रूपमा विक्षिप्त बनाउन सक्छ,’ श्रेया भन्छिन्, ‘आफ्ना मनमा भएका कुरा मनमै गुम्स्याएर नराख्नुहोस्। आफ्नो नजिकै वा आफ्नो कुरा सुनिदिने जो छ, उसलाई आफ्नो सुखदुःख बाँड्नुपर्छ। यसो गर्दा मन हल्का हुन्छ।’
मानसिकरूपमा आफूले अप्ठ्यारो बेहोरिरहेको कुरा अरूको अगाडि नभने पनि आफूलाई चाहिएको सेवा लिन भने मानिसहरू आउने गरेको श्रेयाको अनुभव छ। यसलाई उनी सकारात्मक रूपमा लिन्छिन्।
कतिपय अभिभावक आफ्ना बालबालिकालाई काउन्सेलिङका लागि ल्याउँछन् तर यो कुरा अरूले थाहा नपाइदिए हुन्थ्यो भन्ने उनीहरूलाई लाग्छ। समाज मानसिक स्वास्थ्यको विषयलाई सकारात्मकरूपमा लिने चलन नभएका कारण पनि यस्तो भएको उनको अनुभव छ।
जसरी यही कारणले नै मानसिक स्वास्थ्यमा अप्ठ्यारो पर्यो भनेर ठ्याक्कै भन्न सकिँदैन, त्यसैगरी यसको उपचार पनि यति दिन गरेपछि ठ्याक्कै निको हुन्छ भन्ने हुँदैन।
श्रेयाले पनि आफ्नो मानसिक स्वास्थ्यको लागि आफूले गर्न सक्ने जति आफैँले गरेकी थिइन्। सकी नसकी भए पनि पकाएर खान्थिन्, समयमा सुत्थिन्, शारीरिक व्यायाम र ध्यान गर्थिन्। यति गर्दागर्दै पनि सुधार नदेखिएपछि अरूको सहयोग खोजिन्। अझै उनी थेरापिस्टकहाँ गइरहन्छिन्।
‘मानसिक स्वास्थ्य यस्तो विषय हो कि यो यति दिन वा यतिपटकमा निको हुन्छ भन्ने हुँदैन। एकपटक ठिक भयो भन्दैमा फेरि पछि अप्ठ्यारो पर्दैन भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ आफ्नो दुःख, आफ्नो खुसी सुनाउन पनि थेरापिस्टकहाँ गइरहन्छु।’
मुख्य कुरा व्यवस्थापन
फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा परेपछि श्रेयाको काम गर्ने जोस अझै बढेको छ। धेरैभन्दा धेरै मानिससम्म आफ्नो सेवा पुर्याउने उनको योजना छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने अन्य धेरै संघसंस्था छन्, उनलाई यो सूचीमा पर्न के कुराले चाहिँ मद्दत गर्यो त?
जवाफमा श्रेया भन्छिन्, ‘काम गर्ने त धेरै छन् तर हामीले सबैको पहुँच हुने गरी सेवा दिइरहेका छौँ। कान नसुन्ने, बोल्न नसक्नेहरूका लागि सांकेतिक भाषाको व्यवस्था छ। ह्विलचेयर प्रयोगकर्ताहरू पनि सजिलै आउन सक्ने भौतिक संरचना छन्। हप्ताको सातै दिन खुल्छ। आफ्नो स्थानीय भाषा मात्रै बोल्न सक्नेहरूलाई त्यही भाषाको थेरापिस्ट हुनुहुन्छ। सायद यिनै कारणले होला।’
कतिपयले प्रश्न गर्छन्, बिजनेस पढेर मानसिक स्वास्थ्यको क्षेत्रमा काम? श्रेयालाई लाग्छ, मुख्य कुरा व्यवस्थापन हो। उनी आफूलाई मनोविद् भन्न रुचाउँदिनन्। उनी आफूलाई मानसिक स्वास्थ्यको क्षेत्रमा वकालत गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छिन्।
ह्याप्पी माइन्ड्स सुरु गर्दा धेरैले उनलाई कतिले हाँसोमा उडाए। ‘लन्डनबाट यही काम गर्न फर्केको?’ भन्दै अनुहार खुम्च्याए।
उनको चित्त पनि नदुखेको होइन। तर श्रेयाले मुखले जवाफ फर्काइनन्। यसको जवाफ समयले नै फर्काउनेछ भन्नेमा उनी ढुक्क थिइन्। आज फोर्ब्सको सूचीमा पर्दा श्रेयाले ती सबै मानिसहरूलाई सम्झिएकी छिन्।
उनी खुसी छिन् र रुन पनि मन लागेको छ। उनी यो सफलताको श्रेय आफ्नो सिंगो टिमलाई दिन्छिन्। भन्छिन्, ‘एक्लैले गरेर हुने काम नै होइन। टिमका सबै साथीको निकै ठूलो मेहनत छ।’
भिडिओ :
Shares
प्रतिक्रिया