ad ad

कारोबार


हिम्मतले खोलेको ‘दाउरा थकाली’ देशभर फैलाउने तयारीमा निभेन

हिम्मतले खोलेको ‘दाउरा थकाली’ देशभर फैलाउने तयारीमा निभेन

अभावमा सुरु गरिएको दाउरा थकालीका ३ वटा आउटलेट खुलिसकेका छन्। तस्बिर : सरोज नेपाल


लक्ष्मी बलायर
असार १६, २०८१ आइतबार ८:३१, काठमाडौँ

कुपण्डोलस्थित बीवाईडी सोरुम भएकै भवनको सातौँ तला। जहाँ पुग्नेबित्तिकै सुनिन्छ संगीतको मधुर धुन। अनि भित्र पस्नेबित्तिकै देखिन्छ खरको छानो। खरको छानामाझ बलेका चम्किला बत्ती। माटोका भित्तामा झुन्डिएका हलो र जुवा। काठ र दाउराबाटै बनेका संरचना। त्यहाँ पुग्ने जोसुकैलाई गाउँले परिवेशमा पुगेको अनुभूति हुन्छ। थोरै भए पनि कंक्रिटको सहर र कोलाहलबाट राहतको अनुभूति हुन्छ।

त्यसैले त झण्डै एक वर्षअघि ललितपुरमा खुलेको ‘दाउरा थकाली अथेन्टिक नेपाली कुजिन एन्ड बार’ ग्राहकहरुको रोजाइमा परिरहेको छ। निभेन अमात्यले सञ्चालन गरेको यो दाउराको तेस्रो आउटलेट हो।

दाउरा थकालीमा मुख्यतया थकाली खानालाई प्राथमिकतामा राखिए पनि थरीथरीका खाना पाइन्छन्। स्वादिष्ट परिकारका अलावा यी आउटलेटमा काठमाडौँ उपत्यकाको कला, संस्कृति र सम्पदाको झल्को दिने साजसज्जा छन्। जसले नेपाली मौलिकतासँग साक्षात्कार गराउँछ।  

अभाव र हिम्मतबीच खुलेको दाउरा थकाली
बालुवाटार बस्ने निभेन विगत १० वर्षदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्। विदेशमा इन्टरनेसनल बिजनेस पढेर निभेन १५ वर्षअघि नेपाल फर्किए। लन्डन र अमेरिकामा पढेर सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्न कस्सिए उनी। हस्पिटालिटी पृष्टभूमि नभए पनि आफू मार्केटिङमा राम्रो हुँदा यो क्षेत्रमा आएको सुनाउँछन् उनी। 

सन् २०१४ देखि निभेनले व्यवसाय सुरु गरेका हुन्। सुरुमा २० लाखको ऋण लिएर महाराजगञ्जमा ‘बेरी एन्ड बेरी क्याफे’ खोले। जसबाट उनले विशेषगरी फ्रोजन योगट बेच्ने गर्थे। आइसक्रिमको विकल्पमा मानिसहरु यो डिजर्ट खाने गर्छन्। क्याफेमा उनले म:म, हट डग, बर्गर पनि राखेका थिए। तर, तीनचार वर्षपछि ठाउँ अभाव हुँदा क्याफे बन्द गर्न बाध्य भए।  

चेन मोडलमा रेस्टुरेन्ट खोल्ने निभेनको पहिल्यैदेखि चाहना थियो। तर, फ्रोजन योगटको चेन खोल्न सम्भव थिएन। किनकि त्यसका ग्राहक सीमित थिए। त्यसपछि उनले नेपालीहरुले मनराउने म:मलाई ब्रान्ड बनाउने सोच बनाए। र, सन् २०१६ मा कुमारीपाटीमा बोता म:मको पहिलो आउटलेट खोले।

‘नेपालीहरुले मेन्यू पल्टाउँदा अन्तिममा खाने भनेको म:म र चाउमिन हो। विदेशमा बर्गर र मासु भनेझैँ नेपालमा किन म:मको चेन नखोल्ने भनेपछि बोता म:म खोलेँ। नवलपरासीबाट बोता ल्याएर हामीले म:म र अचारमा भेराइटी दियौँ। जसलाई ग्राहकहरुले निकै मन पराउनुभयो,’अमात्यले भने।

ग्राहकहरुले रुचाएपछि काठमाडौँ हुँदै उपत्यकाबाहिर बोताका आउटलेट फैलिन थाले। सञ्चालन गरेको दुई वर्षमै नेपालभरि १६ वटा शाखा विस्तार गर्न सफल भए।

तर, यो अपत्यारिलो सफलतालाई अकल्पनीय विपत्तिले समाप्त पारिदियो। सन् २०२० मा कोरोना महामारी आएपछि व्यवसाय ठप्प भयो। पहिलो लहरमा जसोतसो उनले धानेका थिए, दोस्रो लकडाउनपछि भने निकै गाह्रो भएको सुनाउँछन् उनी।  

व्यवसाय खोल्न नपाउँदाको घाटा अनि घरबेटीको महँगो भाडा। केही आउटलेट बन्द भए। फ्रेन्चाइज मोडल नै धरापमा पर्न थाल्यो। पहिलेको भन्दा कम बिक्री हुन थालेपछि तिनले अरु पनि सामान पनि बेच्न थाले। जसकारण केही फ्रेन्चाइज बन्द गर्नुपरेको दाबी छ उनको।

‘फ्रेन्चाइज लिएपछि अरुको ब्रान्डको मापदण्डलाई ध्यान राख्नुपर्छ। ग्राहकहरुलाई सर्भिस राम्रो नदिँदा नामले मात्रै फ्रेन्चाइज चल्दैन। कोरोनापछि कसैले बोताको म:मसँगै रक्सी र बियर राखे। कसैले थकाली राखे। म:म पनि हाम्रोबाट नलगेर थर्ड पाटीको ल्याएर बेच्न थाले,’ उनी भन्छन्, ‘त्यो कारणले हामीले सातवटा फ्रेन्चाइज बन्द गरेका थियौँ।’

फ्रेन्चाइज खुम्चिएर ६ वटा आउटलेट मात्रै बाँकी रहे। तर निभेनले हिम्मत हारेनन्। बरु त्यसैबेला अभाव र चुनौतीका बीच उनले ‘दाउरा थकाली अथेन्टिक नेपाली कुजिन एन्ड बार’ सञ्चालनमा ल्याए। सन् २०२२ नयाँबजारमा दाउराको पहिलो आउटलेट खोलियो। दोस्रो आउटलेट पेप्सिकोलामा सञ्चालित छ। 

‘कुनै पनि काम गर्नलाई भित्रैबाट लगाव हुनुपर्छ। हस्पिटालिटी भनेको संसारमै कठिन कार्यक्षेत्र हो। यदि यो बिजनेसमा सफलता पाउन सकियो भने जुनसुकै बिजनेसमा पनि सफल हुन सकिन्छ,' उनले भने, ‘कोरोनाले गाह्रो भए पनि मैले सकारात्मक सोचेँ। जति नै अभाव भए पनि एउटा कदम चाहिँ बढाउनुपर्छ। कदमै नचाले जहाँको त्यहीँ भइन्छ। त्यही सोच्दै मैले दाउरा थकाली खोलेको हुँ।’

हाल बोताका तीन मात्र आउटलेट कमलपोखरी, खुसिबु र कुमारीपाटीमा  सञ्चालित छन्।

थकाली खाना र संस्कृतिमा जोड
नेपालमा थकाली खाना निकै रुचाइएको परिकार हो। सहरभरि थकाली खानासहितका थुप्रै रेस्टुरेन्ट खुलेका छन्। दाउरामा यसलाई खास महत्व दिइए पनि अरु थुप्रैखाले परिकार उपलब्ध छन्।

थकाली र नेवारीसहित इन्डियन, कन्टिनेन्टल र ओरिएन्टल खानाहरु उपलब्ध रहेको सञ्चालक अमात्यले बताए।

कुपण्डोलस्थित दाउरालाई ललितपुर, काठमाडौँ र भक्तपुरगरी तीन कक्षमा विभाजन गरिएको छ। जहाँ प्रत्येक जिल्लाका प्राकृतिक र सांस्कृतिक सम्पदालाई कलात्मक ढंगले उतारिएको छ।

मौलिक नेपाली खानासहित सांस्कृतिक परिवेशलाई प्राथमिकता दिँदै ग्राहकहरुको सेवा गरिरहेको सुनाउँछन् उनी।

उनले भने, ‘नेपाली फुडसहित नेपाली कल्चर र नेपाली म्युजिकमा फोकस गरेका छौँ। धेरैजसो थकालीमा जाँदा भात मात्रै पाइन्छ। तर, दाउरा थकालीमा आएपछि विभिन्न परिकारदेखि लाइभ म्युजिक, परम्परागत नृत्य पनि राखेका छौँ। साथै दाउरासहित बाँस, जुट र नेपाली कागज प्रयोगमा ल्याएका छौँ।’

गुणस्तर पनि कायम गरेको उनको भनाइ छ, ‘हामीले ग्राहकको सेवासुविधामा जोड दिएका छौँ। एकदिन खाना मिठो भएर हुन्न। सधैँ एकैखाले बनाउन गुणस्तरमा ध्यान दिएका छौँ। थकालीमा गोरखाको दाल प्रयोग गरिएको छ। जसलाई धेरैले मन पराउनुभएको छ।’

निभेन दाउरालाई पनि नेपालभरि फैलाउने तयारीमा छन्। दुईतीन महिनामै पोखरामा दाउरा थकालीको फ्रेन्चाइज खुल्दैछ। बिस्तारै बुटवल, नारायणगढ, इटहरी लगायतका सहरमा खोल्ने कुरा भइरहेको उनले बताए। 

बोता म:म र दाउरालाई विदेशमा पनि ब्रान्डको रुपमा स्थापित गर्न लागिपरेका छन् निभेन।

‘चाँडै बोता र दाउरा थकालीलाई लिएर भारतमा पनि जाँदैछौँ। म ब्रान्ड बनाउने पक्षमा छु। देश विदेशमा नेपाली ब्रान्ड चिनाउने इच्छा हो,’ उनले भने।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .