ad ad

कारोबार


सडकका ठूला पहिरा नियन्त्रण गर्न जापानी प्रविधि, नेपाल आउँदै जापानका प्राविधिक

सडकका ठूला पहिरा नियन्त्रण गर्न जापानी प्रविधि, नेपाल आउँदै जापानका प्राविधिक

कान्ति लोकपथको पहिरो र जाइकाको लोगो।


वसन्त अर्याल
असार २१, २०८१ शुक्रबार १४:१३, काठमाडौँ

नेपालका सडक पहिरोको अध्ययन गर्न जापानी प्राविधिक आउने भएका छन्। 

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा ठूलो पहिरो नियन्त्रणसम्बन्धी अध्ययन हुने भएको हो। 

नेपालको भौगोलिक अवस्थाको कारण हरेक वर्ष धेरै सडक पहिरोबाट प्रभावित हुने गरेका छन्। यसो हुँदा घण्टौँसम्म सवारी आवागमन रोकिँदा यात्रु रोकिनुपर्ने अवस्था छ भने अर्कोतर्फ सवारी दुर्घटनामा परी धनजनको क्षति हुने गरेको छ। 

नेपालका सडक निर्माण नै पहाड काटेर हुने गरेको छ। नेपालको सडक पूर्वाधारमा सहयोग गर्दै आएको जापानले मुख्य राजमार्गमा हरेक वर्ष पहिरो जाने ठाउँको अध्ययन गर्नेछ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले पहिरोसम्बन्धी प्राविधिक सहायताको सम्झौता गर्न सडक विभागलाई स्वीकृति दिएको बताए। 

जापानी प्राविधिक र नेपाली इन्जिनियरले संयुक्तरुपमा सडकको भौगोलिक अवस्था र पहिरो जानुका कारण केलाउनेछन्। उनीहरुले यससम्बन्धी अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाउनेछन्। 

सडक विभागका उपमहानिर्देशक डा. विजय जैसीले जाइकाले पहिलोको अध्ययन तथा तालिमसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेमा सम्झौता हुन बाँकी रहेको बताए।

‘नेपालमा गइरहेका ठूला पहिरो कसरी रोकथाम गर्ने भनी १–२ ठाउँमा प्रयोग गरी देखाउँछन्’, जैसीले भने, ‘सडक विभागका इन्जिनियरलाई कसरी रोकथाम गर्ने भन्ने ट्रेनिङ पनि दिन्छन्।’

सडक विभागले पहिलो जोखिमको धेरै ख्याल नगरी सडक निर्माण गरेको छ। अग्लो पहाड काटेर सडक निर्माण गर्दा पहिरो रोक्ने विषयमा धेरै लगानी गरेको छैन। पहिरो रोक्ने धेरै प्राविधिक ज्ञानको अभाव रहेको विभागका इन्जिनियरहरु पनि स्वीकार गर्छन्। 

जापानी इन्जिनियरले पहिरो गइरहने मुख्य सडकका रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछन्। त्यसपछि पहिरो जाने कारण र रोकथामका लागि प्राविधिक सहयोग गर्ने विभागले जनाएको छ। 

‘कान्ति लोकपथमा हरेक वर्ष पहिरो जाँदा करिब २ किलोमिटर सडक नियमित बन्नसकेको छैन’, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर त्रिलोकनाथ घिमिरेले भने, ‘कान्ति लोकपथलाई स्याम्पल (उदाहरण) बनाएर मुख्य राजमार्ग र रणनीतिक सडकका पहिरोको विषयमा अध्ययन हुनेछ।’

काठमाडौं जोड्ने मुग्लिङ–नारायणगढ सडकको पहाड कटौती गरी विस्तार गरिएको थियो। तर वर्षातको समयमा पहिरो गएर बाटो बन्द हुने गरेको छ। सडक विभागले विना अध्ययन अग्ला पहाड काट्दा ठूला पहिरो गएको र सडक झन् जोखिम बनेको आरोप लाग्ने गरेको छ।

अब हुने अध्ययनले अहिले भइरहेका समस्या समाधानमा सघाउ पुग्छ।  

‘करिब ४० जना विभागका इन्जिनियरलाई जापानी प्राविधिकले पहिरोसम्बन्धी प्राविधिक तालिम उपलब्ध गराउनेछन्’, सीडीई घिमिरेले भने, ‘४ वटा विषयमा ट्रेनिङ दिनेछन्।’

नेपाल सरकारले पछिल्लो समय सडक पूर्वाधार निर्माणको डिजाइनमा केही परिवतर्न गरेको छ। राजमार्ग विस्तारमा सुरुङमार्ग र अग्ला पुलको निर्माण गर्ने घोषित नीति लिएको छ। तर अधिकांश पुराना सडक खण्डमा सुरुङमार्ग र अग्ला पुल बन्ने सम्भावना नभएकाले पहिरो रोकथाम गर्नुपर्ने बाध्यता छ। 

‘यो ठूलो वैदेशिक सहायता त होइन तर पहिरो रोकथामका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग हो’, घिमिरेले भने, ‘अहिले जापानी प्राविधिकले तालिम दिन्छन्, पछि पहिरो रोकथामको डिजाइन सिकाउनेछन्।’

सडक विभागले अबको १ महिनाभित्र द्विपक्षीय सम्झौता गर्ने तयारी गरेको छ। सम्झौतासँगै जाइकाले परामर्शदाता नियुक्त गरी नेपाल पठाउनेछ। यसअनुसार अबको ६ महिनापछि मात्रै नेपालमा काम सुरु हुने सम्भावना छ। 

‘प्राविधिक सम्झौता ३ वर्षको लागि हुनेछ’, उनले भने, ‘उक्त समयमा १–२ ठाउँमा पहिरो नियन्त्रणको कामसँगै नेपाली इन्जिनियरलाई तालिम प्रदान गर्नेछन्।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .