ad ad

कारोबार


८ हजारमा किनेको सेयर १४ सयमै फालाफाल

अघिल्लो बुलमा ‘मौका छोपेको’ सेयरले लगानीकर्ताको बिचल्ली
८ हजारमा किनेको सेयर १४ सयमै फालाफाल

सम्झना घिमिरे
भदौ १९, २०८१ बुधबार ११:१७, काठमाडौँ

२०७८ भदौ १ गते धितोपत्रको दोस्रोबजारमा हिमालयन डिस्टिलरीको सेयर मूल्य कित्ताकै ७ हजार ९ सय ३९ रुपैयाँ पुग्यो।

नेप्से सूचक ३१ सय ६५ अंकमा पुग्दा डिस्टिलरीको मूल्यले पनि उच्चतम विन्दु छोएको थियो। सो मूल्यमै पनि धितोपत्र बजारमा लगानीकर्ता सेयर किन्न मरिहत्ते गरेपछि काठमाडौंका समुन्द्र न्यौपानेलाई लाग्यो– मूल्य अझै बढ्छ। 

झण्डै ८ हजार रुपैयाँमा पुगेको सेयरको माग उच्च हुँदा उनलाई यस्तो लाग्नु स्वाभाविकै थियो।  

त्यतिबेला सेयरबजारमा बेग्लै माहोल बनिरहेको थियो। नेप्से ३१ सय विन्दु पार गरी ३२ सयको यात्रामा नयाँ इतिहास बनाउँदै थियो। लगानीकर्ता पनि एकैदिन २२ अर्बबराबरको कीर्तिमानी कारोबार गरिरहेका थिए। 

न्यौपानेले बजार विश्लेषकहरुले गरेका अनुमान र सेयर मागको अवस्था हेर्दै लगानी गर्ने योजना बनाए। नभन्दै भदौ १ मा करिब ८ हजार पुगेको मूल्य पुसमा ४५.४९ प्रतिशतले घटेर ४३ सय रुपैयाँमा आयो। 

सोही वर्ष कम्पनीले १ सय प्रतिशतको लाभांश वितरण गर्ने घोषणा गरेकाले नाफा कमाइनेमा उनी ढुक्क भए। योसँगै उनले पुसमा ४३ सय ५५ रुपैयाँ प्रतिकित्ताको दरमा ४४ कित्ता सेयर १ लाख ९१ हजार रुपैयाँमा किने।

‘नेप्से करेक्सनमा गएको हो, बजार बढ्छ भन्नेखालका विश्लेषणहरु आइरहेका थिए। ४५ प्रतिशतले मूल्य घटिसकेपछि बजार कसो नबढ्ला भनेरै लगानी गरेको थिएँ’, उनले सुनाए। 

सोही वर्ष कम्पनीले लगानीकर्तालाई १ सय प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि आधारभूत रुपमै पनि लगानी गर्नु उनलाई ठीक लाग्यो।

त्यसो त प्रायः लगानीकर्ताले कम्पनीको वित्तीय विवरणमा लाभांश दिनसक्ने क्षमता र लाभांश वितरणको विगतको अवस्थालाई हेरेर लगानी गर्ने गर्छन्। 

१ सय प्रतिशत लाभांश दिने घोषणा गरेपछि सेयर किनेका उनले त्यसयता मूल्य बढ्ने र नाफा कमाउने पर्खाइमै २ वर्ष बिताए। तर यो बीचमा नाफा कमाउनुको साटो मूल्य घटेर १४ सयमै आएपछि उल्टो १ लाख २९ हजार रुपैयाँले घाटा खानुपरेको सुनाउँछन् उनी। 

अहिले बजार बढ्दा पनि आफूले लगानी गरेको कम्पनीको सेयरमूल्यले बढ्ने छाँट नदेखाउँदा उनी अन्योलमा छन्।  

दुई वर्षपछि गत असारबाट फेरि बजार तंग्रिन थालेको छ। दुई महिनाको अवधिमा सूचकले १ हजार अंकको छलाङ मारिसकेको छ भने ८० प्रतिशत कम्पनीहरुको अघिल्लो बुलकै मूल्यमा सेयर किनबेच हुनथालेको छ।

दुई वर्षदेखि बुल पर्खिरहेका लगानीकर्ताले अघिल्लो पटकको मूल्यमा सेयर पुगेपछि बजारबाट धमाधम नाफा बुक गर्नथालेका छन्। नाफा बुक गर्ने लगानीकर्ताको चाप बढेपछि पछिल्लो दुई हप्तादेखि बजार २६ सय अंकमा ओर्लिएर पुनः उकालो लाग्नथालेको छ। यसको अर्थ बजारमा नाफा बुक गरेका लगानीकर्ता पुनः प्रवेश गर्न थाले भन्ने बुझिन्छ। 

अधिकांश कम्पनीको सेयरमूल्य यो दुई महिनाको बढाइमा नाफा बुक गर्ने अवस्थामा पुगिसक्दा पनि हिमालयन डिस्टिलरीको मूल्य भने तीव्र गतिमै ओरालो लागिरहेको छ। 

मंगलबार मात्रै यो कम्पनीको सेयर १४२५ मूल्यमा कारोबार भएको छ। यसअघि असार १७ गते कम्पनीको सेयर मूल्य घटेर ११४० रुपैयाँमा पुगेको थियो। त्यसयता मूल्य १४ सयदेखि १५ सयकै वरिपरिमा घुम्दा लगानीकर्तालाई सेयर निल्नु न ओकल्नु भएको छ।

पछिल्लो ९ महिनामा कम्पनीको सेयरको अवस्था (नेप्से)

लाभांश खस्किएपछि सेयरमूल्यमा पहिरो
आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा लगातार तीन वर्ष शतप्रतिशत लाभांश वितरण गरेको कम्पनीले त्यसयता भने उत्तिकै मात्रामा लाभांश वितरण गर्न सकेको छैन।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ५३ करोड नाफाबाट नगद ५२.६३ प्रतिशत र बोनस सेयर ५० प्रतिशत गरी कुल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। यतिबेलासम्म प्रतिसेयर आम्दानी १०१ रुपैयाँ थियो भने बजारमा सेयरमूल्य १८ सयको हाराहारीमा थियो।

आव २०७६/७७ मा कम्पनीले ४६ करोड नाफाबाट ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस गरी १ सय प्रतिशत नै लाभांश दियो। सो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी पनि १ सय १९ रुपैयाँमा थियो।

लगातार दुई वर्ष शतप्रतिशत लाभांश पाउने भएपछि लगानीकर्ताले सेयर माग बढाउँदा प्रतिकित्ता १८ सय बाट ५५ सय रुपैयाँमा मूल्यमा सेयर पुग्यो। 

हरेक वर्ष नाफा बढाउँदै सोहीअनुसार लाभांश पनि १ सय प्रतिशत दिन थालेपछि सेयर किन्न लगानीकर्ताले तँछाडमछाड गरे। आव २०७७/७८ मा पनि कम्पनीले १ अर्ब नाफाबाट लगानीकर्तालाई ७५ प्रतिशत बोनस सेयर र थप २५ प्रतिशत नगद गरेर १ सय प्रतिशत नै लाभांश दिने घोषणा गरेपछि सेयरमूल्य करिब ८ हजार रुपैयाँमा पुगेर इतिहास रचेको थियो। 

यो आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी पनि १२० रुपैयाँ थियो। 

२०७८/७९ बाट भने कम्पनीले १ अर्ब नाफाबाट नगद १० प्रतिशत र बोनस सेयर ६० प्रतिशत गरेर ७० प्रतिशत मात्रै बोनस दियो। यो वर्ष प्रतिसेयर आम्दानी पनि खुम्चिएर १२० रुपैयाँबाट ६९.५ रुपैयाँमा झर्‍यो। त्यसपछिका वर्षहरुमा भने कम्पनीले उल्लेख्य नाफा गर्न नसक्दा लगानीकर्ताहरु लाभांशमा खुम्चिन पुगे। सेयरमूल्य पनि घटेर ३ हजारको हाराहारीमा आइपुगेको थियो।

कम्पनीको नाफा ओरालो लाग्ने क्रम नरोकिँदा लगानीकर्ताले लाभांशमा १ सय प्रतिशतबाट २५ प्रतिशतमा खुम्चिनुपर्‍यो। आव २०७९/८० मा कम्पनीले नगद १५ प्रतिशत र बोनस सेयर १० प्रतिशत मात्रै दियो भने सोही वर्ष कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर २७ रुपैयाँमा पुग्यो।

यसले बजारमा कम्पनीलाई लिएर लगानीकर्ताको मनोविज्ञान कमजोर बनेसँगै सेयरमूल्य पनि ३ हजारबाट घटेर १८ सयसम्म ओर्लिन पुग्यो।
यो वर्ष कम्पनीको नाफा पनि १ अर्बबाट ह्वात्तै घटेर ६६ करोड रुपैयाँमा झरेको थियो।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म भने कम्पनीले जम्मा ३५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। यस्तै कम्पनीको प्रतिसेयर आम्दानी घटेर १३ रुपैयाँमा आइपुगेको छ।

कम्पनीले नाफा घट्नुको प्रमुख कारण कोरोना संक्रमणपछि कम्पनीको व्यापारमा आएको संकुचनलाई मानेको छ। कोरोना संक्रमण र त्यसलगत्तै अर्थतन्त्रमा देखिएको सुस्तता र रुस र युक्रेनबीचको युद्धका कारण डिस्टिलरीको व्यापारमा कमी आएको उल्लेख गर्दै कम्पनीले लगानीकर्तालाई दिने प्रतिफलमा समेत कटौती गरेको हो। 

कम्पनीले लाभांशमा उदारता देखाए पनि व्यापार भने बढाउन नसक्दा अर्बमा उक्लिसकेको कम्पनीको नाफा ३५ करोडमा संकुचित भएको छ। यसले धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको मनोबल खस्काउँदा सेयर मूल्य बढ्नसकेको छैन। 

दुई वर्षअगाडि प्रतिकित्ता ८ हजार रुपैयाँमा पनि सेयर किन्न तयार लगानीकर्ता अहिले १४ सय रुपैयाँमा पनि किन्न तयार देखिँदैन। बजारमा सेयर आपूर्ति बढी हुँदा रकममा निरन्तर गिरावट देखिएको हो। 

यस्तो छ कम्पनीको लाभांश, प्रतिसेयर आम्दानी र नाफाको विगत 

लाभांश 

आर्थिक वर्ष लाभांश (%)
२०७५/७६ १०२.६३
२०७६/७७ १००
२०७७/७८ १००
२०७८/७९ ७०
२०७९/८० २५
२०८०/८१ बाँकी

प्रतिसेयर आम्दानी 

आर्थिक वर्ष प्रतिसेयर आम्दानी (रु)
२०७५/७६ १०१
२०७६/७७ ११९
२०७७/७८ १२०
२०७८/७९ ६९
२०७९/८० २७
२०८०/८१ १३

नाफा 

आर्थिक वर्ष नाफा (रु)
२०७५/७६ ५३ करोड
२०७६/७७ ४६ करोड 
२०७७/७८ १ अर्ब
२०७८/७९ १ अर्ब
२०७९/८० ६६ करोड
२०८०/८१ ३५ करोड

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .