ad ad

कारोबार


सरकारले ‘क्याबिन क्रु’को उमेर हद ५० वर्ष पुर्‍यायो

सरकारले ‘क्याबिन क्रु’को उमेर हद ५० वर्ष पुर्‍यायो

नेपालखबर
असोज १९, २०८१ शनिबार १६:४७, काठमाडौँ

सरकारले विमान क्याबिन क्रु (परिचारक/परिचारिका)को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ।

शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट बञ्चित गरिएको, आफूहरूको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए।

‘४५ वर्षको उमेर हदलाई ५० वर्ष पुर्‍याउने कुरामा कुनै समस्या हुँदैन, किनभने नेपालका सन्दर्भमा हाम्रो औषत आयु पनि बढेको अवस्था छ। उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ। ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ। ४५ को उमेरहदलाई ५० मा पुर्‍याउने निष्कर्षमा पुगेका छौँ। त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ। सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने जनाउनुभएको छ,’ मन्त्री पाण्डेले भने।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए।

नेपालका सन्दर्भमा अहिले औषत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्‍याउँदा फाइदा हुने उनको भनाइ छ। 

‘क्याबिन क्रु मेम्बरहरूले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाई नभएको विषय राख्नुभएको थियो। उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा। त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्नेकुरा राख्नुभयो,’ उनले भने, ‘आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निष्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौँ। अदालतमा उहाँहरुको मुद्दाका विषयमा केही अन्तिरम आदेशहरू आएका छन्, त्यसको स्पष्टताका लागि उहाँहरुको भनाइ एउटा छ, निगमको भनाइ एउटा छ, स्पष्टताका लागि मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयसँग राय लिने,’ उनले भने।

क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रबार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो। जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए।

निगममा कार्यरत परिचारिका/परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याविन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए।

उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .