ad ad

कारोबार


आयात ५० अर्बले घट्दा विद्युतीय गाडी दोब्बर भित्रिए

प्रतिबन्धको ठूलो असर डिजेल–पेट्रोलका प्यासेन्जर गाडीमा
आयात ५० अर्बले घट्दा विद्युतीय गाडी दोब्बर भित्रिए

वसन्त अर्याल
फागुन १२, २०७९ शुक्रबार १६:२, काठमाडौँ

चालू आर्थिक वर्षमा विद्युतीयबाहेक अन्य सवारीसाधनको व्यापार निराशाजनक देखिएको छ। 

७ महिनाको गाडी भित्रिएको तथ्यांकले विद्युतीय गाडीबाहेकको व्यापार घटेको देखाएको हो। 

सरकारले वैदेशिक मुद्रा सञ्चितिमा कमी आएपछि २०७९ वैशाखबाट पेट्रोल–डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। गत मंसिरबाट प्रतिबन्ध खुलेको छ।

सरकारले प्रतिबन्ध नलगाएका १५० सीसीभन्दा कमका मोटरसाइकल तथा स्कुटर, ढुवानीका साधन, बसलगायतको आयात पनि ह्वात्तै घटेको छ। 

माघ महिनासम्म १९ अर्ब ५१ करोड रुपैयाँको सवारीसाधन आयात भएको छ। अघिल्लो वर्ष माघ महिनासम्म ६९ अर्ब १५ करोड रुपैयाँको सवारीसाधन भित्रिएका छन्। 

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले भन्सारमा करिब ३ हजार गाडी रोकिएको बताए। तीमध्ये व्यावसायिक वा ढुवानी प्रयोजनका साधन बढी छन्। उनले सरकारलाई राजस्व बुझाएर भित्र्याए पनि बिक्री गर्नसक्ने अवस्था नहुँदा भन्सारबाट छुटाएका छैनन्। 

प्रतिबन्धको ठूलो असर डिजेल पेट्रोलका प्यासेन्जर गाडीमा
अघिल्लो वर्ष ७ महिनामा डिजेल पेट्रोलका १० हजार ७०५ प्यासेन्जर गाडी भित्रिएकोमा चालू आर्थिक वर्षमा ११ सय १६ वटा मात्र आएका छन्। आयात प्रतिबन्धको सबैभन्दा ठूलो असर नै प्यासेन्जर भेहिकलमा देखिएको छ। 

पेट्रोल इन्जिनको एक हजार सीसीसम्मको २३३, एक हजारदेखि १५ सयसम्म ५२९ गाडी आयात भएका छन्। अघिल्लो वर्ष १ हजारदेखि १५ सय सीसी ६ हजार ५६१ पेट्रोल इन्जिनका आयात भएका थिए। 

१५०० देखि २ हजार सीसीसम्मका १९ र २ हजारमाथिका ६ वटा गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले उल्लेख गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १५ सयदेखि २ हजारसम्मका १७७ वटा आयात हुँदा ३ हजार सीसीसम्मका २० वटा मात्र आयात भएका थिए।      

१५ सय सीसीसम्मका डिजेल निजी प्यासेन्जर ८३ आयात भएका छन् भने १५ सयदेखि २५ सय सीसीसम्मका २०७ वटा गाडी भित्रिएका छन्। अघिल्लो वर्ष १५ सय सीसीसम्मका ३४० वटा आयात भएका थिए भने २५ सय सीसीसम्मका ७६५ वटा भित्रिएका थिए। 

२५ सय सीसीमाथिका ३८ वटा सवारी मात्रै भित्रिएका छन्। गत आर्थिक वर्षमा १३४ वटा भित्रिएका छन्। 

बस र ढुवानीका साधनको आयात पनि घट्यो
सरकारले बस र ढुवानीका साधनलाई आयात गर्न प्रतिबन्ध नलगाए पनि  गाडी भित्रिनसकेका छैनन्। अटो व्यवसायीले गाडी आयात गरे पनि बिक्री गर्न सक्ने वातावरण नहुँदा नभित्र्याएको बताएका छन्। 

चालू आर्थिक वर्षको माघ महिनासम्म मिनी बस र ठूला बस २७९ आयात भएका छन्। साझा यातायातले थप ३७ वटा विद्युतीय बस भित्र्याएको छ।  अघिल्लो वर्ष ४२४ वटा मिनी र ठूला बस भित्रिएका थिए। 

डबल पिकअप गाडी १ हजार ५५ वटा भित्रिएका छन्। डबल पिकअप यात्रुसँगै सामान ढुवानीको लागि बढी प्रयोग हुन्छ। जुन अघिल्लो वर्ष १९ सय २२ वटा भित्रिएका थिए।   

सिंगल पिकअप भने ५३१ वटा भित्रिएका छन्। मुख्यतः ढुवानीको लागि प्रयोग हुन्छन्। अघिल्लो वर्ष ३ हजार ४३६ वटा गाडी भित्रिएका थिए। 

विद्युतीय गाडीको आयात बढ्यो 
डिजेल पेट्रोलका गाडी आयात प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीको व्यापार भने केही बढेको छ। ७ महिनामा २ हजार ९ वटा आयात भएका छन्। अघिल्लो वर्ष ७ महिनामा ११ सय ९१ वटा मात्रै गाडी आयात भएका थिए। 

सरकारले १०० किलोवाटसम्मका गाडीमा कर नबढाउँदा आयातमा वृद्धि भएको छ। ७ महिनामा १९ सय ५९ वटा सय किलोवाटसम्मका विद्युतीय गाडी आयात भएका हुन्।

१०० देखि २०० किलोवाटसम्मका ४४ वटा गाडी भित्रिएका छन्। २०० देखि ३०० किलोवाटसम्म ६ वटा सवारी मात्रै आएका छन्। 

अघिल्लो वर्ष १०० देखि २०० किलोवाटका गाडीको आयात बढी थियो। १०० किलोवाटसम्मका ४७८ मात्रै भित्रिँदा २०० किलोवाटसम्मका ७११ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ। 

दुईपांग्रे १ लाख बढीले घटे
चालू आवमा ७१ हजार २२५ वटा दुईपांग्रे सवारीसाधन भित्रिएका छन्। अघिल्लो वर्ष यही अवधिमा १ लाख ८९ हजार दुईपांग्रे सवारीसाधन भित्रिएका थिए। 
सरकारले १५० सीसीसम्मका मोटरसाइकल आयातमा खुल्ला नै राखे पनि मोटरसाइकलको आयात १ लाख बढी रहेको भन्सार विभागको तथ्यांक छ। अघिल्लो वर्ष १२५ देखि १५० सीसीसम्मका ९० हजार ५०० भित्रिएका थिए। १५० सीसीको मात्रै यो वर्ष ४८ हजार ७६८ भित्रिएका छन्।

चालू आर्थिक वर्षमा १२५ देखि २०० सीसीको ७ हजार १७७ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन्। २०० देखि २५० सीसीसम्मका ६१ मोटरसाइकल आयात भएका छन्। २५० देखि ४०० सीसीसम्म ८०० वटा भित्रिएका छन्। 

पेट्रोल इन्जिनका मोटरसाइकल तथा स्कुटरको कम भित्रिए पनि विद्युतीय मोटरका भने बढेका छन्। विद्युतीय दुईपांग्रेमा स्कुटर बढी भित्रिने गरेका छन्। 

विद्युतीय मोटरसाइकल तथा स्कुटरको आयात ५ हजार २६५ वटा छ। अघिल्लो वर्ष माघ महिनासम्म २३ सय ४९ वटा आयात भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .