नेपाल दूरसञ्चार प्राधिकरणले इन्फ्लाइट कम्युनिकेसन (आईएफसी) सेवासम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ।
इन्फ्लाइट कम्युनिकेसन भनेको जहाज उडानकै दौडान यात्रुहरुले सञ्चार गर्न पाउने सुविधा हो। यसको अर्थ अब नेपालको एयरस्पेसमा यदि कुनै जहाजले आईएफसी सेवा दिन चाहेमा आवश्यक वैधानिक प्रक्रिया पूरा गरी जहाजभित्र वाइफाइ सेवा प्रदान गर्न सक्नेछन्।
विदेशतिर थुप्र विमान कम्पनीले यस्तो सेवा दिएकाले प्राधिकरणले पनि अन्तरिम निर्देशिका जारी गर्दै नेपालमा पनि दिन सकिने व्यवस्था गरेको हो। योसँगै नेपालमा पनि अब विमान कम्पनीले अन्तरिम निर्देशिकाअनुसार शर्त, नियम र प्रक्रिया पूरा गरे विमानभित्र इन्टरनेट सेवा उपलब्ध गराउन सक्नेछन्।
प्राधिकरणका अनुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय सेवा प्रदायक नेपालको कानुनी प्रक्रिया पूरा गरी दर्ता हुनुपर्नेछ।
स्याटेलाइट अपरेटरबाट प्राप्त इन्टरनेट जहाजभित्र उपभोगका लागि सेटअप एक्सेस नेटवर्कको प्रबन्ध हुनुपर्छ। यस्तो भएको अवस्थामा उडानकै दौडान दूरसञ्चार सेवा यात्रुले पाउनेछन्।
प्राधिकरणले आईएफसी सर्भिसलाई दुई वर्गमा राखेको छ। एउटा नेपालमै दर्ता भएको विमान र अर्को विदेशी विमान। दुवैखालका विमान कम्पनीले लाइसेन्ससहितको फ्रिक्वेन्सी ब्यान्ड (आईएसएम ब्यान्ड) वा लाइसेन्सरहित फ्रिक्वेन्सी ब्यान्ड (सेलुलर ब्यान्ड) प्रयोग गर्न सक्नेछन्।
नेपाली विमान कम्पनीले आईएफसी सेवा प्रदान गर्न प्राधिकरणमा निवेदन दिन पाउने प्राधिकरणले जनाएको छ। त्यसमा कमपनीले वाईफाई वा सेलुलर कुन प्रकृतिको सेवा हो, फ्रिक्वेन्सी कुन हो, प्रविधि (आईईईई, आईएमटी त्यसमा टुजी, थ्रिजी, फोरजी) कुन हो, स्याटेलाइट र अर्थ स्टेसन, आर्किटेक्चर वा सेवाको ब्लक डायग्रामबारे सबै कुरा खुलाउनुपर्नेछ।
यसबाहेक आईएफसी सेवा प्रदायको विवरण, विमान कम्पनी र आईएफसी सेवा प्रदायकबीचको समझदारी पत्र, नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त सिफारिस पत्र र अन्य कागजात प्राधिकरणमा बुझाउनुपर्नेछ।
त्यसपछि प्राधिकरणले अध्ययन गरी सेवा प्रदानको अनुमति दिन सक्नेछ।
त्यस्तै नेपालबाहिर दर्ता भएका विमान कम्पनीको हकमा पनि माथिका विवरण बुझाएमा नो अब्जेक्सन पत्र (एनओसी) प्रदान गरिनेछ। बाहिरका विमानले दर्ता भएको देशको अनुमति लिएको हुनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।
त्यस्तै आईएफसी सेवाका लागि आईएफसी सेवा प्रदायक र स्याटेलाइट सञ्चार प्रदायकले सम्झौता गरी एनओसीका लागि प्राधिकरणमा बुझाउनुपर्नेछ। यदि स्याटेलाइट सञ्चार सेवाप्रदायक आफैँ आईएफसी सेवा प्रदायक नभएको खण्डमा उक्त सेवाका लागि नियामकीय निकायबाट अनुमति लिनुपर्नेछैन।
त्यस्तै नेपाली विमान कमपनीको हकमा यदि आईएफसीका पार्टपुर्जा थपथाप गर्नुपर्ने भएमा यसको स्वीकृति र प्रमाणपत्र नागरिक उड्डयन प्राधिकरणबाट लिनुपर्नेछ।
१० हजार फिट माथि मात्र आईएफसी सेवा
जारी भएको अन्तरिम निर्देशिकाअनुसार आईएफसी सेवा उडिरहेको विमान सतहबाट कम्तीमा १० हजार फिट वा त्योभन्दा माथि रहेको अवस्थामा मात्र दिन पाइनेछ।
उडान, अवतरण र पार्किङका बेला तथा १० हजार फिटभन्दा मुनि जहाज उडिरहँदा नेपालको एयरस्पेसभित्र यस्तो सेवा दिन निषेध गरिएको छ। खासगरी विमान र एरोनाउटिकल स्टेसन, नियामकबीच सञ्चार आवश्यक हुने स्थितिलाई मध्यनजर गर्दै आईएफसी उपभोगको दायरा तोकिएको प्राधिकरणले जनाएको छ।
यस्तो अवस्थामा आईएफसी सेवा दिन दूरसञ्चार ऐनअनुसार अनिवार्य अनुमति लिएको हुनुपर्नेछ। त्यस्तै नेपाली विमान कम्पनीहरुले अन्य देशको क्षेत्रमा यस्तो सेवा दिन उक्त देशको नियामकीय प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।
यस्तो छ अन्तरिम निर्देशिका
Shares
प्रतिक्रिया