ad ad

कारोबार


निजगढ क्षेत्रमा धुरकै २५ लाखसम्म जग्गाको भाउ, कारोबारमा लाग्यो ‘ब्रेक’

५ वर्षमै प्रतिकठ्ठा १७ लाखले बढ्यो सरकारी मूल्यांकन
निजगढ क्षेत्रमा धुरकै २५ लाखसम्म जग्गाको भाउ, कारोबारमा लाग्यो ‘ब्रेक’

निजगढ विमानस्थलको आकाशीय दृश्य


वसन्त अर्याल
माघ २८, २०८० आइतबार १९:८, काठमाडौँ

निजगढ क्षेत्रमा हल्ला गरी जग्गाको मूल्य बढाएपछि कारोबार घटेको छ। 

राष्ट्रिय गौरवका २ वटा योजना देखाई कृत्रिम रूपमा मूल्य बढाएसँगै कारोबारमा ‘ब्रेक’ लागेको हो।  

निगजढ क्षेत्रमा काठमाडौं–तराई द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देखाई होहल्ला गर्दा कृत्रिम रुपमा कारोबार बढेको थियो।

घरजग्गा व्यवसायीका अनुसार काठमाडौंदेखि मधेशको जनकपुर र पश्चिममा बुटवलसम्मका मानिसले निजगढमा जग्गा खरिद गरेका छन्। 

निजगढमा द्रुतमार्ग बन्ने हल्लाले २०७१/०७२ मै कारोबार सुरु भएको थियो। नेपाल सरकारले २०७४ वैशाखमा द्रुतमार्ग बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णयसँगै उक्त क्षेत्रमा कारोबार आकाशिएको थियो। कोभिड महामारीसम्म निजगढमा घडेरी खरिदको आकर्षण नै रहेको थियो।  

‘सरकारले स्पष्ट नीति नबनाउँदा कृत्रिम कारोबार भइरहेको छ’, जग्गा तथा विकास महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘कुन ठाउँको मूल्य कति हुने कसैलाई थाहा नै हुँदैन। ल्यान्डमार्केटको अवधारणाअनुसार कारोबार हुने व्यवस्था गर्नुपर्छ।’

निजगढको वडा नम्बर १ देखि ४ नम्बर वडासम्म अधिकांश बस्ती जंगलभित्र छ। वडा १० देखि ४ वडा पनि जंगलभित्र पर्छन्। वडा नम्बर ५ देखि ९ सम्म फाँटसहितको क्षेत्र छ। जसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ। 

८० बिघालगायतका ठाउँमा व्यवस्थित प्लटिङ भए पनि अधिकांश सामान्य टुक्राहरु नै बिक्री भएको उनले सुनाए।  

‘निजगढ क्षेत्रमा द्रुतमार्ग सुरु हुँदाको तुलनामा ३ वर्षअघि करिब १५० देखि २०० प्रतिशतसम्म जग्गाको मूल्य बढाइएको थियो’, नेपाल जग्गा तथा आवास विकास महासंघका मधेश प्रदेश संयोजक मोहन राउतले भने, ‘ठाउँअनुसार मूल्य फरक छ। निजगढमा सामान्य जग्गा ३ देखि ५ लाख धुरमा खरिदबिक्री भइरहेको छ।’

७ देखि १० धुरमा राम्रो घर निर्माण गर्न सकिन्छ। राजमार्गमा भने ठाउँ हेरी प्रतिधुर २० देखि २५ लाखसम्म हुने गरेको बताए। 

सरकारी मूल्यांकन नै ५ वर्षमै प्रतिकठ्ठा १७ लाखले मूल्यांकन बढाएको छ। चालू आर्थिक वर्षमा निजगढमा राजमार्गको दायाँ बायाँ जोडिएको जग्गा प्रतिकठ्ठा ५७ लाख रुपैयाँ तोकिएको छ। आर्थिक वर्ष २०७६/०७७ मै सकारी मूल्यांकन ४० लाख रुपैयाँ मात्रै रहेको थियो।  

आर्थिक वर्ष २०७९/८० को तुलनामा सरकारी मूल्यांकन ५ प्रतिशतले बढेको छ।

रेलमार्ग, हुलाकी राजमार्ग, मनवत मर्टिअर्वासँग दायाबायाँ जोडिएको जग्गाको भाउ २० लाख रुपैयाँ रहेको छ। भित्री पिचबाटो तथा १० फिटमाथिको ढलान बाटोको दायाँबायाँ जग्गा प्रतिकठ्ठा १९ लाख रहेकोमा ५ वर्षअघि १३ लाख मात्रै रहेको थियो। 

१० फिटमुनि पिच ढलान बाटोको १४ लाख, ग्राभेल बाटोसँग जोडिएको १३ लाख, कच्चीबाटोसँग जोडिएको १२ लाख रुपैयाँ तोकिएको छ। 
निजी प्लटिङको ११ लाख रुपैयाँ छ। बाटो नभएको घडेरीयोग्य जग्गा प्रतिकठ्ठा १ लाख ८० हजार रुपैयाँ मात्रै छ। 

आर्थिक वर्ष २०७६/०७७ मा १० फिटमाथिको ढलान १३ लाख, ग्राभेल ११ लाख, कच्ची बाटो १० लाख र निजी प्लटिङको ९ लाख रुपैयाँ तोकिएको थियो। 

नगरपालिकाकै रतनपूरी मनहर्वा र भरतगन्ज सिंगौलमा भित्री पिचबाटो १० फिटमाथि बाटो भएको १४ लाख ५० हजार, १० फिटभन्दा कमको जग्गा १२ लाख, ग्राभेल सडक ११ लाख, कच्चीबाटो भएको सडक १० लाख र निजी प्लटिङको १० लाख रुपैयाँ तोकिएको छ। 

५ वर्षअघि भित्री पिचबाटो १० फिटमाथिको भएको १२ लाख रहेकोमा अरु ठाउँको यथावत् छ। बजारमा बिक्री मूल्यभन्दा सरकारी मूल्यांकन करिब आधा नै हुने गरेको छ। 

कोल्वी र सिमरामा बढ्यो, निजगढमा रोकियो
महासंघ मधेश प्रदेश संयोजक मोहन राउतले निजगढ क्षेत्रको मूल्य आकाशिँदा कारोबार घटेको बताएका छन्। पछिल्लो समय निजगढको सट्टा आसपासका नगरपालिकामा कारोबार बढेको उनको भनाइ छ। 

निजगढ क्षेत्रमा काठमाडौं–तराई द्रुतमार्गको कारण बढी ‘भ्यालु’ बढाइए पनि निजगढ विमानस्थलको कारण अन्य नगरपालिकामा कारोबार बढेको बताए। 

‘बारा जिल्लाको जितपुर सिमरा र कोल्वी नगरपालिका, बारा गढी गाउँपालिकाभित्रका क्षेत्रमा बढी कारोबार भइरहेको छ’, राउतले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सन्देशकै कारण यी ३ पालिकामा धेरैले चासो राख्ने गरेका छन्।’

राउतले निजगढमा जग्गाको मूल्य एकै पटक आकाशिँदा छेउछाउका नगरपालिकामा खरिद गर्ने ‘डाइभर्ट’ भएको बताए। कोल्वी, जितपुर सिमरामा निजगढको तुलनामा जग्गाको मूल्य कम छ।  

‘निजगढमा हल्लाले गर्दा एक पटक रेट बढ्यो त्यसपछि कारोबार घटेको छ’, उनले भने, ‘पहिला वास्तविकभन्दा हल्लाको भरमा बढी नै मूल्य बढ्यो।’

करिब ३ वर्षअघि थेगिनसक्नुको घरजग्गा कारोबार अहिले पूरै सुस्त रहेको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर लामाले बताए। 

‘पहिला १–२ वटा कम्पनीले दर्ता गरेर जग्गा प्लटिङ गरेका थिए’, लामाले नेपालखबरसँग भने, ‘अहिले व्यक्तिगतरुपमा छिटपुट कारोबार भइरहेको देखिन्छ। ठूला कारोबार भएका छैनन्।’

उनले २ वर्ष अघिसम्म घरजग्गाको माग थेगिनसक्नुको हुँदा घरजग्गाको भाउ आकाशिएको बताए। अहिले जग्गाको मूल्य बढ्ने क्रम रोकिएको छ। 

‘पहिला लगानी गरेका केहीलाई अत्यावश्यक हुँदा केही कममा बिक्री गरेको देखिए पनि भाउ घटेको छैन’, लामाले भने, ‘अहिले आर्थिक मन्दीले कारोबार घटेको हुनसक्छ।’

वडा नम्बर ५ का अध्यक्ष सूर्य बहादुर थापाले राजमार्ग छेउछाउ कारोबार बढी हुने गरे पनि भित्र धेरै नभएको सुनाए। 

‘फास्ट ट्रयाक र राजमार्गको छेउछाउमा कारोबार ठीकै छ। ४–५ किलोमिटरभित्र १–२ कठ्ठा किनेर पहाडबाट झर्ने बढी छन्’, थापाले भने। 

चालू आवको पुस महिनामा बारा जिल्लामा १२ सय ४४ वटा लिखित पारित भएका छन्। कलैया मालपोत कार्यालयबाट ८१३ वटा कारोबार हुँदा निजगढ क्षेत्र पर्ने सिमरा कार्यालयमा २०० वटा मात्रै कारोबार भएका छन्। 

आर्थिक वर्ष २०७७/०७८ को पुस महिनामा २ हजार ३३५ लिखित पारित भएका थिए। निजगढ क्षेत्रमा लगानीको प्रतिफल आउन ठूला लगानीकर्तालाई ढिलाइ भइरहे पनि सस्तोमा जग्गा बिक्री गर्न धेरै नरहेको व्यवसायी बताउँछन्। 

‘द्रुतमार्ग बनिरहेको छ। ३–४ वर्षमा सडक पूरा हुँदा त त्यसक्षेत्रको महत्व फेरि बढ्ने देखेरै लगानीकर्ता निराश भएर बाहिरी हाल्ने अवस्था छैन’, राउतले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .