कारोबार


पूर्वपश्चिम रेलमार्गको बागमती पुलमा गुड्छन् टिपर, रेल कहिले? (भिडिओ)

पूर्वपश्चिम रेलमार्गको बागमती पुलमा गुड्छन् टिपर, रेल कहिले? (भिडिओ)

सर्लाहीको बागमतीस्थित विद्युतीय रेलमार्गको पुलमा गुडिरहेको टिपर


जनार्दन पोखरेल
मंसिर ८, २०८० शुक्रबार १५:३४, सर्लाही

पूर्वपश्चिम राजमार्गमा भएर यात्रा गर्दा अहिले सर्लाही र रौतहटको सीमा बागमती नदीको पुलबाट दक्षिणतर्फ अर्को आकर्षक पुल देखिन्छ।

पूर्वपश्चिम राजमार्गबाट झण्डै अढाई किमिनजिकै निर्मित यो पुल भएर अचेल टिपरसहितका कतिपय सवारीसाधनसमेत गुडिरहेका भेटिन्छन्।

छँदाखाँदाको बागमतीको पुलनजिकै किन अर्को पुल निर्माण गर्नुपरेको होला? जिज्ञासा लाग्नसक्छ। 

अझ त्यो पुलबाट सवारीसाधनसमेत गुडेको देख्नेलाई ‘बागमती नदीको पुल जीर्ण भएर नयाँ पुल निर्माण गरिएको होला’ भन्नेसमेत लाग्नसक्छ। 

तर, नझुक्किनुहोला, यो पुल बस, ट्रकजस्ता सवारीसाधनका लागि निर्माण गरिएको होइन।

यो पुल द्रूत गतिको मेची–महाकाली विद्युतीय रेल सञ्चालनका लागि बनाइएको हो। 

मेची महाकाली विद्युतीय रेल आयोजनाअन्तर्गत बर्दिबास (महोत्तरी) –चोचा (बारा) खण्डमा यतिबेला पुल, कल्भर्ट र ट्रयाक बेल्ट निर्माण तीव्र गतिमा भइरहेको छ। 

७० किलोमिटर लामो बर्दिबास–चोचा खण्डमा साना–ठूला गरी १५ वटा पुल पर्छन्। जसमध्ये १४ वटा पुल निर्माण भइसकेको रेल योजना कार्यालय (लालबन्दी) सर्लाहीका इन्जिनियर सन्तोष कर्णले जानकारी दिए।

‘अब महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा पर्ने एउटा पुल मात्रै निर्माण गर्न बाँकी छ,’ कर्णले नेपालखबरसँग भने, ‘अरु १४ वटा पुलको निर्माण पूरा भइसकेको छ।’ 

बर्दिबास–चोचा खण्डको ५० किमि रेलमार्गमध्ये ४२ किमिमा ट्रयाक बेल्टसमेत तयार भइसकेको उनले बताए। 

यस खण्डमा सबैभन्दा लामो पुल सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीकै हो। जुन पुलको निर्माण भर्खरै सकिएको छ।

करिब पौने दुई अर्बको लागतमा निर्माण पूरा भएको यो पुलको लम्बाइ ७३५ मिटर छ। जसमा २१ वटा पिलर छन् भने पुलको स्पान साढे ४ मिटरको छ। 

सुरुमा एक अर्ब २० करोड रुपैयाँमा रसुवा कन्ट्रक्सनले यो पुल निर्माणको ठेक्का लिएको थियो। तर, पछि लागत बढेर पौने दुई अर्ब पुगेको कर्णले बताए। 

पुल निर्माण पूरा भए पनि त्यसमाथि रेल कहिलेबाट गुड्छ, ठेगान छैन। तर, आज भोलि फाट्टफुट्ट रुपमा मालबाहक टिपर, ट्रयाक्टर, मोटरसाइकल भने यो पुल भएर गुड्न थालेका छन्। पैदल यात्री र घाँसदाउरा गर्ने स्थानीयलाई पनि आवतजावत गर्न सजिलो भएको छ। 

मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाअन्तर्गत सबैभन्दा द्रूत गतिमा बर्दिबास–चोचा खण्डमा मात्रै काम भइरहेको रेल योजना कार्यालय सर्लाहीले जनाएको छ।

‘पुल त बन्यो, अब त्यो पुलमाथि विद्युतीय रेल कहिले गुड्ला?’

नेपालखबरको जिज्ञासामा रेल योजना कार्यालय सर्लाहीका इन्जिनियर कर्णले भने, ‘त्यो अहिले भन्न सकिन्न। अहिलेसम्म रेल मार्गको पुल, कल्भर्ट र ट्रयाक बेल्टको काम मात्रै भइरहेको छ। त्यसमा लिक बनाउने, स्टेसन बनाउने कामको जिम्मा हामीलाई दिइएको छैन। त्यसको ठेक्का नै लागेको छैन।’

मुआब्जा विवाद नभएका र जंगल क्षेत्रमा नपर्ने ठाउँमा पुल, कल्भर्ट र ट्रयाक बेल्टको काम पूरा भएको उनले बताए। 

‘ठेक्का लागेको ५० किमीमध्ये अब आठ किमी मात्रै ट्रयाक तयार गर्न बाँकी छ,’ कर्णले भने, ‘कतिपय ऐलानी जमिनमा मुआब्जा विवाद छ, केही विवाद सागरनाथ परियोजना क्षेत्रमा छ।’

भिडिओ

रौटहटमा चार किमी, सर्लाहीको सागरनाथ वन विकास परियोजना क्षेत्र र महोत्तरीको बर्दिबास बजार क्षेत्रमा गरेर आठ किमी रेल मार्गमा ट्रयाक निर्माणको काम बाँकी रहेको उनले बताए।

‘त्यसमध्ये पनि धेरै ठाउँमा विवाद सुल्झिसकेको छ। यही आर्थिक वर्षभित्रमा सबै विवाद सुल्झाएर हामी हाम्रो जिम्माको काम पूरा गर्ने छौँ,’ उनले भने।

मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास सिमरा खण्डको ७० किमीमध्ये २० किमी क्षेत्रमा रेल्वे ट्रयाक बेल्ट निर्माणको लागि सरकारले अझै बजेट नछुट्याएको रेल्वे विभागका सिनियर डिभिजन इन्जिनियर सञ्जय पन्थीले बताए। 

‘हामीले सरकारलाई पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई तत्कालको लागि जनकपुर वीरगन्ज खण्डमा मात्रै भए पनि सञ्चालन गर्नुपर्छ भनेर सरकारलाई सुझाव दिएका छौँ,’ पन्थीले नेपालखबरसँग भने। 

रेल विभागका अनुसार पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९४५ किलोमिटर लामो हुनेछ। यो रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३५ देखि ४० करोड रुपैयाँ खर्च हुने अनुमान विभागले गरेको छ। 

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणलाई सरकारले ७ खण्डमा विभाजन गरेर अघि बढाएको छ। 

हाल चालु अवस्थामा रहेको जयनगर–जनकपुर बिजलपुरा रेलमार्गलाई बर्दिबासमा पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोड्ने रेल विभागको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .