ad ad

कारोबार


चिनी उद्योगबीच तुरुन्त भुक्तानी दिँदै उखु तान्ने प्रतिस्पर्धा, हेपिएका किसानलाई भयो फाइदा

एभरेष्टले पठायो किसानको खातामा एक अर्ब, इन्दु शंकरले दियो डेढ महिनामै ८३ करोड भुक्तानी
चिनी उद्योगबीच तुरुन्त भुक्तानी दिँदै उखु तान्ने प्रतिस्पर्धा, हेपिएका किसानलाई भयो फाइदा

महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज


जनार्दन पोखरेल
माघ २६, २०८० शुक्रबार ९:२१, काठमाडौँ

क्षमताअनुसार उखु पाउन छाडेपछि सर्लाही र महोत्तरीका चिनी उद्योगले किसानलाई तुरुन्तै भुक्तानी दिएर उखु तान्ने होडबाजी सुरु गरेका छन्। 

सर्लाहीको इन्दु शंकर चिनी उद्योग र महोत्तरीको एभरेष्ट चिनी उद्योगले किसानलाई क्रसिङ भएको उखुको एक साताभित्रै भुक्तानी दिन थालेका हुन्। देशकै ठूला यी दुई उद्योगको उखु तान्ने होडबाजीको कारण किसानले भने अपेक्षा गरेभन्दा छिटो भुक्तानी पाउने अवस्था सिर्जना भएको छ।

देशका अन्य चिनी उद्योगको दाँजोमा एभरेष्ट र इन्दु शंकरले विगतमा पनि किसानलाई ढिलो/चाँडो भुक्तानी दिने गरेका थिए। यी दुई उद्योगसँग किसानलाई तिर्नुपर्ने विगतको बक्यौता छैन। त्यति हुँदा हुँदै पनि गत वर्षसम्म यी दुई उद्योगले पनि किसानलाई उखुको भुक्तानी दिन एक महिनाभन्दा लामो सयम लगाउँदै आएका थिए। 

‘अब विगतमा जस्तो किसानको भुक्तानी एक/डेढ महिना रोक्ने अवस्था रहेन,’ महोत्तरीको रामनगरमा रहेको देशकै सबैभन्दा ठूलो एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिजका उखु प्रवन्धक सुरेन्द्र शुक्लाले नेपालखबरसँग भने, ‘हामीले किसानलाई काँटा भएको पाँच दिनमै उखुकाे भुक्तानी दिन थालेका छौँ। यसो नगर्ने हो भने अर्को उद्योगले उखु फुत्काउँछ।’ 

गत वर्ष पनि सिजनको अन्तिमतिर यी दुई उद्योगले किसानलाई एक साताभित्रै भुक्तानी दिएर उखु तानातान गरेका थिए। तर, यस वर्ष यी दुई उद्योगले सिजनको सुरुबाटै किसानलाई भुक्तानी नरोक्ने नीति लिएका हुन्।

तीन/चार वर्षअघिसम्म उद्योगहरुले क्रसिड भएको उखुको भुक्तानी ६ महिनासम्म नदिँदा किसानले आन्दोलन गर्नुपर्ने अवस्था थियो। अझै पनि तराई/मधेशका कतिपय चिनी उद्योगले किसानको वर्षौंअघिको भुक्तानी दिएका छैनन्। भुक्तानी विवादमा परेपछि कतिपय चिनी उद्योग बन्द पनि भइसकेका छन्। 

उत्पादन लागत अनुसार उखुको मूल्य नपाउने र तोकिएकै मूल्य पनि समयमै नपाउने समस्याकाे चक्रमा परेका किसानले उखु खेती मास्दै गएपछि जेनतेन चलिरहेका चिनी उद्योगले पनि क्षमताअनुसार उखु क्रसिङ गर्न पाएका छैनन्। 

क्षमताअनुसार उखु क्रसिङ गर्न नपाउने समस्या वर्षेनी बढ्दै गएको छ। जसको कारण उद्योगहरुबीच एक अर्काको एरियाको उखु तान्ने अस्वस्थ प्रतिस्पर्धा चल्न थालेकाे छ। जसको फाइदा पछिल्लो समय किसानले उठाउन थालेका छन्। 

एभरेष्टका उखु प्रवन्धक शुक्लाले तुरुन्तै भुक्तानी नदिए किसानले अर्को उद्योगलाई उखु दिनसक्ने भएकाले तुरुन्तै भुक्तानी दिनुपर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए।  

‘हामीले यस सिजनमा क्रसिङ गरेको उखुको झण्डै एक अर्ब रुपैयाँ किसानलाई भुक्तानी गरिसकेका छौँ,’ शुक्लाले भने, ‘यो माघको २० गतेसम्मको सबै भुक्तानी किसानको खातामा गइसकेको छ। त्यसरी भुक्तानी नगर्ने हो भने हामीले लक्ष्य अनुसार उखु पेल्न पाउँदैनौँ।’

यस वर्ष सरकारले उखुको मूल्य (सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित) ६३५ रुपैयाँ निर्धारण गरेको छ। सरकारले दिने अनुदानको ७० रुपैयाँ किसानले कहिले पाउँछन्, ठेगान छैन। गत वर्ष बेचेको उखुको अनुदान रकम किसानले गएको मंसिर अन्तिममा मात्रै पाएका थिए। 

सरकारले अनुदान रकम समयमै नदिए पनि चिनी उद्योगहरुले भने किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५६५ रुपैयाँ भने तुरुन्तै दिन थालेका छन्। जसले किसानलाई ठूलाे राहत भएकाे छ।

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले पनि किसानलाई एक सातामै उखुको भुक्तानी गर्न थालेको छ। 

‘हामीले किसानको खातामा एक सातामै सबै भुक्तानी पठाउँन थालेका छौँ,’ इन्दु शंकर चिनी उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर नेपालले भने, ‘आजसम्मको रेकर्डअनुसार हामीले यस सिजनमा किसानलाई ८२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छौँ।’

गएको पुस ६ गतेबाट सञ्चालनमा आएको इन्दु शंकरले बिहीबार बिहानसम्मको रेकर्ड अनुसार १७ लाख ९६ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ। यस वर्ष इन्दु शंकरले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ। 

‘तर, यस वर्ष लक्ष्य अनुसार उखु क्रसिङ गर्न चुनौति छ,’ नेपालले भने, ‘त्यही भएर हामीले अहिले किसानको भुक्तानी रोक्ने अवस्था छैन।’

उनले मधेसमा उखु खेती घटेकाले चिनी उद्योगबीच उखु तान्न अस्वस्थ प्रतिस्पर्धा चलेको स्वीकार गरे।

‘हाम्रो उद्योगलाई क्षमताअनुसार चलाउन बाहिरी जिल्लाबाट उखु ल्याउनु पर्ने अवस्था थिएन, सर्लाहीकै उखुले हामीलाई पुग्ने थियो,’ नेपालले भने, ‘तर, महोत्तरी र रौतहटका उद्योगले सर्लाहीको उखु तान्ने अस्वस्थ प्रतिस्पर्धा गरेपछि हामीलाई पनि चुनौति सिर्जना भएको छ।’

उनले इन्दु शंकरले उखुको उत्पादकत्व वृद्धिको लागि अनुदान दिएका सर्लाहीका किसानको उखु पनि बाहिरी जिल्लाका उद्योगले लैजान थालेको गुनासो गरे।

‘उखु खेतीमा किसानलाई प्रोत्साहन गर्न र उत्पादकत्व वृद्धि गर्न हामीले सर्लाहीका किसानलाई उखुको बिउबिजन, कृषि उपकरण, प्रांगारिक मल, भिटामिन, विषादी जस्ता बस्तुमा सहयोग गर्दै आएका छौँ,’ नेपालले भने, ‘हामीले त्यसरी अनुदान दिएर उत्पादन भएको उखु पनि बाहिर जाँदा हामीलाई दुःख लाग्छ।’

महोत्तरीको एभरेष्ट चिनी उद्योगले चालु सिजनमा सर्लाहीबाट साढे सात लाख क्विन्टल उखु लगिसकेको छ। उसले अझै सर्लाहीबाट पाँच लाख क्विन्टल भन्दा धेरै उखु तान्ने लक्ष्य राखेको छ। गत वर्ष पछि एभरेष्टले सर्लाहीबाट १२ लाख क्विन्टल भन्दा धेरै उखु लगेको थियो।

‘हामीले आजसम्म क्रसिङ गरेको १८ लाख ३६ हजार क्विन्टल उखुमध्ये महोत्तरीको उखु १० लाख क्विन्टल मात्रै हो,’ एभरेष्टका उखु प्रवन्धक शुक्लाले भने, ‘बाँकी उखु हामीले सर्लाही, धनुषा, रौतहट, बारा लगायतका जिल्लाबाट ल्याएका हौँ। त्यसरी उखु नल्याउने हो भने हाम्रो उद्योगले क्षमताअनुसार उखु पेल्न पाउँदैन।’

दैनिक ६० हजार क्विन्टल उखु क्रसिङ क्षमता भएको एभरेष्टले यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो। तर, मध्यसिजन चल्दै गर्दा यस वर्ष लक्ष्य भन्दा झण्डै पाँच लाख क्विन्टल उखु बढी क्रसिङ गर्ने लक्ष्य एभरेस्टले बनाएको शुक्लाले सुनाए। 

‘हाम्रो उद्योगले उखुको भुक्तानी तुरुन्तलै क्लियर गर्न थालेपछि किसानमा उत्साह पैदा भएको छ। पहिला यस्तो अवस्था थिएन। जसको कारण हाम्रो उद्योगमा बाहिरबाट अहिले धेरै उखु आइरहेको छ। यस वर्ष हाम्राे लक्ष्य ३० लाखबाट बढेर ३५ लाख क्विन्टल भएकाे छ,’ उनले भने। 

एभरेष्टले यस वर्ष महोत्तरीबाट २० लाख, सर्लाहीबाट १२ लाख, रौतहट, बारा र धनुषाबाट गरेर ३ लाख क्विन्टल उखु उद्योगमा भित्र्याउने लक्ष्य राखेको छ। एभरेष्टले बाहिरी जिल्लाबाट उखु नतान्ने हो भने महोत्तरीको मात्रै उत्पादनले क्षमताको आधा पनि उखु क्रसिङ गर्न पाउँदैन। 

०७०–०७१ को क्रसिङ सिजनमा ५८ लाख क्विन्टल उखु पेलेको एभरेष्टले गत वर्ष मुस्किलले २९ लाख क्विन्टल उखु क्रसिड गरेको थियो।

हरिवनस्थित इन्दु शंकर चिनी उद्योगका प्रमुख उखु प्रवन्धक योगनारायण रजकले एभरेष्टले सर्लाहीबाट अस्वस्थ प्रतिस्पर्धा गरेर आफ्नो उद्योगमा उखु लगिरहेको दाबी गरे।

‘एभरेष्टले सर्लाहीका ४० ठाउँमा उखु खरिद केन्द्र राखेको छ। किसानलाई विभिन्न खाले भ्रममा पारेर अस्वस्थ ढंगले उखु उता लगिएको छ,’ उनले भने, ‘हामीले उत्पाककत्व वृद्धिको लागि सर्लाहीका किसानलाई अनुदान दिएका छौँ। हामीले त्यसरी अनुदान दिएर उत्पादन भएको हाम्रो क्षेत्रको उखु पनि एभरेष्टले धेरै लगिसक्यो।’

देशकै सबैभन्दा धेरै उखु उत्पादन हुने सर्लाहीमा यसवर्ष ५५ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान उद्योगीहरुले गरेका छन्।

‘हामीले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका छौँ,’ रजकले भने,  ‘तर, यही ढंगले सर्लाहीको उखु बाहिरका उद्योगमा जाने हो भने हामीले पनि लक्ष्य अनुसार उखु पेल्न नपाउने अवस्था सिर्जना हुन सक्छ।’ 

०७४–०७५ को क्रसिङ सिजनमा झन्डै ४१ लाख क्विन्टल उखु पेलेको इन्दु शंकरले गत वर्ष मुस्किलले करिब २८ लाख क्विन्टल मात्रै उखु पेलेको थियो। 

८ १० वर्षअघिसम्म मंसिरदेखि वैशाखसम्म चल्ने गरेका चिनी उद्योग दुई तीन वर्षयता फागुनमै बन्द हुन थालेका छन्।

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले क्षमताअनुसार उखु पाउन छाडेपछि सर्लाही र महोत्तरीका चिनी उद्योगले उखुको भुक्तानी किसानलाई समयमै दिन थालेको बताए। 

‘विगतका वर्ष उद्योगहरुले किसानलाई भुक्तानी नदिएर धेरै महिनासम्म झुलाउने गरेका थिए। मूल्य पनि उचित दिएनन्। जसको कारण तराई मधेसका धेरै किसानले उखु खेती मास्दै गए,’ उप्रेतीले नेपालखबरसँग भने, ‘यसैगरी उखु खेती मासिँदै जाने हो भने अहिले चलिरहेका चिनी उद्योगहरु बन्द हुने अवस्था सिर्जना हुन्छ। यो यथार्थ बुझेपछि उद्योगीले अहिले किसानलाई हौस्याउन थालेका छन्। क्रसिङ भएको उखुको तुरुन्तै भुक्तानी दिनु त्यसकै उपज हो।’

तुरुन्तै भुक्तानी पाउने भएपछि उखु खेतीमा लागेका किसान पनि उत्साहित बनेका उनले बताए। 

‘यसले उखु खेती मासेका किसान फेरि उखु खेतीमा फर्किने सम्भावना बढ्छ,’ उप्रेतीले भने, ‘त्यसको लागि तुरुन्तै भुक्तानीसँगै उत्पादन लागत अनुसार उखुको मूल्य पनि बृद्धि हनुपर्छ।’ 

उनले यस वर्ष सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ६३५ रुपैयाँ मूल्य उखुको उत्पादन लागत र चिनीको बिक्री मूल्य अनुसार उचित नभएको बताए। 

‘उद्योगीहरु अहिले झण्डै एक सय रुपैयाँ प्रतिकिलोका दरले चिनी बेचिरेका छन्,’ चिनीको बिक्री मूल्यअनुसार यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल साढे सात सय रुपैयाँ हुनुपर्ने थियो। तर, सरकार र उद्योगीको मिलेमतोमा यस वर्ष पनि किसानलाई ठग्ने काम भएको छ।’ 

उखु खेतीमा लागत बढेको छ। मलखाद, बिउबिजन, जोताइ, डुवानी, कामदारको ज्याला आकाशिएको छ। उखुको उत्पादन लागत र चिनीको बिक्री मूल्यको अनुपातमा उखुको मूल्य निर्धारण हुनपर्ने किसानको मागलाई भने सरकारले सधैँ बेवास्ता गर्दै आएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि सरकार र चिनी उद्योगीबीचको मिलेमतोमा उखुको मूल्यमा ठग्ने काम भएको आरोप किसानको छ।

गत वर्ष किसानले उखुको समर्थन मूल्य प्रतिक्विन्टल (७० रुपैयाँ सरकारी अनुदानसहित) ६१० रुपैयाँ पाएका थिए। आर्थिक वर्ष २०७८/०८० मा उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ थियो। 

गत वर्ष भन्दा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ वृद्धि भए पनि उत्पादन लागत र चिनीको बिक्री मूल्यका आधारमा उखुको मूल्य कम भएको गुनासो किसानले गर्दै आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .