ad ad

कारोबार


मान्छेको मस्तिष्कमा न्युरालिंकले राखेको चिप, जसले सोचेकै भरमा चलाउँछ कम्प्युटरको कर्सर

मान्छेको मस्तिष्कमा न्युरालिंकले राखेको चिप, जसले सोचेकै भरमा चलाउँछ कम्प्युटरको कर्सर

मस्तिष्कमा जडित चिपको सहायतामा मारियो कार्ट खेलिरहेका अर्बा।


नेपालखबर
चैत १८, २०८० आइतबार १४:५८, काठमाडौँ

अर्बपति इलोन मस्कको न्युरल प्रविधि कम्पनी न्युरालिंकले आफ्नो पहिलो ब्रेन–चिप राखिएका एक व्यक्तिबारे १० दिनअघि लाइभस्ट्रिममार्फत एक खुलासा गर्‍यो।

डाइभिङ दुर्घटनामा प्यारालाइसिस भएका २९ वर्षीय ती व्यक्ति कम्पनीको ब्रेन चिप प्रयोग गर्ने पहिलो मानव भएको कम्पनीले बताएको थियो। ती व्यक्ति थिए नोल्यान्ड अर्बा।

मस्ककै सामाजिक सञ्जाल कम्पनी एक्सको लाइभस्ट्रिममा नोल्यान्डले आफ्नो मस्तिष्कमा राखिएको उक्त चिप पूर्ण नभए पनि आफ्नो जीवनमा धेरै सुधार ल्याउन सफल भएको बताए। चिप राखिएपछि उनले परिवारको सहयोगविना नै घण्टौँसम्म आफूले भिडिओ गेम खेल्न सकेको बताएका थिए।

‘यो आफैँमा पूर्ण त छैन’, उनले भने, ‘केही समस्या नभएको होइन, गर्नुपर्ने काम अझै धेरै छन् तर यसले मेरो जीवन बदलिएको छ।’ 

न्युरालिंकका एक इन्जिनियर ब्लिस चापम्यान पनि नोल्यान्डसँगै लाइभमा आएका थिए।

सन् २०१६ मा स्थापना भएयता कम्पनीले मानिसहरुलाई आफ्नो मस्तिष्कले कम्प्युटर नियन्त्रण गर्न सक्ने बनाउन चिप आरोपणको काम गरिरहेको छ।

जनावरहरुमा धेरै वर्षको परीक्षणपछि इलोन मस्कले पहिलोपटक गत जनवरीमा न्युरालिंकले मानिसमा चिप प्रत्यारोपण गरेको सार्वजनिक गरेका थिए।

जनावर (बाँदर)मा परीक्षणको क्रममा अत्याचार भएको भन्दै यसको आलोचना समेत भएको थियो। 

मस्कले त्यतिबेला परीक्षणका दौडान कुनै पनि बाँदरको मृत्यु नभएको भन्दै एक्समा पोस्ट गरेपछि चिकित्सा क्षेत्रबाट आलोचना भएको थियो। 

प्रत्यारोपणपछि यसरी खेले कम्प्युटरमा गेम 
उक्त लाइभमा अर्बा एक विशेष किसिमको कुर्सीमा बसेका थिए। त्यहाँ बस्दा उनको हात कुर्सीमै थियो भने कम्प्युटरमा उनी बुद्धिचाल (चेस) खेलिरहेको देखिएको थियो। 

‘म चेस खेल्न रुचाउँछु, तपाईंहरु सबैले मलाई सक्रिया गराउनुभएको छ’, अर्बाको प्रतिक्रिया थियो, ‘जुन कुरा मैले अहिले जसरी केही वर्षयता गर्न पाएको थिइनँ।’

पहिले माउसको प्रयोग गरेर खेल्नुपर्ने भए पनि अहिले मस्तिष्कबाटै पाएकोमा उनी खुसी देखिएका थिए। 

एक डरलाग्दो डाइभिङका क्रममा उनको मेरुदण्ड भाँचिएको थियो। ८ वर्षअघिको उक्त घटना निकै डरलाग्दो रहेको उनको भनाइ छ। 

त्योसँगै अर्बालाई प्यारालाइसिस भयो र उनका पाखुरामुनिका भाग चल्न छाडेको थियो। त्यसले गर्दा उनी आफ्नो रुचिको भिडियो गेम ‘सिभिलाइजेसन ६’ खेल्नबाट वञ्चित भएका थिए। 

उनी एकपटकमा थोरै समय मात्र परिवारको सहयोगमा खेल्न सक्थे। 

‘अब त त्यो गेम खेल्न लगभग छाडिसकेको थिएँ’, अर्बाले भने। 

किनभने यो एउटा ठूलो गेम हो र यसलाई खेल्न धेरै लामो समय शरीरलाई स्थिर राख्नुपर्छ। 

‘धेरै कुरामा मैले चिन्तित हुनुपर्छ, त्यो दबाब त्यसरी झेल्न गाह्रो हुन्छ। त्यही भएर चाहेजसरी खेल्न सकिरहेको थिइनँ’, उनले लाइभमा भनेका छन्। 

तर अब चिपसँगै अर्बा धेरै घण्टासम्म उक्त भिडियो गेम खेल्न सक्ने भएका छन्। त्यो पनि ओछ्यानमा सुतेर नै। 

अर्बाका अनुसार यसका लागि सबैभन्दा ठूलो सीमाचाहिँ लामो समय भिडियो गेम खेलेपछि त्यसलाई चार्ज गर्नुपर्छ। 

उनले आफूले खेलेको प्रक्रियाबारे पनि बताए। उनका अनुसार कम्प्युटर कर्सरलाई चलाउन उदाहरणका लागि उनले कर्सर चलिरहेको कल्पना गर्नुपर्ने हुन्छ। 

‘स्टार्स वार्स’ फिल्महरुको तुलनामा कर्सरमा बल प्रयोग गरिएजस्तै भएको अर्बाको प्रतिक्रिया छ।  (बिजनेस इन्साइडरबाट)

(चिपबारे : न्युरालिंकका अनुसार कम्पनीले मान्छेको मस्तिष्कमा राखेको चिपमा ६४ वटा मुलायम पोलिमर धागाहरु रहन्छन्, जसले मस्तिष्कका गतिविधि रेकर्ड गर्न १ हजार २४ क्षेत्र उपलब्ध गराउँछ। यो भनेको ब्ल्याकरक न्युरोटेकको बीसीआईहरुभन्दा धेरै र एकमात्र अन्य एकल–न्युरोन रेकर्डिङ प्रणाली हो जुन लामो समयसम्मका लागि मानव मस्तिष्कमा राखिएको छ।)  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .