निर्वाचन विशेष


सात दिन बित्यो, गाईघाटमा न फेरि मतदान न मतगणना

निर्वाचन आयोगसँग दलहरु रुष्ट, एमालेको प्रदर्शन
सात दिन बित्यो, गाईघाटमा न फेरि मतदान न मतगणना

फाइल फोटो


उजिर कार्की
जेठ ६, २०७९ शुक्रबार १०:५८, काठमाडौँ

देशभरका अधिकांश पालिकामा नयाँ प्रतिनिधि आउन थालेका छन्। कतिपयमा मतगणनाको चटारो छ। 

वैशाख ३० गते मतदान रोकिएका पालिकाका केन्द्रमा पनि पुनःचुनाव भएर धमाधम गणना भइरहेको छ। 

तर उदयपुरको त्रियुगा नगरपालिकामा न पुनःमतदानको टुंगो छ नत मतगणना नै सुरु भएको छ। 

त्यहाँ के गर्ने भन्ने यतिका दिनसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन। बरु मतदान अधिकृत नै राजीनामा दिएर हिँडेका छन्।  

चुनाव भइरहँदा ३० गते दिउँसो मुसलधारे पानी पर्यो। उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ को पुरानो गाईघाटस्थित जनप्रेमी आधारभूत विद्यालयमा मतदाताको लाइन थियो। 

केहीले त नाम दर्ता गरेर नङमा मसी लगाइसकेका थिए। तर मतदान बाँकी नै थियो। 

पानीबाट ओत लाग्न मतदाताको भागाभाग भयो। पानी परेपछि मतदान रोकियो। दिउँसो ४ः३० बजे मतदान अधिकृतले सूचना निकाले। 

सूचनामा मतदान स्थगित भएकाले पुनः मतदान यसै ठाउँमा सूचना टाँस गरिने भनिएको थियो।

यसबारे कुनै निर्णय नै नगरी मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले राजीनामा दिए। 

मुख्य निर्वाचन अधिकृतको राजीनामासँगै मतदान हुने कि भएको मतदानबाट गणना सुरु गर्ने भन्ने अन्यौल थप बढ्यो। 

मतदान र गणनाको टुंगो नलाग्दै मुख्य निर्वाचन अधिकृतले छाडेपछि निर्वाचन आयोगले जिल्ला अदालत उदयपुरकै न्यायाधीश उत्तम सिलवाललाई जिम्मेवारी दिएको छ। 

नयाँ निर्वाचन अधिकृत आएको ३ दिन हुँदा पनि उदयपुरको यो पालिकाबारे भने कुनै निर्णय हुने सकेको छैन। 

त्यो दिन ८५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। त्यसमध्ये ५ स्थानमा जेठ १ गते, ७ स्थानमा २ गते, ८ स्थानमा ३ गते, १५ स्थानमा ४ गते मतदान भइसकेको छ। 

अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने भएको छ। तर उदयपुरको यो मतदान केन्द्र र बाजुराको बूढीगंगा नगरपालिकाबारे आयोगले निर्णय गरेको छैन। 

यसलाई लिएर बिहीबार नेकपा एमालेले गाईघाटमा विरोध प्रदर्शन नै गरेको छ। 

छिटो निर्णय खोज्दै दल
मतगणना सुरु गर्ने वा पुनः मतदान गर्नेबारे छिटो निर्णय गर्न दलहरुले आग्रह गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विज्ञप्ति निकालेर तत्काल निर्णय नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छन्।   

माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त विज्ञप्ति निकालेर पुरानो गाईघाट मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीले लापरबाही गरेको बताएका छन्। 

स्थगित भएको निर्वाचन प्रक्रिया पुनः सुरु गरी मतदान गर्ने अधिकारबाट बञ्चित नगर्न उनीहरुले ध्यानाकर्षण गराएका छन्। 

यी दुई पार्टीको जोड पुनः मतदान नै हुनु पर्नेमा छ। यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल कार्कीले पनि तत्काल निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका छन्। 

रोकिएको वडामा पुनः मतदान गर्ने वा ३० गतेको मत गणना गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्न नसक्नु दुर्भाग्य भएको कांग्रेसले जनाएको छ। 

उदयपुर नै गृहजिल्ला भएका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्रियुगा नगरपालिका–१२ मा जनताले संवैधानिक अधिकार प्रयोग गरी आफ्नो मत जाहेर गरेको अवस्थामा मतगणना नगरी एक हप्तासम्म रोकिनु बेठीक भएको बताए। 

‘यसमा सम्बन्धित निकायले कुनै विवादलाई देखाई निर्णय नदिनु भनेको जनताको संवैधानिक, कानुनी र राजनीतिक अधिकारको उपहास मात्रै होइन’, उनले भनेका छन्, ‘जनअधिकार कुण्ठित गर्नु हो, यो निन्दनीय छ। यस विषयमा तत्काल उचित निर्णय दिन अनुरोध गर्दछु।’ 

उदयपुरका अन्य पालिकामा गठबन्धन गरेपनि त्रियुगामा नेपाली कांग्रेसले दुवै पदमा उम्मेदवारी दिएको छ। 

माओवादी र समाजवादीले तालमेल गरेका छन्। प्रमुखमा नेकपा एमालेबाट भागवत राउत, कांग्रेसका वसन्तकुमार बस्नेत, निवर्तमान नगर प्रमुखसमेत रहेका नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी र स्वतन्त्र चित्रकुमार कुमार कार्कीले उम्मेदवारी दिएका छन्। 

उपमेयरमा एमालेबाट महेश्वरी राई, कांग्रेसबाट सरिता राई, माओवादीबाट गीता खड्का कार्की र राप्रपाका रामवति चौधरीले उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .