निर्वाचन विशेष


चुनावका लागि प्रहरीले सेनासँग माग्यो दुई हजार पेस्तोल, पालिकामा पुग्न थाल्यो सेना

चुनावका लागि प्रहरीले सेनासँग माग्यो दुई हजार पेस्तोल, पालिकामा पुग्न थाल्यो सेना

उजिर कार्की
बैशाख २५, २०७९ आइतबार २२:८, काठमाडौँ

निर्वाचनको तीन दिनअघि सबै मतदानस्थलमा कर्मचारी र मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइसकिने भएको छ। २७ गते बेलुका पालिकाबाट मतपत्र लिएर निर्वाचन अधिकृत मतदानस्थलमा पुगिसक्ने छन्।

त्यही अनुसार सुरक्षा व्यवस्था तयार गरिएको गृह मन्त्रालयले जनाएको छ। अहिले नै पालिकामा थप सुरक्षाकर्मी परिचालन गरिसकिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी पनि सबै पालिकामा पुगिसकेका छन्। निर्वाचन हुनु एक साता पहिलेबाट सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेका हुन्। 

उनीहरु २७ गतेदेखि भने हरेक मतदान केन्द्रमा पुग्नेछन्। यसअघि समूहमा तालिम गरिरहेका म्यादी प्रहरीलाई पनि फिल्डमा खटाउन थालिएको छ। उनीहरुलाई पनि प्रहरीसँगै ड्युटीमा परिचालन गरिएको छ। 

अपुग हतियार सेनाले दिने 
निर्वाचनमा खटिने जुनियर अधिकृतका लागि हतियार अपुग भएको छ। 

नेपाल प्रहरीमा हालै थपिएका करिब १२ सय वरिष्ठ सइसहित सइ र असइ गरी करिब ६ हजार २ सय जुनियर अधिकृत छन्। तर प्रहरीसँग साना हतियार अपुग भएकाले मगाउनु परेको प्रधान कार्यालयले जनाएको छ। 

नेपाल प्रहरीले अपुग हतियार नेपाली सेनासँग माग गरेको छ। जुनियर अधिकृतका लागि २ हजारभन्दा बढी पेस्तोल सेनासँग माग गरेको हो। त्योमध्ये आइतबार करिब ६ सय पेस्तोल सेनाले उपलब्ध गराएको छ। 

हरेक मतदानस्थलमा जुनियर अधिकृत रहनेछन्। उनीहरुका लागि पेस्तोल अपुग भएपछि चुनाव सकिएपछि फिर्ता गर्ने गरी सेनासँग माग गरिएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ। 

मतदानस्थलमा वरिष्ठ सइ, सइ र असइको कमान्डमा प्रहरी खटिने छन्। उनीहरुको साथमा पेस्तोल हुनेछ। अन्य हतियारसहितका जवान र हवल्दार पनि हरेक मतदानस्थलमा रहनेछन्। 

काठमाडौँका प्रहरी बाहिरी जिल्ला पठाइयो 
प्रहरी प्रधान कार्यालयसहित तालिम केन्द्र तथा अन्य नियमित काममा खटिएका प्रहरीलाई पनि बाहिरी जिल्लामा पठाइएको छ। उपत्यकाका जिल्लासहित तालिम केन्द्र, गण, मेट्रो लगायत युनिटबाट प्रहरी बाहिर जिल्लामा थप गरिएको हो। उपत्यकाका तीन जिल्लाबाट करिब १ हजार प्रहरी अन्यत्र पठाइएको छ। 

सामान्य समयमा उपत्यकामा बढी प्रहरी परिचालन गरिने भए पनि निर्वाचनमा म्यादी थप भएकाले अन्य प्रहरी अन्त पठाइएको हो। काठमाडौं प्रहरी परिसरबाट मात्रै ६ सय १० जना प्रहरी बाहिर खटाइएको छ। ललितपुरबाट २३८ जना र भक्तपुरबाट १४८ जना प्रहरीलाई अन्यत्र पठाइएको छ। 

यस्तै उपत्यकाका ११ सय ट्राफिक प्रहरी निर्वाचनका लागि अन्यत्र परिचालन गरिएको छ। काठमाडौंमा अहिले ट्राफिकको काममा पनि म्यादी खटाइएको छ। २७ गतेसम्म म्यादीलाई प्रहरीका नियमित काममा पनि सहयोगीको रुपमा खटाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

निर्वाचन नजिकिँदै जाँदा काठमाडौँमा चेक प्वाइन्ट बढाइएको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। 

‘निर्वाचन सुरक्षालाई ध्यान दिँदै चेक प्वाइन्टहरु थप गरेका छौँ। गस्ती पनि नियमितभन्दा बढाइएको छ। यो थपिँदै जान्छ,’ एसपी मैनालीले भने। 

काठमाडौंमा पुरुष म्यादी प्रहरी आलोपालो रातदिन ड्युटीमा र महिला म्यादी दिउँसो मात्रै ड्युटीमा छन्। २७ गतेबाट भने म्यादीले पनि पुरै ड्युटी गर्नेछन्।

काठमाडौंमा म्यादी प्रहरी र नेपाल प्रहरी गरी ५५ सय परिचालन गरिनेछ। काठमाडौंमा ३२० मतदानस्थलमा ७५९ मतदान केन्द्र रहनेछन्। हरेक मतदानस्थलमा कम्तीमा म्यादीसहित ९ जना प्रहरी रहनेछन्। 

एकभन्दा बढी मतदानकेन्द्र रहेका स्थलमा सुरक्षाकर्मीको संख्या थपिनेछ। यस्तै हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि मोबाइल गस्ती गर्नेछन्। गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाली सेनाले पनि हरेक पालिकामै पुगेर सुरक्षा गस्ती गर्नेछ। 

बाहिरी सुरक्षा र आपतकालीन अवस्थामा ३० मिनेट भित्रमा पुग्ने गरी सेना तैनाथ रहनेछ। विकट स्थानका लागि एक साता अघिबाटै हेलिकप्टरसहितको टोली तैनाथ गरिएको छ। 

ललितपुरमा थपिए डीएसपी
उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा सुरक्षा खतरा बढी रहेको आकलन गरिएको छ। यसअघिका चुनाव र भौगोलिक विकटताका कारण त्यहाँ हरेक पालिकामा डीएसीको कमान्डमा प्रहरी परिचालन हुने भएका हुन्। 

जिल्लामा अपुग भएका डीएसपी उपत्यका प्रहरी कार्यालयबाट मगाइएको छ। यहाँ धेरै भएका जवान र हवल्दार अन्यत्र पठाएर डीएसपीसहित जुनियर अधिकृतहरु मगाइएको छ। 

अहिले सबै पालिकामा डीएसपीको कमान्डमा टोली खटिएको छ। पालिकामा रहेर कमान्ड तथा संयोजन डीएसपीले गर्नेछन्। मोबाइल टोलीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रहने ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

ललितपुरका लागि ११२५ जना म्यादी भर्ना गरिएको थियो। म्यादीसहित डीएसपीको कमान्डमा शनिबारदेखि नै सबै पालिकामा प्रहरी परिचालन गरिसकिएको छ। 

सबै गाउँपालिकामा प्रहरीका ३ वटा र सशस्त्र प्रहरीका २ वटा मोबाइल टोली रहनेछन्। नगरपालिकामा २ वटा मोबाइल टोली प्रहरीका र ३ वटा सशस्त्र प्रहरीका टोली गस्तीमा रहनेछन्। सबै मतदान केन्द्रलाई कभर गर्ने गरी परिचालन गरिएको एसपी शाहले बताए। 

ललितपुर महानगरपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चारचार वटा मोबाइल टोली रहनेछन्। एउटा स्ट्राइकिङ टोली हुनेछ। हरेक बुथमा हतियारसहितका प्रहरी हुनेछन्। 

हरेक पालिकामा मेजरको कमान्डमा नेपाली सेना हुनेछन्। 

भक्तपुरमा ७७० जना म्यादी प्रहरी भर्ना गरिएको छ। यहाँ चार वटा पालिका मात्रै छन्। ७७ वटा मात्रै मतदानस्थल रहेको भक्तपुरमा २१९ वटा मतदान केन्द्र तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .