निर्वाचन विशेष


उम्मेदवारी दर्तापछि ५९ आपराधिक घटना, सुरक्षा चुनौती बन्दै ठूला दलका कार्यकर्ता

१६ ठाउँमा गठबन्धनभित्रै झडप, चितवन र सर्लाहीमा विभत्स हत्या
उम्मेदवारी दर्तापछि ५९ आपराधिक घटना, सुरक्षा चुनौती बन्दै ठूला दलका कार्यकर्ता

उजिर कार्की
बैशाख २७, २०७९ मंगलबार ९:९, काठमाडौँ

स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ता भएपछि प्रमुख दलहरुकै संलग्नतामा आपराधिक गतिविधिमा वृद्धि भएको पाइएको छ। उम्मेदवारी दर्ताको दिन वैशाख ११ गतेपछि कुटपिट तथा झै–झगडाका ५९ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

यी सबै घटनामा प्रमुख दलकै कार्यकर्ताको संलग्नता देखिएको छ। र, कुटपिटमा पर्ने पनि तिनै दलका कार्यकर्ता छन्। 

सबैभन्दा धेरै घटना कर्णाली प्रदेशमा भएको छ। कर्णाली प्रदेशमा मात्रै २३ वटा घटना भएका छन्। यहाँ माओवादीका कार्यकर्ताबाट अरु दलका कार्यकर्ता कुटिएका छन्।

उपत्यकामा भने दलहरुको शान्तिपूर्ण छ। यसबीचमा उपत्यकाका तीनवटै जिल्लामा एउटा पनि घटना नभएको प्रहरीको दाबी छ। 

प्रदेश १ को भोजपुरमा उम्मेदवारमाथि आक्रमण भएको छ। यो प्रदेशका अन्य स्थानमा हिंसात्मक गतिविधि भएको प्रहरीको तथ्यांकमा छैन। 

मधेश प्रदेश र सुदूपश्चिममा पनि दलहरुले हिंसात्मक गतिविधि गरेका छन्। चुनाव प्रचारका क्रममा कार्यकर्ताबीच ठाउँठाउँमा झडप भएका छन्। कतिपय स्थानमा भने विपक्षी दलका कार्यकर्तामाथि नियोजित आक्रमण भएको पाइएको छ। 

यो अवधिमा पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्। यस्तै दलहरुका हिंसात्मक गतिविधिमा १६ जना प्रहरी पनि घाइते भएका छन्। 

६ ठाउँमा तालाबन्दी, तीन ठाउँमा चक्काजाम र १५ ठाउँमा तोडफोड भएका छन्। देशभर गठबन्धन गर्ने निर्णय गरेका दलहरुबीच नै १६ ठाउँमा विवाद देखिएको छ। कतिपय ठाउँमा गठबन्धनकै कार्यकर्ताबीच कुटाकुट भएको छ। 

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि राति अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेका हुन्। 

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाइएको प्रहरीले जनाएको छ। उनी उपचारपछि पुनः चुनावी अभियानमा संलग्न भएकी छन्। 

चितवनको भरतपुरमा अज्ञात समूहले अनिल परियारको हत्या गरेको छ। आइतबार राति धारिलो हतियार प्रयोग गरी भरतपुर १२ मिलनचोकका परियारको हत्या भएको प्रहरीले जनाएको छ। 

परियार आफ्नो कार्यकर्ता भएको बताउँदै कांग्रेसले हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले परियारको हत्या राजनीतिक कारणले गरिएको पुष्टि भइनसकेको बताए। 

परियारको धारिलो हतियार प्रहारबाट हत्या भएको बताइए पनि घटनास्थलमा दुई वटा गोलीका खोका पनि फेला परेका छन्। 

धनुषामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ। कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियारले हानेको हो। यादव गम्भीर घाइते भएका छन्। 

राति साढे १२ बजे आफ्नै घरमा सुतिरहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकेपछि बाहिर बरन्डामा सुतेका उनको बुबालाई आक्रमण गरेको प्रहरीको अनुमान छ। 

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तामाथि धनुषा र रुकुम पश्चिममा कुटपिट भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको राप्रपाले जनाएको छ। 

धनुषाको सबैला नगरपालिका ४ मा राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। 

घरदैलो गरिरहेका बेला मियामाथि एमाले कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए। तर मियाले नमानेपछि उनीसहित ७ जना परिवारका सदस्यमाथि आक्रमण भएको राप्रपाले जनाएको छ। 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा राप्रपाबाट वडाअध्यक्ष पदका उमेदवार लिलिवीर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर आक्रमण गरेको, झण्डा च्यातेर फालिदिएको र उम्मेदवारलाई लछारपछार गरिएको राप्रपाले जनाएको छ। 

१६ ठाउँमा गठबन्धनभित्रै झडप
प्रहरीका अनुसार देशका १६ ठाउँमा गठबन्धनभित्रै झगडा भएका छन्। रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुवै पक्षका १० जना घाइते भएका छन्। 

मुसीकोट नगरपालिका ८ घोरखानीमा चुनाव प्रचारका क्रममा दुई पक्षबीच झडप भएको हो। अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिममा ५ दलीय गठबन्धन विभाजित छ। नेपाली कांग्रेस र एमालेको गठबन्धन छ भने माओवादी र समाजवादीको गठबन्धन गरेर भिडेका छन्।

मकवानपुरमा पनि गठबन्धनभित्रैका दलहरुबीच विवाद देखिएको छ। बकैया गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुई जना घाइते भएका छन्। उनीहरुबीच चुनावी प्रचारकै विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ। 

बकैया गाउँपालिका–७ कत्लेखोलामा दुवै पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको हो। 

त्यहाँ कांग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादीको कत्लेखोला टोल कमिटीका अध्यक्ष विष्णु राई र राप्रपा गाउँ समिति उपाध्यक्ष हरि राई घाइते भएका छन्। नेपाली कांग्रेसका कार्यकर्ता रामबहादुर राई नेतृत्वको २०–२५ जनाको समूहले कुटपिट गरेको माओवादीको आरोप छ। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। 

बकैया गाउँपालिकामा पाँच दलीय गठबन्धनबीच उम्मेदवारी दर्तापछि मात्रै सहमति जुटेको थियो। तर त्यही विषयमा उनीहरुबीच विवाद देखिएको छ। प्रहरीका अनुसार सुदूरपश्चिममा ३, कर्णाली प्रदेशमा ३, गण्डकीमा २, बागमतीमा ४, मधेशमा १ र प्रदेश नं १ मा ३ ठाउँमा गठबन्धनबीच विवाद भएको प्रहरीको तथ्यांक छ। 

सर्लाहीमा बीभत्स अपराध
चुनावमा दलहरुबीच झडप हुने र विवाद हुने त नियमित घटनाजस्तै हुन्। तर यस पटकको चुनावमा सर्लाहीमा भने अपराधको बीभत्स रुप देखिएको छ। त्यहाँ घरदैलोको क्रममा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित ५ जनालाई विष खुवाएको पाइएको छ।

जिल्ला अस्पतालले उनीहरुलाई खुवाइएको विष भएको बताएको सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए। तर, त्यो वस्तु विष नै हो होइन, वा हो भने कुन विष हो भन्ने यकिन गर्नका लागि प्रहरीको केन्द्रीय ल्याबमा पठाइएको छ। 

ल्याबको रिपोर्टपछि यसबारेमा कारबाही अगाडि बढाउने पोखरेलले बताए। बिरामी परेकाको भने स्वास्थ्यमा सुधार हुँदै गएको छ। 

हरिवन नगरपालिका वडा नं ११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तियाकसहित ५ जना बिरामी परेका छन्। इस्तियाक र ओमप्रकाश साहलाई उपचारका लागि वीरगन्ज लगिएको छ। 

मोहम्मद रिजवान, शेख आरिफ, पूर्णिमा कार्की र दीलिप खड्काको हरिवनमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ। 

घरदैलो अभियानका क्रममा आफ्ना कार्यकर्तालाई विष खुवाएको भन्दै माओवादीले विरोध गरेको छ।

टिकट वितरणपछि गठबन्धन गरेका दलहरुबीच तीव्र असन्तुष्टि देखिएको थियो। यस क्रममा कतै पार्टी कार्यालय तोडफोड र कतै तालाबन्दी गरिएको थियो। देशका १५ ठाउँमा दलहरुले तोडफोड गरेको प्रहरीले बताएको छ। 

विराटनगर, स्याङ्जालगायत स्थानमा नक्कली बम फेला परेका छन्। यस पटकको चुनावमा बाह्य सुरक्षा चुनौती नदेखिए पनि दलहरुबीचमै आपराधिक गतिविधि बढी भएका हुन्। 

यसअघि एकीकृत सुरक्षा योजनामा पनि यस पटकको निर्वाचनमा दलहरु नै मुख्य चुनौती हुने निष्कर्ष निकालिएको थियो। बितेका १५ दिनमा दलहरुले यसलाई पुष्टि गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .