बालबालिकाका लागि आयोजित अभिनय तथा नाट्य कार्यशाला नवौँ ‘लिटल थिएटर गराज’ सम्पन्न गरिएको छ।
हरेक वर्षझैँ यस वर्ष पनि थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा दुई साता लामो कार्यशाला सोमबार सम्पन्न गरिएको हो। कार्यशालाको समापन अभिभावक र रङ्गप्रेमीहरूमाझ विशेष कार्यक्रम गरेर गरिएको थियो।
समापन समारोहमा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाटक मञ्चन गरेका थिए। जसमा पपेटमार्फत कथा–कथनदेखि उनीहरू आफैँले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए। साथै मञ्चमै तत्कालै दिइएको विषयमा बालबालिकाहरूले युगल अभिनय गरेका थिए।
बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले अभिभावकमाझ बताए।
उनले भने, ‘दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरूले धेरै कुरा लिएर घर आउँदै छन्। आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनूस्।’
कार्यशाला संयोजक इलिना नकर्मीले हरेक वर्ष बालबालिकाको उत्साहमय सहभागिता रहने कार्यशालाले उनीहरूको मुहारमा खुसी भर्न सकेकोमा आफू पनि खुसी भएको बताइन्।
त्यस्तै नेपाल जापान बाल पुस्तकालयका सपना शर्मा तथा राराहिल स्कुलका प्रधानाध्यापक जगतबहादुर महर्जनले बालबालिकाको यस्तो कार्यशाला बिलकुलै नयाँ सोच रहेको बताउँदै कलामार्फत जीवनलाई सुन्दर बनाउन कार्यशालाको भूमिका रहेको उल्लेख गरे।
कलामार्फत उनीहरूको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्देश्यले ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि लिटल थिएटर गराज सञ्चालन गर्ने गरिएको हो।
गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथा वाचन, कथा कथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथा कथन, ओरिगामी, नृत्य, भ्वाइस एन्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोचलगायतका विषयमा कार्यशालामा गतिविधिहरू भएका थिए। त्यस्तै कार्यशालाअन्तर्गत नै बालबालिकाहरूले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गरेका थिए।
थिएटर गतिविधिहरू बढिरहे पनि बालबालिकाका लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ। कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेसनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कुल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा भइरहेको छ।
लिटल थिएटर गराजको दसौँ संस्करण २०८० को चैत २२ मा हुने आयोजकले जनाएको छ। आयोजक थिएटर सेन्टर फर चिल्ड्रेन नेपालमा बाल रङ्गमञ्च र रङ्गमञ्चमा बालबालिकाको सहभागिताका लागि क्रियाशील संस्था हो।
Shares
प्रतिक्रिया