कला


मेरो जीवनको अधुरो सपनाको एउटा अंश हो- परस्त्री : शर्मिला पाण्डे


राधिका अधिकारी
जेठ ३० , काठमाडौँ

देखेका सबै सपना पूरा हुँदैनन्। फिल्म निर्मात्री शर्मिला पाण्डेले पनि आफ्नो जीवनका कयौं सपना अधुरै छाडिन्। छाडिएका सबै सपना उनलाई पछ्याउँदै आएनन्। तर फिल्मी सपनाले भने उनको जीवनको बाटो छेक्न छोडेन। त्यही सपनाले पछ्याइरहेपछि उनले फिल्म बनाउने निधो गरिन्।

त्यसो त उनलाई निर्मात्री बन्नु थिएन। उनलाई पर्दामा जम्नु थियो। कलाकार बन्नु थियो। उनले ५ कक्षा पढ्दै गर्दा फिल्म ‘सन्तान’को बाल कलाकारका लागि अडिसन दिएकी थिइन। उनी छानिइन् पनि। तर,  बिडम्बना, फिल्ममा खेल्ने अवसर पाइनन्। बाल कलाकारको रोल छैन फिल्ममा भनियो र उनले अवसरबाट बञ्चित हुनु पर्यो। त्यो बेला डाँको छोडेर रोएको सम्झना गर्दै पाण्डे भन्छिन्, ‘त्यो क्षण म जीवनमा कहिल्यै बिर्सिन सक्दिनँ।’

अहिलेजस्तो टेलिभिजनको सहजता थिएन। घरमा सानो रेडियो थियो। रेडियोमा बजेका गीतमा ताल मिलाउँदै शर्मिला ऐना हेरेर नाच्ने गर्थिन्। उनलाई बालखैबाट कलाप्रति रुचि थियो। तर उनको रुचि परिवारको प्राथमिकतामा परेन। 

यसतर्फको उनको झुकाव बुबालाई मन पर्दैनथ्यो। उनका बुबा हरिभक्त बुढाथोकी प्रहरीका जागिरे, यसैपनि यसैपनि कडा मिजासका थिए। फिल्म क्षेत्रप्रति त्यतिबेला आम मानिसले बनाउने धारणा पनि राम्रो थिएन। त्यही धारणाका कारण शर्मिलाको नायिका बन्ने सपना मनभित्र नै दबेर बस्यो।

कलेज पढ्ने बेला उनकी माइली दिदीले उनलाई डान्स क्लास भर्ना गरिदिएकी थिइन्। बीए पढ्दै गर्दा शर्मिलाको बिहे भयो। बिहेपछि शर्मिलाले श्रीमानसँग मिलेर काठमाडौंमा बेल्ट, पर्स र छाताको होलसेल व्यापार सुरु गरिन्। व्यापार राम्रो हुँदै गयो, शर्मिलाले आफ्नो होलसेलमा सामानको आइटम थप्दै गइन्। यही बीचमा आमा भइन्। उनका छोरा हुर्किए। छोरा हुर्किदै गर्दा शर्मिलाले आफूले पूरा गर्न नसकेको सपना छोराबाट पूरा गर्ने अर्को सपना देखिन्। उनका छोरा सुरजको पनि सानैबाट अभिनयमा मोह थियो। सानो छोरा बोकेर शर्मिलाले थुप्रै निर्माता–निर्देशकलाई भेटिन्। उनका छोराले ५/७ वटा फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरे। छोरालाई फिल्ममा हेरेर शर्मिला खुसी हुन्थिन्। कयौँ पटक भावुक पनि भएकी छन्। 

त्यसपछि उनले छोरालाई फिल्मको नायक बनाउने सपना देखिन्। सोही सपनाले जन्माएको फिल्म हो, ‘लभ लभ लभ।’ आमाले निर्माण गरेको फिल्ममा छोराले अभिनय गरे। यो फिल्ममा चलेकी अभिनेत्री स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका थिए। तर पहिलो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन। 

त्यसपछि शर्मिलाले ‘चङ्गा चेट’निर्माणमा निर्माता माधव वाग्लेसँग सहकार्य गरिन्। फिल्म ठिकै भयो। शर्मिलाको एकल लगानीको फिल्म ‘आमा’ सफल फिल्म हो। यो फिल्मबाट भने शर्मिलाको चौतर्फी चर्चा भयो। उनले ‘चिसो मान्छे’ निर्माण गरिन्। बक्स अफिसमा ठिकै गरेको यो फिल्मको पनि चर्चा भने राम्रै भयो। 

अहिले शर्मिलाको अर्को फिल्म ‘परस्त्री’ रिलिजको तयारीमा छ। आगामी असार १५ गतेबाट फिल्म नेपाल र भारतका सिनेमा घरमा एकसाथ प्रदर्शन हुनेछ। फिल्म हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुनेछ। हिन्दी भाषामा प्रदर्शन हुने यो दोस्रो नेपाली फिल्म हो। यसअघि सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा डबिङ भएर रिलिज भएको थियो। ‘परस्त्री’ भने हिन्दी र नेपाली दुवै भाषामा निर्माण भएको छ। 

एरोटिक थ्रिलर फिल्म ‘परस्त्री’बाट शर्मिलाका छोरा सुरज पाण्डेले निर्देशनमा डेब्यू गरेका छन्। आमाको सपनाको बाटो पछ्याउँदै बाल कलाकार हुँदै सिनेमाको हिरो बनेका सुरजको सपना भने फिल्म निर्देशनमा देखियो। सुरजले ‘नेपाल’, ‘दुई किनारा’, ‘कर्तव्य’, ‘दोबाटा’ लगायतका फिल्ममा बाल कलाकारका रुपमा काम गरे। ‘लभ लभ लभ’मा हिरो भए। यी सबै फिल्ममा उनी आमा शर्मिलाकै कारण जोडिएका थिए।

सुरजलाई धेरैले अभिनयमै निरन्तरता दिन सुझाव दिएका थिए। शर्मिला पनि छोराले अभिनय नै गरोस् भन्ने चाहान्थिन्। सुरजले भने आफ्नो बाटो मोडे। निर्देशनमा उनको रुचि बाल कलाकारका रुपमा अभिनय गर्दैगर्दा पलाएको हो। त्यही रुचिलाई सपनामा परिणत गरेका सुरजको पहिलो फिल्म प्रदर्शनको तयारीमा छ। यतिबेला शर्मिलाका आमाछोरा नै खुसी छन्। 

फिल्म ‘परस्त्री’ले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्ने छ। श्रीमानश्रीमतीको सम्बन्ध राम्रो नहुँदा त्यहाँ अन्य पुरुषको प्रवेशपछि निम्तिने समस्या नै फिल्मको थिम हो। फिल्मको हिन्दी भाषाको सम्पूर्ण काम भारतको फेस्ट इन्टरटेनमेन्टमा गरिएको छ। भारतीय वितरक पीबीआरले भारतमा न्यूनतम ५०० हलमा रिलिजको जिम्मा लिएको छ। 

फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका हुन्।  फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। काठमाडौं र मुस्ताङमा छायांकन गरिएको ‘परस्त्री’आगामी असार १५ गतेबाट रिलिजको तयारीमा छ। यही मेसोमा हामीले निर्मात्री शर्मिला पाण्डेसँग भिडिओ संवाद गरेका छौँ।  

जेठ ३०, २०८० मंगलबार ११:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .