कला


बगान मार्फत आफ्नै घरको कथा भन्दै सरोज खनाल

बगान मार्फत आफ्नै घरको कथा भन्दै सरोज खनाल

नेपालखबर
असार १०, २०८० आइतबार १३:३१, काठमाडौँ

पुराना अभिनेता सरोज खनालले पर्दामा थुप्रै प्रकारका भूमिका निर्वाह गरे। हरेक पात्र मार्फत केही न केही कथा भनिरहे। समाजका सबैखाले कथाले सरोजलाई कहिँ न कहिँ छोएकै हुन्थ्यो। तर कलिलै उमेरमा एकल भएर बहिनी (मामाकी छोरी)ले भोगेको जीवनको उतार चढावले उनलाई कहिँ गएपनि छोडेन।

सरोजले एकल भएपछि बहिनीले समाजसँग गर्नु परेको संघर्ष नजिकबाट निहाले। बहिनी सम्पन्न थिइन् तर एक्लै खुशी थिइनन्। एकल भएपछि अर्को जीवन सुरु गर्न उनलाई सहज पनि थिएन।

पारिवारिक रमाइलोमा पनि नरमाइरहेको बहिनीको मन उनले राम्रोसँग बुझेका थिए। पुनः विवाह गरेर बहिनीको मनमा मिलेको शान्ति र अनुहारमा देखिएइको खुशीको पनि सरोज साक्षी भए।

तर अझै पनि हाम्रो समाजमा छोरीको दोस्रो विवाहलाई सहजै स्वीकार गरिँदैन। सरोजलाई बारम्बार लागिरहन्थ्यो ‘सुरुमा मेरी बहिनीको मनमा भएको जस्तो दुविधा अन्य दिदी बहिनीमा पनि हुन सक्छ। र त्यो दुविधालाई हटाएर आफ्नो जीवन बाँच्न प्रेरित गर्ने कथा भन्नु थियो। यो प्रयास हामीले फिल्म बगान मार्फत गर्दै छौँ।’

अभिनेता खनाल ‘बगान’ मार्फत निर्देशकका रुपमा पर्दामा देखिने तयारीमा छन्। सरोजको डेब्यू निर्देशन रहेको यो फिल्म असार २९ गतेबाट अल नेपाल रिलिजको तयारीमा छ। फिल्ममा सरोजले धेरै अग्रज कलाकारलाई नै लिएका छन्। अग्रज कलाकार लिनुमा पनि उनको आफ्नै खालको तर्क छ।

उनी भन्छन्, ‘सिनियर कलाकार अभिनयमा पोख्त हुनुका साथै चरित्र अनुसार उपयुक्त थिए।’

डेब्यू निर्देशनको फिल्मबाटै सामाजिक कथावस्तुको उठान गरेका सरोजलाई अझै धेरै समाजका कथा पर्दामा उतार्ने रहर छ। निर्देशक बन्ने हुटहुटी र सोच सरोजको मनमा थिएन। तर, आफ्नै परिवारमा देखिएको कथा किताबमा भेटिएपछि सरोजलाई लाग्यो ‘यो कथा मैले नै भन्नु पर्छ।’

भन्छन् ‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा किताब दिनुभएको थियो। त्यहाँका कथाहरु मध्ये बगानले मलाई छोयो। यो त्यही कथा थियो, जुन कथा मैले मेरी बहिनीको अनुहारमा पढेको थिएँ। यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लाग्यो त्यसपछि निर्देशक बन्ने आँट गरेँ।’

फिल्ममा अभिनेत्री करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, आकाश श्रेष्ठ तथा प्रमिला कार्की लगायतका कलाकारले अभिनय गरेका छन्। 

स्वप्न नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रंग संयोजन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .