कला


स्वास्थ्यमा सुधार आएपछि काममा फर्किए प्रकाश घिमिरे

स्वास्थ्यमा सुधार आएपछि काममा फर्किए प्रकाश घिमिरे

नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:०, काठमाडौँ

स्वास्थ्यमा सुधार आएपछि कलाकार प्रकाश घिमिरे काममा फर्किएका छन्। घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका प्रकाश डेढ महिनापछि नियमित काममा फर्किएका हुन्। 

प्रकाश आजबाट बूढानीलकण्ठमा फिल्म ‘महाजात्रा’ छायांकनमा सहभागी भएका हुन्। शृंखलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको बुवाको भूमिकामा छन्। 

छायांकनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए। ‘केही समयको विश्रामपछि काममा फर्किएको छु। चिकित्सकको सल्लाहअनुसार नै आराम र काम गरिरहेको छु’, घिमिरेले भने। 

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायांकनस्थलमा देख्दा सबै खुसी भएको बताए। ‘उहाँ स्वास्थ्यलाभ गरेर फर्किनुहुन्छ भन्नेमा हामी विश्वस्त थियौँ। त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायांकन गर्‍यौँ। उहाँलाई काममा देख्न पाउँदा खुसी लागेको छ’, खत्रीले भने। 

उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायांकन सकेर पठाउने बताए। अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्य पनि छायांकनमा सहभागी छन्।

निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छाया‌ंकन गरिरहेका छन्। 

‘जात्रा’ र ‘जात्रैजात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्स्‌को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’ को छायांकन काठमाडौँसँगै तराईका विभिन्न स्थानमा गरिनेछ। 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा रहेको फिल्ममा प्रकाश र हरिवंशसहित विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, राजाराम पौडेल, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङलगायतले अभिनय गर्नेछन्। 

म्याक्स दीपेशसहित यज्ञश्वर पौडेल निर्माता रहेको फिल्म आगामी चैत ९ गतेबाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .