कला


एलिनाविरुद्धको विज्ञप्ति तुरुन्त सच्याऊ : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान

एलिनाविरुद्धको विज्ञप्ति तुरुन्त सच्याऊ : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान

फाइल फाेटाे


नेपालखबर
फागुन २८, २०८० सोमबार ९:२८, काठमाडौँ

गायिका एलिना चौहानविरुद्ध साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आफ्नो अभिव्यक्ति तुरुन्त सच्याउन माग गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालले संयुक्त हस्ताक्षरमा आइतबार विज्ञप्ति जारी गरी पाँचवटा साउन्ड सिस्टमले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। 

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य, लोकप्रिय गायिका एलिना चौहानले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव–२०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसीयन र गायिका चौहानबीच भएको विवादको विषयलाई लिएर साउन्ड सिस्टम  व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको गम्भीर  ध्यानाकर्षण भएको छ, विज्ञप्तिम भनिएको छ, कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियनबीचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्नेगरी यति संवेदनशिल विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्नेजस्ता गैरजिम्मेवार र बहिष्कारको सोचबाट उद्दत अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति छ। यो स्तरको अव्यावहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ।’

यही फागुन २० गते पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा साउन्ड सिस्टम खराब भएपछि गायिका चौहानले टेक्निसियनसँग गुनासो गरेकी थिइन्। तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईंको आवाज सफा गर्नुस्’ भन्दै हकारेका थिए। यसमा एलिनाले जवाफ फर्काएपछि भनाभन भएको थियो। यसपछि एलिना आफ्नो प्रस्तुति नसकीकन स्टेजबाट बाहिरिएकी थिइन्।

घटनाको ५ दिनपछि फागुन २५ गते पाँचवटा साउन्ड सिस्टम कम्पनीले संयुक्त रूपमा विज्ञप्ति जारी गरी एलिनाले माफी नमागेसम्म उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेका थिए।

‘…हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ। तर साउन्ड सिस्टम र स्पिकरलाई दोष दिई साउन्ड इन्जिनियरलाई गालीगलौज गर्नेजस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउन्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भर्त्सना एवम् विरोध गर्छौँ,’ उनीहरूको विज्ञप्तिमा भनिएको थियो, ‘चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणाको गर्दछौँ।’

यसपछि एलिनाले फागनु २६ गते फेसबुकमार्फत माफी पनि मागिसकेकी छन्।

तर यसप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै अहिले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साउन्ड सिस्टम कम्पनीहरूको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .