कला


‘मेयर’को सुटिङमा आमसभाको झल्को, निर्देशक खनाल उत्साहित

‘मेयर’को सुटिङमा आमसभाको झल्को, निर्देशक खनाल उत्साहित

नेपालखबर
चैत १२, २०८० सोमबार १२:३२, काठमाडौँ

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘मेयर’ को छायांकन हाल सर्लाहीमा भइरहेको छ। 

सर्लाहीको वागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेर फिल्म मेयर बन्न लागेको हो।

शनिबार छायाङ्कन स्थलमा एक राजनीतिक दृश्य सुट गरिएको थियो, जहाँ ११ हजार स्थानीय उपस्थित भए। र, त्यही क्राउड बीचमा फिल्मको सुटिङ गरियो। 

स्थानीयको बाक्लो उपस्थिति देखेपछि निर्देशक खनालले केही तस्विरसहित फेसबुकमा स्टाट्स लेखे। 

 ‘यो कुनै पार्टीको आमसभा होइन। यो त सिनेमा मेयरको छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो। नेपाली सिनेमा  निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु।’

निर्देशक खनालले पहिलोपटक यति धेरै क्राउडमा काम गर्न पाउँदा निकै खुसी लागेको समेत सुनाए। करिब एक महिनादेखि सर्लाहीको वागमती नगरपालिकामा सिनेमाको छायांकन भइरहेको छ। केही सिनमात्रै काठमाडौँ र सिन्धुलीमा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ।

सिनेमामा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन्। यसका लागि उनले सिनेमा छायांकनभन्दा अगाडि वागमती नगरपालिकामा नै केही समय बसेर मेयर थापाको स्वभाव, आनीबानी, कार्यशैली, व्यक्तित्वको बारेमा अध्ययन गरेका थिए। 

खगेन्द्रको अपोजिटमा अभिनेत्री वर्षा राउतले अभिनय गरिरहेकी छिन्। पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको सिनेमामा महेश दवाडीको पटकथा तथा कृष्ण बहादुर थापाले खिँचिरहेका छन्। 

यस फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ।

यो सिनेमाबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन्। श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .