विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगिसकेको फिल्म ‘द रेड सुटकेस’ को टिजर सार्वजनिक भएको छ।
आइसफल प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको ५२ सेकेन्डको टिजरमा फिल्मको कथावस्तुको प्रस्तुत गर्न खोजिएको छ।
रातको समय। एक युवा रातो सुटकेस बोकेर आफ्नो गन्तव्यतिर हिडिरहेको हुन्छन्। उ कुनै घरमा पुग्छ र सुटकेस उर्घाछ। त्यसपछि उसले त्यो सुटकेस बन्द गरेसँगै टिजरले बिट मार्छ। टिजरमा देखिएका युवा प्रवीण खतिवडा हुन्।
सार्वजनिक टिजरमा संवाद नभएपनि दृश्य र ध्वनीको माध्यमबाट बिम्बात्मक तरिकाले कथाको थिम बन्न खोजिएको छ। यस फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा पेश गर्छ।
फिडेल देवकोटाको लेखन र निर्देशनमा बनेको फिल्ममा प्रवीणसहित सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की मुख्य भूमिकामा छन्।
सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र सोभा थापा हुन्। यो फिल्म चैत ३० गतेबाट रिलिज हुँदैछ।
यस फिल्मले भेनिसमा मेन्सन अवार्ड जितेको थियो। साथै भेनिसमै स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकको रुपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्ड समेत प्रदान गरेको थियो।
थुप्रै फेस्टिभलमा छनोट भएको फिल्मले विभिन्न अवार्ड जितिसकेको छ।
Shares
प्रतिक्रिया