केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले बक्सअफिसहरुमा उत्साहजनक व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा २ करोड १५ लाख ग्रस कलेक्सन गरेकाे वितरक कम्पनी टी-फोक फिल्मस्ले जनाएको छ।
शनिबार जम्मा २५० शोमध्ये यस फिल्मको १५० शो हाउसफूल भएको वितरक कम्पनीको दाबी छ। आज पनि फिल्मको अकुपेन्ची राम्रो रहेको छ। सामाजिक थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’ काे यो आक्रामक व्यापार हो।
समीक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यो फिल्म छिट्टै विदेशमा समेत प्रदर्शन हुनेछ। ‘वर्ड अफ माउथ पब्लिसिटी’ ले पनि फिल्मको व्यापारमा वृद्धि हुने देखिन्छ।
रिलिजअगावै पनि यो फिल्मको निकै चर्चा थियो। गीतको पोस्टरदेखि ट्रेलर र गीतलाई दर्शकहरुले निकै मन पराएका थिए।
केकीको होम प्रडक्सनमा बनेको यो फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ मा आधारित भएर बनाइएको हो।
नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्। फिल्ममा केकी र सुलक्षणसहित स्वेच्छा राउत, रमा थपलिया, सुपला सापकोटा, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।
बद्रीबहादुर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।
Shares
प्रतिक्रिया