कला


शिव परियारसँग स्टेज संवाद : ‘क्या दामी’ चल्दा एउटै मञ्चमा १२ चोटि गाएँ, व्यवस्थित डिल गरेर इभेन्टमा जान्छु

शिव परियारसँग स्टेज संवाद : ‘क्या दामी’ चल्दा एउटै मञ्चमा १२ चोटि गाएँ, व्यवस्थित डिल गरेर इभेन्टमा जान्छु

लक्ष्मी बलायर
बैशाख २४, २०८१ सोमबार १९:१४, काठमाडौँ

आधुनिक होस् वा गजल। लोकगीत होस् वा चलचित्रमा पार्श्व गायन। सबैखाले गीतमा स्वर दिइसकेका छन् शिव परियारले। त्यसैले नै ‘भर्सटाइल’ गायकका रुपमा परिचित उनी युवापुस्तामाझ लोकप्रिय छन्।

सर्लाहीमा जन्मेका शिव बाल्यकालदेखि गीत गाउन मन पराउँथे। १२ वर्षमा जिल्लास्तरीय बालगीत प्रतियोगितामा प्रथम भएपछि त उनको संगीतप्रतिको लगाव झनै बढ्यो। एसएलसी दिएसँगै उनी आफ्नो सपना पूरा गर्न काठमाडौँ पसे।

काठमाडौँ आएपछि ललितकला क्याम्पसमा संगीतको पढाइ सुरु गरे। साथसाथै तबला वादनसहित शास्त्रीय गायनको प्रशिक्षण लिए। २०५९ तिर रेडियो नेपालमा आधुनिक गीत गायनमा भाग लिए। जसमा प्रथम भएसँगै सुरु भयो उनको उकालो यात्रा।

शिवले गाएका फेवा तालमा साइँली, फूलै फूल दिन्छौ कि, पिउँदिनँ भन्दा भन्दै पिलायो साथीले, अलिकति नजर तिम्रो झुकाएर आऊ, कहाँ थियौ तिमी, क्या दामी भो,पागल बनायौ प्रिय, संगी, आँसुको अर्थ के थाहा, पाकेर खाको फल मिठो, धेरैचोटि मरेँ म त, धोकेबाज लगायतको गीतहरू चर्चित छन्।

थुप्रै हिट गीत दिएका परियारको देशविदेशका सांगीति कार्यक्रममा पनि निकै माग हुन्छ। तिनै दुई दशकदेखि सक्रिय गायक शिव परियारसँग गरिएको स्टेजकेन्द्रित कुराकानी :

अहिले केमा व्यस्त हुनुहुन्छ?
केही दिनअघि मात्रै विदेशबाट नेपाल फर्किएँ। नयाँ वर्षको अवसरमा पहिलोपटक अस्ट्रेलियाको पर्थमा सांगीतिक प्रस्तुति दिएँ। जहाँ निकै रमाइलो भयो। हाललाई वैशाखकै २४ गते भृकुटीमण्डपमा सा‌ंगीतिक प्रस्तुति हुनेछ।

स्टेजमा गएपछि कति घण्टा प्रस्तुति दिनुहुन्छ?
डेढदेखि अढाई घण्टा सामान्य नै भइहाल्यो। साढे तीनघण्टासम्म प्रस्तुति दिएको अनुभव छ। मेरो गीतहरू लामा छन्, स्वर पनि मजाले तान्नुपर्छ। थुप्रै गीत हिट भएकाले आयोजकको पनि धेरै गीत गाइदियोस् भन्ने चाहना हुन्छ। त्यहीअनुसार म धेरै समय स्टेजमा बिताउँछु।

स्टेज चढेपछि एकचोटिमा कतिवटा गीत गाउनुहुन्छ?
स्टेजमा गएपछि २०/२२ वटा गीतहरू गाउँछु। फेवातालमा साँइलीदेखि धोकेबाजसम्म आइपुग्दा लगभग २०/२२ गीत गाइन्छ।

संगी, आँसुको अर्थ, कहाँ थियौ तिमी, फूलैफूल दिन्छौ कि,नभेटी नभेटी, क्या दामी, पिलायो साथीले नछुट्ने गीतहरू हुन्। अवस्था परिस्थितिअनुसार अलिकति नजर तिम्रो पनि गाउँछु। ०७८ सालदेखि धोकेबाज स्टेजमा धेरैजसो गाउँछु।

फेवातालमा साँइली पछिल्लो समय गाएको छैन। त्यसलाई समयसापेक्षिक म्युजिकमा फेरि एकचोटि ल्याउने सोच छ। अलि पुरानो शैलीको भयो। रि-डिजाइन गरेर स्टेजकेन्द्रित बनाएर निकाल्छु।

स्टेजमा प्रस्तुति दिँदा दर्शकबाट वान्समोर आइरहेको हुन्छ। एउटै गीत कति पटकसम्म गाउनुभएको छ?
चार/पाँचचोटि गाउनु त सामान्य नै भइसक्यो। क्या दामी गीत चल्दाखेरि १२ चोटिसम्म गाएको अनुभव छ। २०६७/०६८ तिरको कुरा हो। झापाको कार्यक्रममा प्रस्तुति दिँदा धेरैपटक वान्समोर आउँदा १२ चोटिसम्म एउटै गीत गाएँ। 

अनि एकैदिनमा धेरै कार्यक्रम पुग्नु भएको छ?
सन् २०१४ को अन्त्यतिर मैलै काठमाडौँमा घर किनेको थिएँ। केही लोन लिएको थिएँ। त्यतिखेर पिलायो साथीले गीत एकदमै चलेको थियो। पाकेको फल मिठो पनि चल्न सुरु भएको थियो। तीन/चार गीत चल्दा एकैदिनमा तीनवटासम्म स्टेज पुगेको थिएँ। लुगा पनि गाडीमै चेन्ज गरेर प्रोगाममा पुगेको छु। त्यतिखेर ६ घण्टासम्म गाउँथे।

कार्यक्रमको लागि धेरै ठाउँ पुग्नुभएको छ। अहिलेसम्म यादगार प्रोगाम कहाँको रह्यो?
मेरो लागि हरेक स्टेज विशेष हुन्छ। जति पनि ठाउँमा गएर मैले सांगीतिक प्रस्तुति दिएको छु, त्यो ठाउँमा वाह भन्ने अवस्था पैदा हुन्छ। पुस्तामा काठमाडौँ आएको र संगीतक्षेत्रमा म पहिलो हुँ। त्यो परिस्थितिमा कहिले दाजुभाइ, आमाबुवाको अगाडि प्रस्तुति दिएको छु। जुन सामान्य भइहाल्यो।

तपाईंलाई देश र विदेशमध्ये कताको कार्यक्रममा रमाइलो बढी लाग्छ?
पहिले नयाँ ठाउँमा जाँदा वा धेरैमान्छे हुँदा रमाइलो लाग्थ्यो। अहिले कस्तो अनुभूति हुन्छ भने गायन भनेको मेरो सौखसहित पेसा पनि हो। अहिलेको परिस्थितिमा बाध्यता पनि। समग्र जीवन बाँच्ने आधार पनि हो।

२० हजार ठाउँमा २ सय भए पनि मलाई अहिले दु:ख लाग्दैन। म त्यति नै प्रयास र मेहनेतका साथ खुसी भएर गाउँछु। साधनाको हिसाबले पनि गाउँछु। उर्जाशील दर्शक भएपछि नेपाल विदेश जता भए पनि रमाइलो हुन्छ। म चाहिँ जुन माहोलमा जान्छु। त्यो माहोललाई आफ्नो बनाएर छाड्छु। दर्शकहरूले धेरै सपोर्ट गरिरहनुभएको छ।

नेपालका मेलामहोत्सवमा भने जान नपाएको पाँचवर्ष भएछ। मेलामहोत्सव हुने भनेको मंसिरदेखि फागुनसम्म हो। तर, २०१९ देखि त्यो समयमा म विदेशकै कार्यक्रममा छु। बीचमा दुईवर्ष कोरोनाले खायो। अरुबेला समय दिन नपाएर म मेलामहोत्सवमा जान पाएको छैन। चैत वैशाखतिर छुटपुटका कार्यक्रममा भने गइरहेको हुन्छ।

राम्रो अफर आउँदा विदेशतिर बढी जान्छु। राम्रो म्युजिक पस्किन सकेको कारणले होला २० वर्षदेखि स्टेजमा सक्रिय छु। यो २० वर्षमा सुन्नलायक/गर्वलायक एकदर्जन गीत गाएको रहेछु भन्ने लाग्छ।  

आयोजक र फ्यानका कारण दु:ख खेप्नु परेको अनुभव छ?
म बतासे पाराले इभेन्टमा जाँदिनँ। मेरो व्यक्तिगत आचरण वा व्यवहारले केही तलमाथि भयो भने त्यसको नैतिक र सम्प‍ूर्ण जिम्मेवारी मैले लिनुपर्छ। तर, मलाई आयोजकले निमन्त्रणामा बोलाउँदा निभाउनु पर्ने भूमिकामा कमजोर भएर केही तलमाथि हुँदा जिम्मेवार हुनुपर्छ।

म इभेन्टमा जाँदैछु भने आयोजक कलाकारप्रति जिम्मेवार महसुस हुने भए मात्रै ओके गर्छु। कार्यक्रमको लागि कुनै ठाउँ जानुअघि म कहाँ जाँदैछु? कुन समयको इभेन्ट हो, कस्तो खाले दर्शक आउनुहुन्छ? त्यसै हिसाबले गीतहरूको ट्रयाक तयारी गर्छु।

फोटोसेसन हुन्छ कि हुँदैन भनेर आयोजकलाई सुरुमै सोध्छु। फोटोसेसन नहुँदा उहाँहरूले नै दु:ख नमान्नु भनिदिनुहुन्छ। आयोजकले सुरक्षा दिएर व्यवस्थित तरिकाले बनाएको छ भने म स्टेजमै उभिएर पनि फोटो खिचिदिन्छु। क्यानडाको प्रोग्राममा जाँदा पनि डेढघण्टा फोटो खिचेको थिएँ। आयोजकको सुरक्षा कमजोर छ भने म सुटुक्क स्टेजबाट बाहिरिन्छु।

तपाईं प्रस्तुति दिइरहेको बेला एक व्यक्ति आएर जिस्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ, खासमा त्यो के भएको थियो?
त्यो अस्ट्रेलियाको पर्थमा नयाँ वर्षको कार्यक्रमको कुरा हो। गीत गाउँदा अढाई घण्टा बितिसकेको थियो। वान्समोर आउँदा धोकेबाज गाउन पाएको थिइनँ। कार्यक्रमको टुङ्ग्याउने बेला भइसकेको थियो।

अन्तिम गीत गाउनुअघि मैले आयोजकलाई म थाकेको छु, गाडी रेडी गर्दै गर्नू भनेको थिएँ। जो सेक्युरेटीमा हुनुहुन्थ्यो, उहाँहरू कोही पार्किङमा गएर गाडी मिलाउन लाग्नुभयो। कोही स्टल व्यवस्थापनमा लाग्नुभयो। किनकि पाँच मिनेटमा कार्यक्रम सकिसक्नुपर्ने थियो।  

‌ओपन स्टेज थियो। म आफ्नै धुनमा मग्न भएर गीत गाउँदै थिए। एकैचोटि अडियन्स गलल हाँसेको देखे। एकजना सेक्युरेटी स्टेजमा चढ्नुभयो। एक व्यक्तीलाई ठेलेको मात्रै देखेँ। त्यो मान्छेले के गरेको पनि थाहा पाइनँ। मान्छे किन हाँसेको पनि बुझिनँ। मलाई भने जसरी गीत सकाएर जानुथियो। पछि भिडिओमा देखेर थाहा पाएँ। रमाइलो माहोल थियो, एक व्यक्तिले स्टेजमा आएर अंग्रेजी आइटमको हट पोज दिएको रहेछ।

तर, चुरो कुरा थाहा नपाएर विषयलाई अतिरञ्जित बनाएर भ्युज र लाइकको पछि हिँड्ने साथीहरूले चाहिँ दुर्व्यवहार भनेर लेखे। त्यो कुनै इस्यु नै थिएन। अपमान हुने अवस्था आउँदा आयोजकले विज्ञप्ति निकाल्थ्यो होला। म आफैँले बोल्थे होला। उसले आपत्तिजनक केही गरेको छैन। मैले त्यसलाई रमाइलोको रुपमा लिएँ।

अनि फ्यानसँगको मिठो अनुभव?
फ्यानसँगका रमाइला अनुभव त निकै छन्। हामी चिठ्ठी लेख्ने पुस्ताका हौँ। मलाई पनि फ्यानबाट चिठ्ठीहरू आएका थिए। जुन अहिले पनि मसँग छन्।

कला भनेको मान्छेको हृदयसँग जोडिने कुरा भयो। कहिलेकाँही मन बहकिएर मान्छेले सामाजिक रुपमा गर्नुहुँदैन भनेका कुरा पनि आफ्नो खुसीको लागि गर्छन्। त्यो परिस्थितिमा कलाकारलाई माया गर्ने र मन पराउँछु भन्ने नभेटेको होइन। उहाँहरूलाई हामीले मनले सम्मान र इज्जत गर्नुपर्छ। त्यही भएर मैले स्टेजका घटनाहरू म खुलाउन चाहदिनँ। किनकि यो अन्तर्वार्ता पढ्दा उहाँहरूको मनमा चिसो पस्छ। त्यसैले आफूभित्रै राख्न चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .