नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा फिल्मको थिम बुझाउन खोजिएको छ। गाउँमा बाटो नहुँदा भोग्नुपरेको समस्यादेखि सडक बनिसकेर पहिलोपटक गाडी पुग्दाको खुसीसमेत टिजरमा देख्न सकिन्छ। साथै टिजरमा बाबुछोराको सम्बन्धलाई पनि समेटिएको छ।
टिजर रिलिज कार्यक्रममा निर्देशक सुब्बासहित फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसन राईलगायतको उपस्थिति थियो।
जहाँ अभिनेता दयाहाङ राईले यो फिल्मले गाउँमा सडक र गाडी पुगेपछिको परिवर्तनको कथा रहेको बताए।
‘गाउँमा बाटो आयो, बाटोसँगै गाडी आयो। तर, त्यसले गाउँबाट धेरै कुरा लग्यो होला! गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन यो सिनेमाले भन्नेछ,’ उनले भने, ‘गाउँ आएको बाटो एउटा सरल कथा हो। तर, त्यो सरल अनि परिवारको कथाभित्र हामीले विभिन्न तरिकाले त्यसका अन्य तह बुझ्दा धेरै कुरा बुझ्न र महसुस गर्न पाइन्छ।’
निर्देशक सुब्बाका अनुसार, यस फिल्मले बाबुछोराको सम्बन्धको कथा पनि भन्नेछ।
सुब्बाले भने,‘यो फिल्मको कथा सुन्नेबित्तिकै मैले मेरो बुवालाई सम्झिएँ। र, बुवाले कति संघर्ष गर्नुभयो होला आफ्नो सन्तानलाई हुर्काउन भन्ने लाग्यो। यो बुवाछोराको एक सुन्दर र सरल कथा हो।’
अन्तर्राष्ट्रिय फेस्टिभलमा यो फिल्म ‘अ रोड टु भिलेज’ नामबाट प्रदर्शन भइसकेको छ। क्यानडाको टोरोन्टो फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भइसकेको यो फिल्म दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटबर्ग, चीनको बेइजिङलगायत डेढ दर्जन चलचित्र महोत्सवमा छनोट भइसकेको छ।
सुब्बासहित अमोद राईको लगानी रहेको फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो। फिल्ममा केशव राई, सुमित्रा राई, प्रेम सुब्बा, राज थापाको पनि अभिनय छ।
राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित यो फिल्म आगामी जेठ २५ गते रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया