ad ad

कला


भलिबल र सौन्दर्य प्रतियोगिता दुवैमा नेपाललाई जिताउन लागिपरेका धिरोजकाजीको कथा (भिडिओ)

यू-२३ टोलीका कप्तान धिरोज यसरी बने मिस्टर सुप्रानेसनल
भलिबल र सौन्दर्य प्रतियोगिता दुवैमा नेपाललाई जिताउन लागिपरेका धिरोजकाजीको कथा (भिडिओ)

धिरोजकाजी बस्नेतलाई खेलकुदसहित मोडलिङलाई निरन्तरता दिन मन छ (फोटो/भिडिओ : सरोज नेपाल)


लक्ष्मी बलायर
असार १०, २०८१ सोमबार ८:५८, काठमाडौँ

गत वैशाख १९ गते प्रज्ञा प्रतिष्ठानको हलमा ‘मिस्टर एन्ड मिस नेसनल २०२४’ को फिनाले चलिरहेको थियो। प्रतियोगितामा पालो थियो प्रश्नोत्तर राउन्डको। र, अन्तिम प्रतिस्पर्धी थिए धिरोजकाजी बस्नेत।

मञ्चमा पुगेका धिरोजलाई जज राजु केसीले प्रश्न सोधे, ‘तपाईंले एक करोड रूपैयाँ ज्याकपट जित्नुभयो भने त्यो पैसाले के गर्नुहुन्छ?’  

धिरोजले जवाफ फर्काए, ‘मैले एक करोडको ज्याकपट जितेँ भने सुरुमा म बुवाको ऋण तिर्छु। किनकि म अहिले जता छु, जस्तो छु, मेरो अभिभावकले गर्दा छु। मलाई सानैदेखि लागेको खर्च, मलाई पढाउने, खेलाउने र मेरो रहरहरू पूरा गरिदिने मेरो ड्याड। पक्कै पनि, म मेरो ड्याडको ऋण तिर्छु।’

धिरोजको त्यो निर्धक्क जवाफ बनिबनाउ थिएन, वास्तविक थियो। त्यसैले त दर्शकदीर्घाबाट गडगडाहट ताली र हुटिङ भयो त्यही उत्तरसँगै धिरोजले ‘मिस्टर सुप्रानेसनल नेपाल’को उपाधि आफ्नो पोल्टामा पारे।

‘तीनचार वर्षअघि मेरो बुवाले पोल्ट्रीफार्मबाट निकै घाटा बेहोर्नुभएको थियो। जुन ऋणबाट उहाँ अहिलेसम्म उभिन सक्नुभएको छैन,’ उनले भने, ‘उहाँले दु:ख गरेर हामीलाई हुर्काउनुभयो। केही कुराको कमी हुन दिनु भएन। त्यसैले म सानैदेखि पैसा कमाएपछि सुरुमा बुवाको ऋण तिर्छु भन्ने सोच्थेँ। ठ्याक्कै फिनालेमा पनि त्यही प्रश्न पर्‍यो। मैले पनि जे भनेँ मनदेखि नै भनेँ।’

मोडलिङले जगायो पेजेन्टप्रति रुचि
चितवनको भरतपुरमा जन्मेका धिरोज राष्ट्रिय भलिबल खेलाडी हुन्। भलिबल खेलाडी भए पनि धिरोजलाई सानैदेखि मोडलिङमा पनि रुचि थियो। टेलिभिजनमा फेसन अनि मोडलिङसम्बन्धी कार्यक्रम हुँदा उनी नछुटाई हेर्थे। आफू चिटिक्क बन्न बुवालाई नयाँ लुगा किनिदिन कर गर्थे।

तर, भलिबलतिरै व्यस्त हुँदा उनले मोडलिङबारे सोच्न भ्याएका थिएनन्।

भन्छन्, ‘मलाई भलिबलसँगसँगै मोडलिङप्रति पनि रुचि थियो। पढाइ सँगसँगै भलिबल खेल्ने भएकाले खासै समय दिन सकेको छैन। नेसनल टिमको लागि ट्रेनिङ गर्नुपर्ने भएकाले समय व्यवस्थापन गर्न गाह्रो थियो।’ 

प्लस टु सकिएपछि भने धिरोजले मोडलिङमा कोसिस गर्ने सोच बनाए। त्यतिखेर ठ्याक्कै मिस्टर नेसन नेपाल २०२३ को अडिसन खुलेको थियो। हाइट छ, राम्रो पनि छस् भन्दै उनका साथीहरूले सहभागी हुन हौसला दिए। उनी पनि ऐनामा हेरेर तयारी गर्न थाले। अडिसन दिएपछि छनोट पनि भए।

त्यस प्रतियोगिताका कोरियोग्राफर थिए सुजित बस्याल।

‘पहिले मलाई मोडलिङ र पेजेन्टबीचको फरकबारे थाहा थिएन। तर, प्रतियोगितामा सहभागी भएपछि दुवैबीचको फरक थाहा पाएँ। मोडलिङमा स्ट्रेट फेस लिएर जानुपर्छ भने पेजेन्टमा अलिकति हाँसेर हाउभाउसहित जानुपर्छ। सुजित सरले मज्जाले सिकाउनु भएको थियो,’ उनले भने।

विभिन्न प्रतिस्पर्धा पार गर्दै धिरोज सन् २०२३ को मिस्टर नेसनको विजेता बने। पहिलो प्रयासमै सफल हुँदा उनी यो क्षेत्रतर्फ झन् आकर्षित भए। मिस्टर नेसन बनेपछि मिस्टर सुप्रानेसनल बन्न मन लागेको उनी सुनाउँछन्।

अडिसन दिएपछि मिस एन्ड मिस्टर नेपालमा छनोट भए। कडा मेहनत र अनुशासनले उनलाई मिस्टर सुप्रानेसनलको उपाधि दिलायो।  

यतिखेर धिरोज ‘मिस्टर सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्न पोल्यान्ड पुगिसकेका छन्। विभिन्न तालिम र वर्कसप लिएर प्रतिस्पर्धामा सहभागी भएको उनको भनाइ छ।

‘मिस्टर सुप्रानेसनल भएर नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी छु। पोल्यान्डमा गएर म नेपाली हो भनेर झण्डा फरफराउन मन छ। नेपाललाई विश्वसामु चिनाउनु छ,’ पोल्यान्ड जानुअघि धिरोजले भने।  

पुलिस क्लब हुँदै यू-२३ भलिबल टोलीको कप्तानी
चितवनमै हुँदा धिरोजले कक्षा आठ पढ्दादेखि भलिबल खेल्न थालेका हुन्। भलिबल खेल्न थालेको समय सम्झिँदै उनले भने,‘एकदिन स्कुल गइरहेको थिएँ। त्यतिबेला केही दाइहरू भलिबल खेल्दै हुनुहुन्थ्यो। उहाँहरूले मलाई बोलाउँदै तिमी यति अग्लो छौँ, भलिबल खेल्दा निकै राम्रो हुन्छ। नेसनल टिममा पर्छौ भनेर सल्लाह दिनुभयो। त्यसपछि भलिबलतिर चासो बढेको हो।’

त्यसपछि धिरोज दैनिकजसो अभ्यास गर्न थाले। स्कुलदेखि वडा र जिल्लास्तरीय भलिबल प्रतियोगितामा समेत सहभागी हुन थाले। एसईई दिएपछि भने उनी काठमाडौं आए।

महाराजगन्जस्थित एक होस्टेलमा बसेका धिरोज पुलिस एकेडेमी पुगेर अभ्यास गर्थे। जहाँ उनको खेल देखेर प्रशिक्षक महेश चौधरी निकै प्रभावित भए। दुई वर्षको सम्झौतामा उनी पुलिस क्लबमा जोडिए। उनी पुलिस क्लबबाट पोखरामा भएको टाइगर क्लब २०७७ मा सहभागी भए। तर, खेल्ने क्रममा खुट्टामा चोट लागेपछि उनले सफलता भने पाउन सकेनन्।

त्यसपछि धिरोज बुढानीलकण्ठ भलिबल क्लबमा आबद्ध भए। यसै टिमबाट उनी राष्ट्रिय भलिबल कप २०७८ मा सहभागी भए। यस कपमा धिरोजले राम्रो प्रदर्शन देखाएर चर्चा बटुलेका थिए। उक्त टिमले प्रतियोगिताको उपाधि नजिते पनि धिरोजको करिअरलाई भने फाइदा पुर्‍यायो।

त्यसैवर्ष हेल्प नेपालबाट धिरोजले टाइगर कप खेलेका थिए। जहाँ उनले भारतीय राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान विनित कुमार, अमितजस्ता अनुभवी खेलाडीसँग धेरै कुरा सिक्ने मौका पाए। धिरोजले राम्रो प्रदर्शन देखाए पनि फाइनलमा उनको टिम विभागीय टिम त्रिभुवन आर्मीसँग हारेको थियो।

राम्रो प्रदर्शनको छाप छोडेका उनलाई एपीएफ क्लबले लियो। जहाँबाट उनले छैटौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग खेले। उत्कृष्ट प्रदर्शन देखाउँदै धिरोजले प्रतियोगितामा उदीयमान खेलाडीको अवार्ड समेत जितेका थिए।

लगत्तै धिरोजले बंगलादेशमा पहिलोपटक भएको बंगबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको नेतृत्व गर्ने अवसर पाए। नतिजा सोचेजस्तो नआएपछि उनी राष्ट्रिय टोलीमा प्रवेश गर्न पाए। त्यसबेलादेखिनै धिरोज अन्डर २३ को कप्तानी सम्हाल्दै आएका छन्।

पहिलोपटक सिनियर टिमबाट डेब्यु चाहिँ चीनको हाङचाउमा भएको १९ औँ एसियाली गेमबाट गरेका धिरोजले सुनाए।

नेपाली टोलीबाटै श्रीलंकामा भएको काभा भलिबलमा समेत सहभागी भइसकेका छन्। हालै चैतमा सम्पन्न राष्ट्रिय एनभीए कप र एनभीए लिग भलिबलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जितेको थियो। जसमा धिरोजको पनि विशेष योगदान थियो।

धिरोजको बुझाइमा सौन्दर्य प्रतियोगिता
धिरोज मिस्टर सुप्रानेसनललाई ठूलो प्लाटफर्म भन्न रुचाउँछन्। यस्ता प्रतियोगितमा जीवनभरिको लागि सिकाइ हुने उनको बुझाइ छ।

‘यो ठूलो प्लाटफर्म हो। सुप्रानेसनलको टाइटल जितेर नयाँ अनुभव बटुलिरहेको छु। यसमा हुने तालिमदेखि लिएर रनवे वाकले अझै आफूमा परिवर्तन पाएको छु। अनुशासनदेखि लिएर हाउभाउ गर्ने तरिका र कसरी लाइफलाई अगाडि बढाउने त्यो सिकिन्छ। जुन जीवनभरिको लागि सिकाइ हो।’

ब्युटी पेजेन्टलाई अझै पनि सुन्दरतासँग मात्र जोडेर हेरिन्छ। तर, धिरोज भने यो क्षेत्र ग्ल्यामर र सौन्दर्य मात्रै नभई नेतृत्व विकास गर्ने प्रतियोगिता मान्छन्।

‘मेरो लागि ब्युटी पेजेन्ट सुन्दरताको मात्रै प्रतीक होइन। ब्युटी भनेको आँखालाई राम्रो होइन कि मनलाई राम्रो हुनुपर्‍यो। यहाँ आएपछि तपाईंले जीवन जित्नुहुन्छ। जीवनका लक्ष्यहरू पूरा गर्नुहुन्छ,’ उनले भने, ‘स्पोर्ट्समा प्रदर्शन राम्रो गरे पनि मासमा मलाई बोल्न गाह्रो हुन्थ्यो। जसले चाहेको कुरा भन्न सक्दिनथेँ। तर, यो क्षेत्रमा आएपछि आत्मविश्वास र जिम्मेवारीबोध बढेको छ। खाने, बस्ने तरिकादेखि मासमा गएर कसरी बोल्ने सिकाएको छ।’

अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा फिटनेसमा भने विशेष ध्यान दिनुपर्ने उनको तर्क छ। जसको लागि आफूले पनि दैनिक जिमदेखि घरमा कसरत गरेर आफूलाई फिट राखेको बताउँछन् उनी।   

मिस्टर सुप्रानेसनलमा बलियो स्थान पाउनेमा ढुक्क
पोल्यान्डमा भइरहेको मिस्टर सुप्रानेसनलमा ३७ देशका प्रतियोगीहरू प्रतिस्पर्धामा छन्। विभिन्न पेससहित मिस्टर वर्ल्डको मञ्चसम्म पुगिरहेका प्रतिस्पर्धीले सहभागिता जनाएका छन्।

‘जति कठिन प्रतिस्पर्धा गरे पनि आफूलाई आफ्नो सम्भावना थाहा हुनुपर्छ। अरुसँग दाँज्नुभएन। आफ्नो इच्छाशक्ति के हो? के गर्न गएको हो? त्यो बुझेर राम्रो गर्न सकेमा नेपाललाई प्लेसमेन्ट दिलाउन सकिन्छ। मैले मिस्टर सुप्रा जितेकै देखिसकेँ सपनामा,’ उनले सुनाए।   

यसअघिका नेपालका प्रतियोगीहरूले पनि मिस्टर सुप्रानेसनलमा राम्रै उपलब्धि हासिल गरिसकेका छन्। सन् २०२१ मा सन्तोष उपाध्याय मिस्टर सुप्रानेसनलको थर्ड रनरअप बनेका थिए। त्यसैगरी, २०२२ का सनिश श्रेष्ठले पनि ट्यालेन्ट राउन्ड जितेका थिए। आफू पनि राम्रो स्थान पुग्नेमा आशावादी छन् धिरोज।

युवाहरूको प्रेरणाको स्रोत
मिस्टर सुप्राको मञ्चमा आफ्नो उपस्थितिमार्फत युवापुस्तालाई उत्प्रेरित गर्न चाहन्छन् धिरोज। आफूसँगका साथीहरू विदेश गएको बताउँदै उनले नेपालमै पनि धेरै कुरा गर्न सकिने सुनाए।  

उनले भने, ‘अहिले ब्युटी पेजेन्ट बढी हेरिन्छ। त्यहाँ गएर मैले भलिबलको मात्रै नभई पूरै नेपालको स्पोर्ट्सको कुरा राख्न पाएँ। म प्लेयर भएको आफ्नो इच्छाशक्ति र मेहनतले हो। एउटा सामान्य परिवारबाट आएको व्यक्ति पनि राष्ट्रिय टिमसम्म पुग्न सक्छ। र, मिस्टर नेसनदेखि सुप्रानेसनल बन्न सक्छ भने तपाईं पनि गर्नुसक्नुहुन्छ।’

पछिल्लो समय खेलकुद क्षेत्रमा निकै सम्भावना रहेकाले युवा खेलाडीहरू आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको दाबी छ।

भन्छन्, ‘अहिले खेलाडीहरूलाई भत्तास्वरूप केही पैसा आउँछ। इन्टरनेसनल टुर्नामेन्ट जित्दा सरकारले पनि सम्मानस्वरूप पुरस्कार तोकिदिएको छ। राम्रो गर्दा खेलक्षेत्रमा अवसरहरू छन्। यो कुरा चाहिँ म पेजेन्टमार्फत सबै युवाहरूलाई भन्न चाहन्छु कि हामी भविष्य बोकेको युवा हौँ। सरकारको भर नपरौँ, आफैले केही गरौँ।’  

धिरोजलाई खेलकुदसहित मोडलिङलाई पनि निरन्तरता दिन मन छ। तर, पहिलो प्राथमिकता भने भलिबललाई दिने सुनाउँछन्।

‘मलाई यो ठाउँमा पुर्‍याएको भलिबलले हो। पहिलो प्राथमिकतामा भलिबल हुन्छ। भलिबलबाट नेपाललाई विदेशमा चिनाउन कोसिस गरिरहेको छु। आगामी दिनमा अझै मेहनत गरेर उपलब्धि हासिल गर्ने मन छ। ढिलोचाँडो भए पनि नेपालको लागि पदक ल्याएरै देखाउँछु,’ धिरोजले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .