ad ad

कारोबार


आन्तरिक उडानमा श्रीको आक्रामक उपस्थिति : ठूला जहाजबाट सेवा, दक्षिण एसियाभर फैलिने योजना

आन्तरिक उडानमा श्रीको आक्रामक उपस्थिति : ठूला जहाजबाट सेवा, दक्षिण एसियाभर फैलिने योजना

सुधीर मित्तल र पृष्ठभूमिमा श्री एयरलाइन्स


वसन्त अर्याल
असार १५, २०८१ शनिबार १९:६, काठमाडौँ

यही असार ८ मा श्री एयरलाइन्सले नयाँ जहाज क्यू४०० ड्यास ८ नेपाल भित्र्यायो। 

त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त जहाज डी हाभिल्यान्ड अफ क्यानडा (बम्बार्डियर) ले उत्पादन गरेको हो। यो जहाज ८० सिट क्षमता र ५४ हजार हर्सपावरयुक्त छ।   

श्रीले संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको विमान भित्र्याएको हो। जुन नेपालमा सञ्चालित अन्य कम्पनीका जहाजको तुलनामा छिटो गन्तव्यमा पुग्छ। 

गत चैत १३ गते पनि श्री एयरलाइन्सले दुईवटा यही विमान भित्र्याएको थियो। ३ महिनाको अन्तरालमा ३ वटा जहाज थपेर कम्पनी नेपालको उड्डयन क्षेत्रमा आक्रामक बजार विस्तार गर्दै छ। 

यसअघि सन् २०१९ मा २ वटा र २०२२ मा २ गरी ४ वटा ८० सिट क्षमताका जहाज उडान गर्दै आएको कम्पनीसँग अब क्यू४०० जहाजको संख्या नै ७ पुगेको छ। 

श्री एयरलाइन्सले सन् २०१७ बाट ५० सिट क्षमताका दुई सीआरजे २०० तथा ७० सिट क्षमताका दुई आरजे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरेको थियो। 

नेपालको हवाई क्षेत्रमा हेलिकप्टरबाट व्यवसाय सुरु गरेको श्री एयरलाइन्सले हाल मध्यमखालका जहाजमार्फत आक्रामक बजार विस्तार गरिरहेको छ। लामो समयदेखि नेपाली आकाशको ठूलो हिस्सा ओगट्दै आएका बुद्ध एयर र यती एयरलाइन्सलाई राम्रो टक्कर दिँदै छ। 

‘अहिले नेपालभित्रकै लगानीबाट नयाँ जहाज थप गरिरहेका छौँ’, श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धर भन्छन्, ‘बैंकहरूबाट ऋण सुविधा लिएर जहाज भित्र्याएका हौँ।’

ठूला जहाज उड्न सक्ने सबै गन्तव्यमा श्री
एउटा मात्रै कम्पनीले उडान गरिरहेको भरतपुर विमानस्थलमा गत असार ६ गते श्री एयरलाइन्सले पहिलोपटक ८० सिटे जहाजबाट उडान परीक्षण गरेको थियो। योसँगै पर्यटकीय गन्तव्यले भरिएको चितवनस्थित भरतपुरमा एउटा मात्रै कम्पनीको उडानले भाडा महँगो हुने र समयमा जहाज पाउन मुस्किल हुने दुवै अवस्था अन्त्य हुनेछ। 

भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा ठूला जहाज उडान भर्न नसक्ने बताइँदै आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिले विमानस्थलको धावनमार्ग विस्तार गर्दै छ। सोही समयमा ठूलो जहाजबाट श्री एयरलाइन्सले परीक्षण उडान गरेको छ। 

भरतपुरमा श्रीले गरेको परीक्षण उडान

अब हुने नियमित उडानले चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको पहुँच अझ सहज र सुरक्षित गर्ने तथा पूर्व–पश्चिम राजमार्गको केन्द्रविन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्यधिक चापलाई सहज हुनेछ। 

त्यसअघि श्री एयरलाइन्सले नै सुर्खेतमा उडान भरिसकेको छ। सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले मात्रै उडान गर्दै आएको थियो। 

‘भरतपुर विमानस्थलमा कम्पनीको क्यानडामा निर्मित अत्याधुनिक क्यू४०० ड्यास विमानबाट पहिलोपटक परीक्षण उडान गरेका हौँ’, प्रबन्धक मानन्धर भन्छन्। 

एउटा मात्रै कम्पनीको जहाज हुँदा यात्रुलाई विकल्प हुँदैनथ्यो। एउटा गन्तव्यमा कम्तीमा २ वटा कम्पनीले उडान गर्दा भाडा सस्तो पर्छ। 

भरतपुरमा एउटा मात्रै उडान हुँदा केही महँगो भएको बजारमा सुनिन्छ। श्री एयरलाइन्सले उडान गर्दा सुलभ मूल्यसहित यात्रुले थप सुविधा पाउनेछन्। 

एउटा मात्रै कम्पनी हुँदा सुर्खेत, धनगढीमा हवाई भाडा धेरै थियो’, मानन्धर भन्छन्, ‘श्री एयरलाइन्सको उडानसँगै हवाई भाडामा यात्रुलाई केही फाइदा भएको छ।’

श्री एयरलाइन्सले काठमाडौंबाट धनगढीमा ४ वटा, सुर्खेतमा २ वटा, नेपालगन्जमा ५ वटा, भैरहवामा ३, पोखरामा ३, विराटनगरमा ४ वटा उडान गरिरहेको छ। जहाज अभावको कारण रोकिएका भद्रपुर, जनकपुर र सिमरा छिट्टै उडान भर्दै छ। 

‘पहिला उडान गरे पनि यात्रु र जहाजको अवस्थाअनुसार भद्रपुर, जनकपुर र सिमरा नियमित उडान हुनसकेका थिएनन्’, मानन्धरले सुनाए, ‘३ वटै गन्तव्यमा अब नियमित उडान हुन्छन्।’

श्री एयरलाइन्सले देशभरका मुख्य विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। दुर्गममा श्रीका जहाज उडान गर्न नसक्ने ठाउँबाहेक अन्य स्थानमा उडान गर्ने योजनामा कम्पनी रहेको उनी बताउँछन्। 

‘संखुवासभाको तुम्लिङटारमा ठूलो जहाज उडानको तयारी भइरहेको छ’, उनले भने, ‘भरतपुर उडान परीक्षण सफल भएकाले तुम्लिङटारमा उडान गर्दै छौँ।’

श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलोपटक एयरलाइन्सको सीआरजे ७०० विमानले ‘माउन्टेन फ्लाइट’ गरायो।

नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन सफल भएको छ। यती र बुद्ध एयरले काठमाडौंबाट माउन्टेन फ्लाइट गराउँदै आएका थिए। श्री एयरलाइन्सले पर्यटक भित्र्याउने नयाँ प्रोडक्ट ल्याएको छ। 

हेलिकप्टरबाट सुरु भएको व्यवसाय  
सन् १९९९ मा एयर अनन्यको रूपमा स्थापना भएको कम्पनी पछि श्री एयरलाइन्स बनेको थियो। एक वर्ष अघिदेखि त पब्लिक कम्पनीमा समेत रुपान्तरण भइसकेको छ। आगामी दिनमा सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएको मानन्धर सुनाउँछन्।

कम्पनीले बम्बार्डियर एयरक्राफ्टबाट उडान गर्दै आएको छ। जेट र टर्बो प्रोप इन्जिनका जहाजले सुसज्जित श्री एयरलाइन्स काठमाडौंलाई आधार बनाई आन्तरिक उडान गर्ने हवाई कम्पनी हो। 

श्री एयरलाइन्ससँग ५० सिट क्षमताको सीआरजे २०० जेट विमान २ वटा, ७० सिट क्षमताको सीआरजे ७०० जेट २ वटा जहाज छन्, जसले नियमित उडान गरिरहेका छन्। 

८० सिट क्षमताका ड्यास ८ क्यू ४०० जहाज ७ वटा पुगेका छन्। त्यसबाहेक २४ सिट क्षमता भएका २ इन्जिनयुक्त हेलिकप्टर ६ वटा र ५ सिट क्षमताका सिंगल इजिनयुक्त साना २ हेलिकप्टर छन्। 

स्वर्गीय बनबारीलाल मित्तलले ६३ वर्षको उमेरमा विसं २०५५ सालमा हेलिकप्टरहरूबाट उडान सुरु गरेका थिए। हाल उनका छोरा सुधीर मित्तलको नाममा ९९.८९ प्रतिशत सेयर स्वामित्व छ। विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनमा आबद्ध रहिसकेका उनले पछि नेपाल फर्किएर व्यवसाय सम्हाले। 

सुरुमा नेपालको अति दुर्गम तथा विकट हिमाली क्षेत्रहरुमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रको आकस्मिक उद्धार तथा पर्यटकीय सामान ढुवानी, निर्माण सामग्री, जलविद्युत् र सडक आयोजना निर्माण गर्न मेसिनरी ढुवानीको काम एयर अनन्यले गर्‍यो। 

कम्पनीको मुख्य आम्दानी जहाजको नियमित उडानबाटै हुने गरेको छ। कम्पनीको करिब ९० प्रतिशत व्यापार जहाजबाट हुन्छ भने १० प्रतिशत हेलिकप्टरबाट हुने गरेको छ। 

जहाजको सिट क्षमताअनुसार औसतमा ९० प्रतिशत अकुपेन्सी रहेको देखिन्छ। गत आर्थिक वर्षमा ७२ प्रतिशतमा सीमित भए पनि चालू आर्थिक वर्षमा भने अकुपेन्सी ९० प्रतिशत बढी नै पुगेको छ। 

कम्पनीको उडानमध्ये काठमाडौं–नेपालगञ्ज र काठमाडौं–धनगढीमा सबैभन्दा बढी आम्दानी छ। 

आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३८ करोड रुपैयाँ रहेको आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। कोभिडपछि सामान्य अवस्थामा फर्किएको हवाइ क्षेत्रबाट कम्पनीले गत आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ।  

कम्पनीको व्यापारमा वार्षिक २० प्रतिशतको वृद्धि रहेको छ। कर, ब्याज, भाडासहितको नाफा २० देखि २४ प्रतिशत छ। 

रेटिङ एजेन्सीका अनुसार श्री एयरलाइन्सले २०२३ को डिसेम्बरमा २५ करोड ५१ लाख दीर्घकालीन ऋण र १३ करोड ३ लाख तत्कालीन ऋण सुविधाको रेटिङ गराएको छ।   

अन्तर्राष्ट्रिय एयर एम्बुलेन्सबाट नियमित उडानमा फड्को मार्दै
२०८० वैशाखमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई दिल्ली ‘रिफर’ गर्दा श्रीकै एयर एम्बुलेन्स प्रयोग भयो। त्यतिबेला कम्पनीको एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेल निजी चिकित्सकसहित उपचारार्थ सपरिवार भारत गए। 

त्यसअघि २०७९ फागुनमा खाना पकाउने ग्यास विस्फोटबाट घाइते प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीलाई पनि श्री एयरलाइन्सकै एयर एम्बुलेन्समार्फत नै भारत पुर्‍याइएको थियो। 

‘नेपालबाट अन्तर्राष्ट्रिय एयर एम्बुलेन्स श्री एयरलाइन्सले मात्रै गर्दै आएको छ’, मानन्धर भन्छन्, ‘नियमित उडान गर्नको लागि विभिन्न चरणका छलफल भइरहेका छन्। हामीले चाहेको गन्तव्यमा भारतले अनुमति दिए उडान सुरु गर्छौँ।’

भारतमा चार्टर्ड उडान गर्दै आएको श्री एयरलाइन्स भारतमा नियमित उडानको लागि योजना बनाई छलफलको चरणमा छ। दक्षिण एसियामा उडान भर्ने योजना रहेको उनको भनाइ छ। सुरुमा भारतका अधिकांश सहरमा उडान भरी धार्मिक यात्रु भित्र्याउने श्री एयरलाइन्सको योजना छ। 

कम्पनीले भविष्यमा १५० सिट क्षमताका एयरबस २२० ल्याएर उडान भर्ने योजना बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .