ad ad

कला


विष्णु माझीको नयाँ तीज गीतमा पनि ‘भ्युजको बाढी’, ट्रेन्डिङमा सधैँ किन पछाडि?

विष्णु माझीको नयाँ तीज गीतमा पनि ‘भ्युजको बाढी’, ट्रेन्डिङमा सधैँ किन पछाडि?

लक्ष्मी बलायर
भदौ १४, २०८१ शुक्रबार ९:१५, काठमाडौँ

हरेक वर्ष तीज लागेसँगै चर्चित गायिका विष्णु माझीको गीतको व्यग्र प्रतीक्षा हुन्छ। कतिपय दर्शक-स्रोताले विष्णुका गीत सुनेपछि मात्रै तीज आएको अनुभूति गर्छन्।

हुन पनि विष्णुका गीतहरूमा नेपाली मौलिकता झल्किन्छ। दिदीबहिनाका पीडा अनि वेदना समेटिन्छन्। छाडापन बढेको गुनासो आइरहँदा विष्णुका गीत उदाहरण बनिदिन्छन्।

यो वर्ष पनि त्यस्तै भयो। साउन सुरू भएसँगै धमाधम तीज गीत रिलिज हुन थाले। युट्युबमा लगभग तीन सय गीत सार्वजनिक हुँदा खासै चलेनन्। केही गीतबाहेक धेरैमा द्विअर्थी शब्द र छाडापन देखियो।

यस्तोमा गत शनिबार विष्णुको स्वरमा ‘आईन आमा यो तीजमा’ सार्वजनिक भयो। मौलिक शब्द। त्यसमाथि गुमनाम गायिका विष्णुको मन्त्रमुग्ध स्वर। तारिफै तारिफ। टिकटकदेखि सामाजिक सञ्जालभरि चर्चा भयो।

युट्युबमा त भ्युजको बाढी नै आयो भन्दा फरक नपर्ला! किनकि यो गीत एकदिनमा सर्वाधिक हेरिने नेपाली गीत हो। यस गीतलाई २४ घण्टामा १५ लाखभन्दा बढीपटक हेरिएको थियो। यसअघि कुनै पनि गीतले एक दिनमा यति भ्युज पाउन सकेका थिएनन्।

सपना म्युजिक इन्ड्रस्ट्रिज युट्युब च्यानलमा सार्वजनिक गीतले यो सामग्री तयार पार्दासम्म ६९ लाखभन्दा भ्युज पाइसकेको छ। २ लाख ६३ हजारले लाइक गर्दा भिडिओमा २३ हजार कमेन्ट आएका छन्।

‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ। आशिष अविरलले एरेन्ज गरेका हुन् सो गीत।

तर अचम्मको कुरा, चर्चामा रहेको यस गीत यति धेरैले हेर्दा पनि युट्युबको ट्रेन्डिङमा भने छैन। समग्र ट्रेन्डिङ त के म्युजिकतर्फको ट्रेन्डिङमा समेत छैन यो गीत। बरु यसभन्दा कम भ्युज पाएका गीतहरू ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेका छन्।

यस्तो पहिलोपटक भएको होइन। विष्णु माझीका यसअघिका गीतहरू पनि ट्रेन्डिङमा आएका थिएनन्। ३ वर्षअघि तीजकै अवसरमा ‘चरी जेलैमा’ गीत सार्वजनिक भएको थियो। चर्चित यस गीतले युट्युब १३ दिनमै एक करोड भ्युज पाएको थियो।

त्यसैवर्ष विष्णुका दसैँतिहारलक्षित र दोहोरी गीतहरू पनि सार्वजनिक भए। जुन गीतहरूले पनि युट्युबमा राम्रो भ्युज बटुले। त्यसको अर्को वर्षको तीजमा विष्णुले ‘चरी जेलैमा २’ गीत ल्याइन्। सो गीतलाई पनि दर्शकहरूले मन पराएका थिए। गतवर्षको तीजमा सार्वजनिक गीत ‘बलमा’ ले पनि राम्रै भ्युज पाएको थियो।

आजभोलि एक/दुई लाख भ्युज पाएका गीतहरू पनि युट्युब ट्रेन्डिङमा आउने गरेका छन्। तर, अत्याधिक भ्युज पाउँदा पनि आखिर किन विष्णुका गीत ट्रेन्डिङमा आउँदैनन्?

कुनै युट्युब च्यानलबाट अपलोड गरिएको भिडिओ ट्रेन्डिङमा नआउने समस्या देखिएको डिजिटल कन्टेन्ट म्यानेजर राजेन्द्र अर्याल बताउँछन्।

‘कुनैकुनै च्यानलबाट अपलोड गरेको भिडिओ ट्रेन्डिङमा आउँदैनन्। कुनैबेला च्यानल बिग्रिएको भए पनि आउँदैनन्। हुन त मैले नै भिडिओ अपलोड गरेको हुँ तर ठ्याक्कै के कारण आउँदैन, त्यो थाहा छैन। सन् २०१८ तिर युट्युब अपडेट भएको थियो। सायद उहाँहरूले त्यो बेला अपडेट गर्नुभएन कि!’ उनले भने।

कम्पनीको च्यानलभन्दा अफिसियल च्यानलबाट अपलोड गरिएका भिडिओहरू ट्रेन्डिङमा बढी आउने गरेको अर्यालको भनाइ छ।

भन्छन्, ‘कम्पनीको च्यानलभन्दा म्युजिकको लोगो राखिएको अफिसियल च्यानलमा राखिएको गीतहरू बढी ट्रेन्डिङमा आउँछन्। उहाँको गीत कम्पनीको च्यानलमार्फत सार्वजनिक हुँदै आएका छन्। उक्त च्यानलमा आएका गीतहरू ट्रेन्डिङमा आएका छैनन्।’

ट्रेन्डिङमा नआउने समस्या बेलाबखत आफूले पनि भोग्नुपरेको ओएसआर डिजिटलका ओम अग्रवालले सुनाए।

‘कहिलेकाँही च्यानलमा कपिराइट लगायतको समस्या आउँदा ट्रेन्डिङमा नआउने समस्या हुनसक्छ। हाम्रो च्यानलमा चारपाँच महिनासम्म ट्रेन्डिङमा नआएका पनि छन्। फिल्म बोक्सीको घर को गीत ‘बुझिनँ मैले’ एक दिनमा पाँच करोड बढी भ्युज हुँदा पनि ट्रेन्डिङमा आएको थिएन। सपना म्युजिकमा पनि केही समस्या भएको हुनसक्छ।’

अर्यालका अनुसार विभिन्न कारण अन्य कलाकारहरूका गीतहरू पनि ट्रेन्डिङमा आउँदैनन्। पशुपति शर्मादेखि प्रकाश सपुत र दुर्गेश थापाले पनि यो समस्या भोगिसकेका छन्।

केही समय लोकदोहोरी गायक पशुपति शर्माको युट्युब च्यानलबाट अपलोड भएका गीतहरू ट्रेन्डिङमा नआउने समस्या थियो। तर, उक्त च्यानललाई अफिसियल च्यानलमा कन्भर्ट गरेपछि समस्या समाधान भएको सुनाउँछन् उनी।

‘सुरुमा यस्तो समस्या आउँदा युट्युबलाई मेल पठाइन्छ। त्यसपछि अफिसियल च्यानलमा कन्भर्ट गरेर समस्या समाधान हुन्छ। गायकद्वय पशुपति र प्रकाश सपुतको यसैगरी समाधान गरिएको थियो। तर, उहाँहरूले खासै चासो देखाउनुभएको छैन। ट्रेन्डिङमा नआए पनि युट्युबबाट पैसा आउने क्रम चाहिँ रोकिँदैन। त्यसैले पनि होला,’ उनले भने।

यद्यपि, गायक दुर्गेश थापाको भने यो समस्या समाधान हुन सकेन। सुरुवातमा ट्रेन्डिङमा आए पनि पछि यो समस्या देखिएको थियो। तर, अनेक गरे पनि समस्या समाधान हुन सकेन। अन्तत: दुर्गेशले १०/१२ लाख रूपैयाँ खर्चेर अर्को च्यानल किने। हाल उनले ‘डी सिरिज’ युट्युब च्यानलमार्फत आफ्ना गीतहरू सार्वजनिक गर्दै आएका छन्।

‘त्यो बेला ट्रेन्डिङलाई निकै मान्ने चलन थियो। दुर्गेशजीको च्यानलमा पनि यो समस्या आएको थियो। तर, इमेल पठाएर म्युजिकको लोगोसहित अफिसियल बनाउँदा पनि समस्या समाधान भएन। पछि उहाँले अर्को युट्युब च्यानल किन्नुभयो,’ अर्यालले भने।

केही वर्षयता विष्णुले अन्य स्रष्टाका गीतमा स्वर दिएकी छैनन्। म्युजिक निर्माताहरूले महँगो पारिश्रमिक दिए पनि उनी श्रीमान् सुन्दरमणिका गीत मात्रै गाउँछिन्। उनका सबै गीतहरू सपना म्युजिक इन्ड्रस्ट्रिजमार्फत सार्वजनिक हुँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .