कला


एलिनाले यसरी श्रीमान्‌को खुट्टा ढोगेपछि...

एलिनाले यसरी श्रीमान्‌को खुट्टा ढोगेपछि...

नेपालखबर
बैशाख १२, २०८१ बुधबार २२:२०, काठमाडौँ

हालै विवाह बन्धनमा बाँधिएकी एलिना चौहानले घोप्टो परेर श्रीमान् विष्णु सापकोटाका खुट्टा ढोगेका तस्बिर तथा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छन्।

खासगरी महिलावादी अभियन्ता आरती चटौतले उक्त दृश्यको कडा आलोचना गरेपछि यो यतिबेला एउटा बहसकै विषय बनिरहेको छ। कति परम्पराका पक्षमा देखिएका छन्, कतिपयले कडा विरोध गरिरहेका छन्।

टेलिभिजन पत्रकारसमेत रहेकी चटौतले एलिनाले पति विष्णुको खुट्टा ढोगिरहेका तस्बिर सेयर गर्दै ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको नमुना दृश्य’ भनी कटाक्ष गरेकी छन्। 

‘यो दृश्य पितृसत्ताले महिलालाई दास नै मान्छ र आजको समाजवाद उन्मुख समावेशी लोकतन्त्रमा समेत यो कुसंस्कार, शिक्षित भनिएकामा समेत उस्तै गरी छ भन्ने दरिलो उदाहरण हो चटौतले लेखेकी छन् अनि हरेक पक्षबाट महिलाको हैसियत नै सशक्त भए पनि पुरुष मात्र पुरुष भएको कारणले ‘भगवान्’ नै हुन्छ भन्ने परम्परागत गलत सोच कहीँ कसैका लागि थप सिकाइ नबनोस्, यो हाम्रो सरोकारको विषय बन्नुपर्छ!’

यस्तो छ उनको पूरा टिप्पणी:

समाजवाद उन्मुख समावेशी लोकतन्त्रको यो ‘नमुना दृश्य’ !!

हालैको एक भिडिओमा एलिना चौहानले विष्णुको खुट्टा समातेर निरन्तर ढोगिरहेको र त्यसबापत हात थापेर ‘मागेको’ र विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रुपैयाँबाट सुरु गरी, दस, बीस गर्दै दिएको... उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यसलाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जो कोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ! (हामीले सो भिडिओ पुन: प्रयोग गर्न उचित ठानेनौँ)

नवविवाहित यो जोडीमा हामी नेपालकी चर्चित गायिका एलिना चौहानलाई चिन्छौँ, अनि उनकै कारणले विष्णु सापकोटालाई पनि चिन्यौँ। 

चर्चामा रहेको यिनको विवाहपछिको एक भिडिओले हाम्रो समाजलाई ठूलो चुनौती दिएको छ। यहाँ यो प्रसंगलाई ‘रमिता’का रूपमा हाँसो मजाकका साथ गरिँदै छ।

 तर यो रमाइलो पटक्कै होइन। यो दृश्य पितृसत्ताले महिलालाई दास नै मान्छ र आजको समाजवाद उन्मुख समावेशी लोकतन्त्रमा समेत यो कुसंस्कार, शिक्षित भनिएकामा समेत उस्तैगरी छ भन्ने दरिलो उदाहरण हो।

अनि हरेक पक्षबाट महिलाको हैसियत नै सशक्त भए पनि पुरुष मात्र पुरुष भएको कारणले ‘भगवान्’ नै हुन्छ भन्ने परम्परागत गलत सोच कहीँ कसैका लागि थप सिकाइ नबनोस्, यो हाम्रो सरोकारको विषय बन्नुपर्छ।

सहजीवनको सुरुवात सहअस्तित्वको स्वीकारोक्तिबाट हुनुपर्छ, असमान व्यवहारबाट हैन। जीवनसाथीमा कोही मालिक र कोही दासीको रूपमा हुनु हुँदैन।

कुनै पनि सम्बन्ध तब सही र दिगो हुन्छ जब एक अर्काप्रतिको प्रेमसँगै परस्पर सम्मान र विश्वास हुन्छ, सहअस्तित्वको कसीमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .