आउँदो पुस १३ गते गण्डकी प्रदेशका जेष्ठ सदस्यको सपथ हु्ने भएको छ।
प्रदेश प्रमुखको कार्यालय गण्डकीले बुधबार सूचना जारी गर्दै पुस १३ गते जेष्ठ सदस्यको सपथ मिति तय गरेको हो। गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन्।
तीमध्ये पर्वतको ‘ख’बाट विजयी भएका मित्रलाल बस्याल हालसम्म जेष्ठ सदस्यको रुपमा देखिएका छन्। २०१४ साल भदौ ५ गते जन्मिएका उनी २ दिनले मात्र अर्का सांसद कास्की २ ‘ख’बाट विजेता बनेका विन्दुकुमार थापाभन्दा २ दिनले जेठा रहेका छन्।
यद्यपि, प्रदेश प्रमुखको कार्यालयले जेष्ठ सदस्य को भन्ने किटान गरेको छैन। थापा गण्डकीका बहालवाला कानूनमन्त्री हुन्। जेष्ठ सदस्यको सपथपछि बाँकी सांसदको सपथको बाटो खुल्नेछ। बाँकी सांसदलाई उनैले सपथ गराउने छन्। त्यसलगत्तै संसदीय प्रक्रिया सुरु हुनेछ। बाँकीको सपथ पुस १४ गते हुनेछ।
शनिबार निर्वाचन आयोगका आयुक्त विष्णुप्रसाद पौडेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका थिए। संविधानको धारा १८३ को १ मा भनिएको छ,‘ प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्नेछ। त्यसपछि यस संविधान बमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्नेछ।’
संविधानको सोही प्रावधान अनुसार अबको १५ दिनमा संसद बैठक र ३० दिनभित्रै यहाँ नयाँ सरकार निर्माणको हुनुपर्छ।
Shares
प्रतिक्रिया