गण्डकी


अनुहारभरि मौरी राखेर चर्चा कमाएका लामिछानेले गराए मह खाने प्रतियोगिता

अनुहारभरि मौरी राखेर चर्चा कमाएका लामिछानेले गराए मह खाने प्रतियोगिता

मह खाने प्रतियोगितामा सहभागीहरू


रासस
माघ ८, २०८० सोमबार ९:२५, गण्डकी

सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेका व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।

विसं २०६० मा रु तीन/तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन्।

आफ्नो अनुहारभरि मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्यान्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन्। अनुुहार भरी मौरीलाई राखेको उनको तस्बिरले सन् २०१६ मा विभिन्न सञ्चारमाध्यममा स्थान पाएको थियो।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनुु नपर्ने जिकिर गरे। बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २०औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन्। 

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन्। त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल  र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने। पोखरा–३१ की सिर्जना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कार पाइन्।

कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुुई  मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए। 

विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह पुरस्कार दिएका थिए। प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो।

नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको  जनाउँदै उनले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए।

उद्योगमा महको माग अत्यधिक रहेको बताउँदै उनले प्रतिकिलोग्राम रु एक हजार पाँच सयको दरले बिक्री वितरण भइरहेको जानकारी दिए। वार्षिक करिब एक हजार पाँच सय किलोग्राम मह उद्योगबाट उत्पादन भई बिक्री भइरहेको बताउँदै उनले अन्य विभिन्न फार्मबाट समेत थप एक हजार पाँच सय किलोग्राम मह खरिद गरी बिक्री गर्ने गरिएको जानकारी दिए।

महबाटै परिवारको पालनपोषण, पठनपाठनका साथै पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .