गण्डकी


लमजुङको जिताले ल्यायो मदिरासम्बन्धी यस्तो नियम, नमान्नेलाई सुविधाबाट वञ्चित गरिने

लमजुङको जिताले ल्यायो मदिरासम्बन्धी यस्तो नियम, नमान्नेलाई सुविधाबाट वञ्चित गरिने

नेपालखबर
चैत २, २०८० शुक्रबार १३:१, लमजुङ

लमजुङको मध्यनेपाल नगरपालिका-१, जिताले मादक पदार्थ सेवन तथा बिक्री वितरण सम्बन्धमा निश्चित समय तोकेको छ।

वडा समितिबाट निर्णय गरी यस वडाका सरकारी कार्यालय तथा संघसंस्थाबाट तीन सय मिटरको क्षेत्रभित्र मादक पदार्थ बिक्री वितरण तथा सेवनका लागि निश्चित समय तोकिएको हो।

वडा अध्यक्ष सुदिप थापाको हस्ताक्षरमा जारी गरिएको सूचनाअनुसार यही चैत ५ गतेदेखि यो नियम लागू हुनेछ।

जसअनुसार चैत ५ गतेदखि कात्तिक मसान्तसम्म बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म र मंसिर १ गतेदेखि चैत ४ गतेसम्म बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कुनै पनि प्रकारको मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न पाइने छैन।

यो समयावधिपछि पनि अनुमति प्राप्त गरेका व्यापारीले बेलुका दुई घण्टा मात्र मादक पदार्थ बिक्री वितरण गर्न पाउनेछन्।

जसअन्तर्गत चैत ५ गतेदेखि कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म र मंसिर १ गतेदेखि चैत ४ गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ।

यो नियमको बेवास्ता गरी गतिविधि गरेको खण्डमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने सूचनामा भनिएको छ। यसका साथै, बिक्रीका लागि राखिएका मदिरा नियन्त्रण गरिनुका साथै र घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री समेत जफत गरिने वडा कार्यालयको सूचनामा जनाइएको छ।

मादक पदार्थको नियन्त्रण सम्बन्धमा गरिएको यो कदमबारे नेपालखबरले वडा अध्यक्ष सुदिप थापासँग जिज्ञासा राखेको थियो।

बिहानैदेखि मदिरा पिएर समाजको शान्ति सु-व्यवस्थामा खलल पुर्‍याउन थालेपछि यस्तो कदम चाल्नुपरेको उनी बताउँछन्।

‘गाउँघरमा प्रायः बुढाबुढी मात्र छन्। भएका सीमित युवा पनि जथाभावी मदिरा पिएर होहल्ला गर्न थाले,’ अध्यक्ष थापा भन्छन्, ‘वडाभित्र रहेका पसलेलाई मौखिक रूपमा भन्दा मानेनन्, त्यसैले नियम नै बनाएर अघि बढ्नुपर्ने भयो।’

लमजुङ, मध्यनेपाल नपा, वडा नं. १ को कार्यालय

त्यसो त, मादक पदार्थ सेवन गर्ने यो समस्याबाट घरपरिवारका मानिस पनि दिक्क बनेको र यसको नियन्त्रणको उपाय यही नै भएको थापाले बताए।

‘वडाभित्र प्रहरी चौकी छैन। मादक पदार्थ सेवन गरी झगडा गर्ने र यस्तो हुँदा राति १२ बजे पनि जनप्रतिनिधि दौडिनुपर्ने अवस्था आयो,’ थापा थप्छन्, ‘आफू घरमा काम पनि नगर्ने र श्रीमतीले दुःखजिलो गरेर कमाएको धन समेत मदिरामा खर्च गरिदिने गर्नाले कार्यालयमा धेरै गुनासो आए। यसले गर्दा पनि हामी यो कदम उठाउन बाध्य भयौँ।’

कतिपय मान्छे त अझ वडा कार्यालयमै आउँदा पनि मदिरा पिएर आउने र जथाभावी बोल्ने गर्दा काम गर्नै अप्ठ्यारो स्थिति पैदा भएको अध्यक्ष थापाले सुनाए।

नियम त लागू गर्नुभयो, कार्यान्वयन कसरी गर्नुहुन्छ? भन्ने नेपालखबरको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘आजबाट पत्राचार गर्न सुरु भएको छ। प्रहरीको सहयोगमा अनुगमन हुन्छ।’

त्यसो त मध्यनेपाल नगरपालिकाको हरेक वडा तहमा प्रहरी पोस्टको व्यवस्था छैन। ३/४ वटा वडालाई समेट्ने गरी एक पोस्ट राखिएका छन्।

अध्यक्ष थपा वडा नं. १ (जिता) भौगोलिक क्षेत्रफलको आधारमा पनि ठूलो रहेको र बाटोघाटोको दृष्टिकोणले समेत अन्यको तुलनामा अलि ‘विकट’ रहेकोले यस वडालाई छुट्टै प्रहरी पोस्टको व्यवस्था गर्न आफ्नो माग रहेको बताउँछन्।

मादक पदार्थ सेवनसम्बन्धी समस्या आफ्नो वडामा मात्र नभई अन्य वडामा समेत देखेको थापा बताउँछन्।

त्यसैले, यस सम्बन्धमा नगरपालिकाले नै कदम चालोस् भन्ने आफूले चाहेको र पटक पटक कुरा उठाएको पनि उनले स्मरण गरे।

तर, पालिकाबाट तत्काल केही हुने छनक नदेखेपछि वडा तहमै मात्र भए पनि लागू गर्न आफूले पहल थालेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .