गण्डकी


जातीय छुवाछूत हटाउन गाउँपालिकाले थाल्यो यस्तो अभियान

जातीय छुवाछूत हटाउन गाउँपालिकाले थाल्यो यस्तो अभियान

नेपालखबर
चैत २१, २०८० बुधबार ६:४२, तनहुँ

‘जातीय विभेद गर्न हुँदैन भनेर भाषण गरेर मात्रै समाजबाट छुवाछूत हट्दैन’, तनहुँ ऋषिङ गाउँपालिका–३ दुवुङस्थित मगर गुठ समाजका अध्यक्ष लालबहादुर आलेमगरले भने, ‘सबै जात एउटै हो भन्ने कुरा अब व्यवहारमै देखिनुपर्छ। बल्ल जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन सकिन्छ।’

ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानमा गरिएको सुझाव सङ्कलनका क्रममा गुठी समाजका अध्यक्ष आलेमगरले आफूहरुले जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन गुठ समाजमा दलितहरु समेत मिसाएको बताए। दुवुङमा रहेका ६५ घर मगरसँगै ६ घर दलितलाई समावेश गरेर मगर गुठ बनाइएको अध्यक्ष आलेमगरको भनाइ छ।

ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानका क्रममा ऋषिङ १, २, ३, ४ र ५ मा सर्वपक्षीय कार्यक्रम गरिसकिएको पालिकाले जनाएको छ। अभियानका क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजातिलगायत सँग परामर्श, छलफल गरिएको थियो।

ऋषिङ–१ झापुटारमा वडाअध्यक्ष कुशबहादुर थापा, ऋषिङ–२ काहुँशिवपुरमा वडाअध्यक्ष दलबहादुर थापा, ऋषिङ–३ दुवुङमा वडाअध्यक्ष भीमबहादुर थापा, ऋषिङ–४ भिरकोटमा वडाअध्यक्ष प्रेमराज श्रेष्ठ र ऋषिङ–५ राम्जाकोटमा वडाअध्यक्ष बुद्धिमान रानामगरलगायत पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,  पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटलगायतले सहभागीबाट उठेका जिज्ञासाको समाधान र सुझावअनुसार आगामी कार्यक्रम तय गर्न आफूहरु प्रतिबद्ध रहेको बताएको कार्यपालिका सदस्य दिलबहादुर नेपालीले जानकारी दिए। 

समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतलाई हटाउन आफूहरुको साथ र सहयोग रहने ऋषिङ–१ झापुटारस्थित शुक्ला माविका प्रधानाध्यापक केशर थापामगरले बताए। ‘ऋषिङ गाउँपालिकाको कार्यालयले छुवाछूत हटाउन गरेको कार्यक्रमलाई सकारात्मक रुपमा लिएको छु’, प्रधानाध्यापक थापामगरले भने, ‘वैज्ञानिक समाजमा पनि जातीय विभेद हामीले मान्ने कुरा हुँदैन। यसलाई हटाउन सबै जुट्न आवश्यक छ।’

दलित समुदायलाई मात्रै भेला गरी कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकाले दलित र गैरदलितसहितको कार्यक्रम गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न छलफल गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। पालिकालाई पाँच वर्षभित्र छुवाछूत र जातीय विभेदमुक्त बनाउन विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरबाट अभियान व्यापक गर्ने गरी छलफल थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

आफू जहिल्यै ऋषिङको जनताको आवश्यकता र विकासको पक्षमा रहेकाले कहिल्यै ऋषिङको जनता र विकासप्रति धोका र घात नगर्न प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। ‘जातीय विभेद र छुवाछूतलाई साथमा लिएर समृद्ध ऋषिङ गाउँपालिका बनाउन सकिने कुरा भएन’, अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले सबै वडाबाट छुवाछूत र जातीय विभेदविरुद्धको अभियान थालेका हौँ।’

अभियानका क्रममा शिक्षक, विद्यार्थी, युवा, महिला, दलितलगायत अपाङ्गता भएकाहरु, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग समेत परामर्श गरिएको र सोही सल्लाह, सुझावअनुसार आगामी कार्यक्रम तय गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .