ग्लोबल


इमरान खानलाई पक्रिन नसकेपछि फर्कियो प्रहरी

इमरान खानलाई पक्रिन नसकेपछि फर्कियो प्रहरी

नेपालखबर
चैत १, २०७९ बुधबार १८:२९,

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रिन प्रहरी असफल भएको छ। उनलाई पक्रिन लाहौरस्थित उनको घरमा पुगेको प्रहरी र त्यसलाई रोक्न आएका समर्थकहरुबीच लामो समय घम्साघम्सी चलेको थियो।

उनलाई पक्रिने प्रयासमा प्रहरीले टियर ग्यास समेत प्रहार गरेको थियो। तर, हालका लागि उनलाई पक्राउको प्रयास छाडिएको छ।

बुधबार लाहौरमा पीएसएलको क्रिकेट खेल हुने भएकाले त्यसमा बाधा उत्पन्न हुन नदिन भन्दै अदालतले बिहीबारसम्मका लागि पक्राउ अपरेसन रोक्न आदेश दिएको बताइएको छ।

१९ मार्चमा पीएसएलको फाइनलपछि सो अपरेसन फेरि सुरु हुने एक मन्त्रीले बताएका छन्।

प्रहरी फर्केपछि खानले बाहिर निस्केर समर्थकहरुलाई सम्बोधन गरेका छन्। गिरफ्तारीको बहानामा आफूलाई अपहरण गरी हत्या गर्ने योजना सरकारले बनाएको उनको आरोप छ।

गत अप्रिलमा सत्ताच्यूत गरिएका खानमाथि राज्यलाई प्राप्त उपहार बेचेको आरोप लगाइएको छ। जसलाई उनले अस्वीकार गरेका छन्।

अदालतमा हाजिर नभएपछि मंगलबार प्रहरी उनलाई पक्रिन पुगेको थियो। तर, समर्थकहरुले प्रहरीलाई रोक्दा झडप भएको थियो।

सो अदालतमा आफूमाथि दुई पटक हमला भइसकेको भन्दै उनले त्यहाँ जान अस्वीकार गरेका छन्। शनिबार आफू अदालत पुग्ने उनको भनाइ छ।

पाकिस्तानमा आउँदो अक्टोबरसम्ममा आम चुनाव हुनुपर्ने छ। उनको लोकप्रियता उच्च रहेकोले त्यसअघि जसरी पनि उनलाई थुन्ने योजनामा सरकार रहेको उनको पार्टी पीटीआईको आरोप छ।

गत नोभेम्बरमा खानको हत्या प्रयास भएको थियो। जसमा उनको खुट्टामा गोली लागेको थियो। सरकारको षड्यन्त्रमा सो आक्रमण भएको आरोप उनले लगाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .