ग्लोबल


सुडानका यी दुई जर्नेल : जो मिल्दा कू भयो, भिड्दा गृहयुद्ध

सुडानका यी दुई जर्नेल : जो मिल्दा कू भयो, भिड्दा गृहयुद्ध

नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:४९,

सुडानमा तीन दिनदेखि लडाइँ जारी छ। सेना र मुलुकको अर्धसैन्य बलबीच शनिबार सुरु भएको लडाइँमा परी हालसम्म करिब सय जनाको ज्यान गइसकेको छ। सयौँ घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समुदायले यो लडाइँ रोक्न आह्वान गरेको छ। तर, त्यसलाई द्वन्द्वरत पक्षले सुन्ने छाँट देखिएको छैन। यसले सुडानको लोकतन्त्रतर्फ फर्किने यात्रा नै रोकिने भय पनि बढेको छ।

यो लडाइँ चल्नुमा सुडानका दुई जर्नेलको मुख्य हात छ। जसमध्ये एक हुन्, सेना तथा राज्यका प्रमुख जर्नेल अब्देल फतह अल बुर्हान। अर्का हुन् आरएसएफका कमान्डर जर्नेल मोहम्मद हमदान दागालो, उर्फ हेमेती।

पहिले हेमेती अल बुर्हानकै सहयोगी थिए। वास्तवमा उनीहरु मिलेर नै २०२१ मा मुलुकमा सैन्य कू भएको थियो। अहिले उनीहरुबीच झगडा हुँदा मुलुकभर लडाइँ चर्केको छ।

को हुन् अल बुर्हान?
२०१९ को विद्रोहपछि विश्वमाझ चिनिएका भए पनि जर्नेल अल बुर्हान सेनामा धेरै पहिलेदेखि सक्रिय थिए। सन् २००० को दशकमा डार्फरमा द्वन्द्व चर्किएका बेला उनी त्यहीँ थिए। २००८ मा उनी सो क्षेत्रको कमान्डरमा बढुवा भए।

डार्फरमा भएको युद्धअपराधका लागि पूर्वराष्ट्रपति ओमर अल बसिर र अन्य सुडानी अधिकारीहरुमाथि अन्तर्राष्ट्रिय अपराध अदालतले मुद्दा चलाएको छ। तर, अल बुर्हानलाई चलाइएको छैन। उनका पूर्वसहयोगी र अहिलेका दुश्मन दागालो, उर्फ हेमेतीमाथि पनि मुद्दा छैन।

त्यहाँ भएका अत्याचारहरुबाट अल बुर्हानले आफूलाई अलग गर्दै लगेका छन्। जहाँ सेना र आरएसएफले मिलेर विद्रोहीहरुको चरम दमन गरेको थियो। जहाँ ३ लाखभन्दा बढीको ज्यान लिइएको थियो भने २७ लाख मानिस विस्थापित भएका थिए।

विद्रोह, कू र उल्टिएको संक्रमण
२०१८ मा अल बुर्हान सेनाको चिफ अफ स्टाफमा बढुवा भए। उनले जोर्डन र इजिप्ट पुगेर सैन्य तालिम लिइसकेका थिए।

अप्रिल २०१९ मा सुडानमा विद्रोह भयो, जसले अल बसिरको ३० वर्षे शासन ढाल्यो। त्यतिबेला अल बुर्हान सेनाको इन्स्पेक्टर जेनरल थिए, जुन जर्नेलहरुको वरिष्ठता क्रममा तेस्रो स्थान हो।

बसिरको सत्ता उल्टिँदा उनका रक्षामन्त्रीको पनि विरोध भएको थियो। त्यसैले सत्तापलटपछि शासन चलाउन गठन गरिएको संक्रमणकालीन सैन्य परिषद् (टीएमसी) को प्रमुखमा अल बुर्हानलाई चयन गरियो।

केही महिनापछि अन्तर्राष्ट्रिय दबाबका कारण सेनाले नागरिकहरुसँग सत्ता साझेदारी गर्नुपर्ने भयो। त्यसका लागि सार्वभौम परिषद् गठन गरियो। 

सो परिषदको प्रमुखको नाताले अल बुर्हान राज्यप्रमुख भए। जसले लोकतन्त्र पक्षधर पार्टीहरुसँग सहकार्य गर्दै चुनाव गराउनुपर्ने थियो।

तर, २०२१ मा अल बुर्हान र उनका उपकमान्डर जर्नेल हेमेतीले मिलेर सैन्य कू गरे। 

अल बुर्हानले यूएई, साउदी अरब र इजिप्टसँग राम्रो सम्बन्ध राखे। यी मुलुकले नै अल बसिरलाई हटाउने कार्यको समर्थन गर्न यी दुई जर्नेललाई प्रेरित गरेका थिए।

को हुन हेमेती?
हेमेती यतिबेला सुडानको सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक हुन्। उनी पनि २०१९ मा गठित संक्रमणकालीन परिषद्का उपाध्यक्ष भएपछि चर्चामा आएका जर्नेल हुन्। 

हेमेतीको नेतृत्वमा रहेको आरएसएफ र सेना मिलेर २०२१ मा गरेको सैन्य कूले नै नागरिक–सैनिक संयुक्त शासन अन्त्य भयो। 

उनी डार्फरमा १९७४ मा जन्मेका हुन्। तीन कक्षामा हुँदै पढाइ छाडेका उनी पछि उँट व्यापारी बने। 

डार्फरमा हिंसा हुँदा उनको व्यापारमाथि पनि आक्रमण भयो। उनको परिवारका ६० जना मारिएको र उँट लुटिएको पनि बताइन्छ। 

त्यसपछि उनी जन्जाविड नामक एक मिलिसियामा भर्ती भए। जो डार्फर र चाडमा सक्रिय थियो।

उनी छिटोछिटो बढुवा हुँदै गए। त्यसैले तत्कालीन राष्ट्रपति अल बसिरको नजरमा पर्न सफल भए। जसले जन्जाविड मिलिसिया भर्ती गरेर विद्रोही दमन गर्न डार्फर पठाउने गरेका थिए।

दागालो चाँडै जन्जाविडको कमान्डर बने। सो समूहले डार्फरमा हत्या, बलात्कार, यातनाजस्ता अपराध गरेको मानवअधिकारवादी समूहहरुको आरोप छ।

सन् २०१३ मा दागालोको नेतृत्वमै आरएसएफ गठन गरियो। त्यसमा जन्जाविडलाई पनि मिसाइएको थियो।

अल बसिरका सहयोगी र शत्रु
लगत्तै दागालोलाई थप वैधता दिइयो। दागालोका लडाकुले डार्फर र अन्यत्र पनि आफ्ना दुश्मन नष्ट गरेकाले राष्ट्रपति अल बसिर प्रभावित भएका थिए।

दागालोलाई लेफ्टिनेन्ट जर्नेलको पद दिइयो। उनले डार्फरका सुनखानी पनि कब्जा गरे र सम्पत्ति ह्वात्तै बढाए।

‘उच्च पदमा पुगेपछि हेमेतीको आफ्नै व्यापारिक स्वार्थ पनि बढ्यो। सुनखानी, चौपाया र पूर्वाधारमा उनको परिवारको सम्पत्ति बढ्दै गयो,’ एक अध्येता आदिल अब्दुल गफार बताउँछन्।

लामो समयदेखि अल बसिरको सहयोगी रहेका र उनीबाट खुब फाइदा लिए पनि दागालो उनकै शासन पल्टाउन सहभागी भए। 

अल बसिर हटेपछि संक्रमणकालीन अवस्थामा दागालोको प्रभाव झन् बढ्दै गयो। संक्रमणकालीन सैन्य परिषद्को उपप्रमुख भएका उनी सार्वभौम परिषदको पनि हिस्सा रहे।

सदाझैँ विपक्षीहरुको दमनमा उनी खरो उत्रिए। उनको आरएसएफले २०१९ मा रक्षा मन्त्रालयबाहिर भएको प्रदर्शनमा १ सय जनाभन्दा बढीको हत्या गर्यो। तर, त्यसको आदेश आफूले नदिएको उनको भनाइ छ।

केही समययता सेना र आरएसएफबीच तनाव बढिरहेको थियो। गत डिसेम्बरमा सेना, आरएसएफ र राजनीतिक दलहरुबीच एउटा सहमति भयो। जसअनुसार सेना ब्यारेकमा फर्किने र आरएसएफ सेनामै समायोजन हुने तथा नेतृत्व पनि एकै हुने कुरा मान्न सेना तयार भएको थियो।

तर, त्यसपछिका सहमतिमा हस्ताक्षर गर्ने मिति नजिकिँदै जाँदा उनीहरुबीच मतभेद बढ्दै गयो। जसले अहिले युद्धकै रुप लिन पुगेको छ।

सोमबार अल बुर्हानले आरएसएफ भंग गर्न आदेश दिएका छन् भने हेमेतीले अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .