२०२२ मा विश्वको सैन्य खर्च हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो वर्ष २.२४ ट्रिलियन डलर खर्च भएको छ।
गत वर्ष युरोपभरको सैन्य खर्चमा व्यापक वृद्धि भएको छ। रुसले युक्रेनमा आक्रमण गरेकाले त्यसको असरस्वरुप सैन्य खर्च बढेको बताइएको छ।
तर, यसरी सैन्य खर्च बढ्न थालेको यो लगातार आठौँ वर्ष भएको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको छ।
सोमबार आफ्नो वार्षिक रिपोर्ट सावर्जनिक गर्दै इन्स्टिच्युटले युरोपको सैन्य खर्चमा यो वर्ष १३ प्रतिशतले वृद्धि भएको जनाएको छ, जुन ३० वर्षयताकै सबैभन्दा उच्च हो।
‘पछिल्ला वर्षहरुमा विश्वभर लगातार सैन्य खर्च वृद्धि हुनु हामी झनझन् असुरक्षित हुँदै गएको विश्वमा छौँ भन्ने संकेत हो,’ इन्स्टिच्युटले भनेको छ।
रुसका नजिक रहेका मुलुकहरुले धेरै सैन्य खर्च वृद्धि गरेका छन्। फिनल्यान्डले सैन्य खर्च ३६ प्रतिशत र लिथुवानियाले २७ प्रतिशतले वृद्धि गरेका छन्।
रुससँग सीमा जोडिएको फिनल्यान्ड हालै नेटोको ३१ औँ सदस्य बनेको छ।
युद्धरत युक्रेनले भने आफ्नो सैन्य खर्च ६ गुणा बढाएर ४४ अर्ब डलर पुर्याएको छ। उसले जीडीपीको ३४ प्रतिशत सेनामा खर्च गरेको छ।
रुसको सैन्य खर्चमा ९.२ प्रतिशतले वृद्धि भएर ८६.४ अर्ब डर पुगेको छ। यो रुसी जीडीपीको ४.१ प्रतिशत हो।
सबैभन्दा धेरै सैन्य खर्च गर्ने मुलुक भने अमेरिका नै हो। उसले २०२२ मा मात्रै ८ सय ७७ अर्ब डलर खर्च गरेको छ। जुन विश्वकै सम्पूर्ण सैन्य खर्चको ३९ प्रतिशत हो।
गत साल उसले युक्रेनलाई झण्डै २० अर्ब डलर सैन्य खर्च दिएको छ।
दोस्रो स्थानमा चीन छ। उसले २०२२ मा २ सय ९२ अर्ब डलर सैन्य खर्च गरेको छ। अघिल्लो सालको तुलनामा यो ४.२ प्रतिशतले बढी हो।
अर्कोतिर जापानले पनि सैन्य खर्च झण्डै ६ प्रतिशतले बढाएर ४६ अर्ब डलर पुर्याएको छ। एजेन्सी
Shares
प्रतिक्रिया