ग्लोबल


मोदीलाई बेनर्जीको चेतावनी : मुस्लिम, गोर्खा र बंगालीलाई भन्दा पहिला मलाई देश निकाला गरेर देखाऊ

मोदीलाई बेनर्जीको चेतावनी : मुस्लिम, गोर्खा र बंगालीलाई भन्दा पहिला मलाई देश निकाला गरेर देखाऊ

शैलेन्द्र समदर्शी
माघ ८, २०७६ बुधबार १२:५५,

पश्चिम बंगलकी मुख्यमन्त्री ममता बेनर्जीले मुस्लिम, गोर्खा र बंगाली समूदायलाई देश निकाला गर्नुपूर्व आफूलाई निकाला गर्न मोदी सरकारलाई चुनौती दिएकी छन्।

नागरिकता संशोधन अधिनियम (सीएए), राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) र राष्ट्रिय जनसंख्या पञ्जी (एनपीआर)को विरोध प्रदर्शनका लागि आइपुगेकी मुख्यमन्त्री बेनर्जीले मोदी सरकारलाई दार्जिलिङबाटै चुनौती दिएकी हुन्।

सरकारका नीति र योजनाविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएकी मुख्यमन्त्री बेनर्जीले बंगालमा आफू जीवित रहुञ्जेल एनआरसी, एनपीआर र सीएएलाई लागू गर्न नदिने प्रतिबद्धता दोहोऱ्याइन्।

‘देशबाट न गोर्खा न बंगाली न मुस्लिम न त अन्य समुदायलाई भाजपाले खेदाउन सक्नेछ। अरूलाई खेदाउनु पहिला मलाई खेदाएर देखाउनुपर्छ’, उनले भनिन्। उनले बंगालमा ‘डिटेन्टन क्याम्प’ बनाउन नदिने पनि ठोकुवा गरिन्।

एनआरसी, सीएए र एनपीआरको विरोधमा प्रदर्शनका लागि सोमबार दार्जिलिङ आइपुगेकी मुख्यमन्त्री बेनर्जीले बुधबार दार्जिलिङमा आयोजित विरोध प्रदर्शनका सहभागी भएकी थिइन्।

प्रदर्शनमा विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा, तृणमूल कंग्रेसलगायत विभिन्न जातगोष्ठीका विकास बोर्डका सदस्यहरूका उल्लेख्य सहभागिता थियो।

प्रदर्शन सुरु गर्नुअघि दार्जिलिङ र कालेबुङ जिल्लामा नागरिकता संशोधन अधिनियम, राष्ट्रिय नागरिक पञ्जी र राष्ट्रिय जनसंख्या पञ्जीलाई लागू गर्न नदिने शपथ पनि लिइएको थियो।

‘भाजपाले गोर्खाहरूलाई सपना देखाएर भाग्ने काम गर्दैछ। यो कुरा मैले ८ वर्षदेखि देखिरहेको छु’, ममताले थपिन्, ‘अहिले एनआरसी, सीएए र एनआरपीले तपाईंहरू समस्यामा परेको देखेपछि म तपाईंहरूको सुरक्षामा बोल्न दौडेर दार्जिलिङ आएको हुँ। पहाडले याे चाहँदैन।’

यसैबीच ममताले कुनै सरकारी कर्मचारी आएर विवरण मागे, कुनै जानकारी नदिने जनतालाई आह्वान गरिन्। ‘हामीसँग मतदाता परिचय–पत्र छ, त्यो नै हाम्रो नागरिकताको परिचय हो। जनताका घर, नोकरी, दोकान आदि नै उनीहरूका नागरिकता हो’, उनले भनिन्, ‘यदि कसैले आफ्ना परिवारका सदस्यहरूका विवरण मागे त्यो दिनुपर्दैन।’

यसका साथै उल्लिखित तीनवटै केन्द्रको निर्णयविरुद्ध आफ्नो लड़ाइँ जारी राख्ने प्रतिवद्धता समेत उनले व्यक्त गरिन्। सो लडाइमा साथ दिन समेत उनले दार्जिलिङका जनतासँग आग्रह गरिन्।

प्रदर्शनमा मख्यमन्त्री बेनर्जीलगायत बंगालका मन्त्रीद्वय इन्द्रनिल सेन, अरूप विश्वास, राज्यसभा सांसद शान्ता क्षेत्री, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा र गोर्खा जनमुक्ति मोर्चा (दोस्रो गुट)का अध्यक्ष विनय तामाङ लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .