ग्लोबल


मोदीसँगै प्राण प्रतिष्ठामा भाग लिँदैछन् मसान घाटमा अन्तिम किरिया गराउने अनिल

मोदीसँगै प्राण प्रतिष्ठामा भाग लिँदैछन् मसान घाटमा अन्तिम किरिया गराउने अनिल

नेपालखबर
माघ ८, २०८० सोमबार १२:३०, काठमाडौँ

भारतको अयोध्यामा बनेको मन्दिरमा सोमबार भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ।

उक्त प्राण प्रतिष्ठालाई भारतीय जनता पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। प्राण प्रतिष्ठा कार्यक्रममै सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि अयोध्या क्षेत्रमा ब्रत बसिरहेका छन्। 

प्राण प्रतिष्ठा कार्यक्रममा मोदीसहित विश्वभरका हिन्दु धर्मका समर्थकहरू भाग लिँदैछन्। यो कार्यक्रममा मोदीसँग मसानघाटका क्रिया गर्ने एक व्यक्ति पनि सहभागी हुँदैछन्। 

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा चलिरहँदा मोदीको साथमा अन्य १५ जना साथमा हुनेछन्। जजमानका रुपमा मोदीसहित सहभागी हुने १५ जनामध्ये एकजना काशीका डोम राजा पनि छन्।

मोदीसहितका यी १५ मानिसमा काशीका डोम राजा अनिल चौधरी एकजना हुन्। डोम राजा अर्थात् अनिल काशीको मसान घाटमा अन्तिम किरिया गर्ने व्यक्ति हुन्। 

डोम राजा अनिल चौधरीसँग उनी आमा जमुनादेवी र पत्नी सपना चौधरी यसअघि नै अयोध्या पुगिसकेका छन्। 

अनिल जब शनिबार काशीबाट अयोध्याका लागि निस्किरहेका थिए, तब डम्मरू बजाउँदै हिन्दु धर्मावलम्बीको एउटा हुलले उनलाई पछ्यायो।

अनिलको परिवारले राम मन्दिरमा चढाउन एउटा चाँदीको त्रिशूल पनि लिएको छ।

द टाइम्स अफ इन्डियाका अनुसार प्राण प्रतिष्ठा कार्यक्रमलाई गृहमन्त्री अमित शाहसहित प्रमुख भाजपा नेताहरूले देशका अलग अलग मन्दिरबाट हेर्ने छन्।

अमित शाह आफ्नो परिवारसहित दिल्लीको बिरला मन्दिरबाट लाइभ स्ट्रिमिङमार्फत प्राण प्रतिष्ठा कार्यक्रम हेर्नेछन्। 

भाजपा अध्यक्ष जेपी नड्डा दिल्लीको झन्डेवालान मन्दिरबाट यस धार्मिक कार्यक्रमलाई हेर्नेछन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित अयोध्यामा केबल केही मन्त्री रहनेछन् जसलाई विशेष जिम्मेवारी दिइएको छ। यिनमा उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र ब्रजेश पाठक छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .