ग्लोबल


चुनावअघि मोदीको भाजपाले यसरी प्रयोग गर्दै छ ‘इन्फ्लुएन्सरहरू’

चुनावअघि मोदीको भाजपाले यसरी प्रयोग गर्दै छ ‘इन्फ्लुएन्सरहरू’

नेपालखबर
फागुन १४, २०८० सोमबार २०:४९,

भारतका सडक यातायातमन्त्री तथा सत्तारुढ भाजपाका वरिष्ठ नेता नितिन गडकरी गत महिना फुड एन्ड ट्राभलमा केन्द्रित सोसल मिडिया इन्फ्लुएन्सर काम्या जानीसँग खाना खान बसे।

जानीको युट्युब च्यानल ‘कर्ली टेल्स’ मा राखिएको गड्करीको करिब एक घण्टा लामो भिडिओ २५ लाख पटक हेरिसकिएको छ। भिडिओमा उनीहरुले गड्करीलाई मनपर्ने खाना, घुम्ने स्थानका बारेमा छलफल गरेका छन् भने घुमाउरो पाराले गड्करीले बनाएको सडकलगायतका कामको प्रशंसा गरेका छन्।

‘पहिले उनी खानाको सौखीन हुन्, त्यसपछि मात्रै नेता,’ भिडिओको ब्लर्बमा भनिएको छ।

उनीहरुको यो रात्रीभोज यस्ता जम्काभेटको बाढीको एउटा अंश मात्र हो। अप्रिल र मेमा हुने अपेक्षा गरिएको आम निर्वाचनअघि भारतमा इन्फ्लुएन्सरहरुको प्रयोग ह्वात्तै बढेको छ।

यो अन्तर्राष्ट्रिय चलन हो। अमेरिकी चुनावी अभियान सञ्चालकहरुले सोसल मिडिया इन्फ्लुएन्सहरुलाई काममा लगाउन करोडौँ डलर खर्च गरिरहेका छन्। राष्ट्रपति जो बाइडेनले इन्टरनेट सेलेब्रिटीहरुका लागि हालै ह्वाइट हाउसमा भोज समेत आयोजना गरे।

तर, अन्यत्रभन्दा भारतमा सोसल मिडिया स्टारहरुले राजनीतिक दलहरुलाई युवासँग जोडिने सुनौलो मौका ज्यादा दिन्छन्। किनकि भारतको १.४ अर्ब जनसंख्यामध्ये दुई तिहाइ हिस्सा ३५ वर्षमुनिका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले आउँदो आम चुनाव जित्ने आकलन गरिएको छ। सो पार्टीले निकै लगनपूर्वक इन्फ्लुएन्सरहरुको सहयोग लिइरहेको छ।

डिसेम्बरमा कर्ली टेल्समा अनुराग ठाकुर आएका थिए। जो भाजपाबाट केन्द्रीय सूचना मन्त्री हुन्। गत बाह्र महिनामा अरु कयौँ क्याबिनेट सदस्य लोकप्रिय सोसल मिडिया च्यानलहरुमा देखा परेका छन्। 

युट्युबर रनवीर अलाहवादियाको ‘बियरबाइसेप्स’ च्यानलमा विदेशमन्त्री एस जयशंकरले दिएको अन्तर्वार्ताले गत जुनयता ८७ लाख भ्युज पाइसकेको छ।

‘इन्फ्लुएन्सरहरुलाई प्रयोग गर्ने कुरामा भाजपा अन्य पार्टीभन्दा निकै अगाडि छ,’ युनिभर्सिटी अफ मिसिगनका सहप्राध्यापक जोयजीत पाल भन्छन्, ‘यो प्रवृत्ति नाटकीय रुपमा बढ्ने देखिन्छ।’

भाजपाका संगठकहरुले गएका वर्षहरुमा सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग निरन्तर भेटघाट गर्दै आएका छन्। सरकारले समेत आफ्नो कामको प्रचार गर्न ‘इन्फ्लुएन्सर मार्केटिङ एजेन्सी’लाई ठेक्का दिएको छ।

पालको संलग्नतामा गत महिनामा गरिएको एक अध्ययनमा पाँच प्रमुख युट्युबरहरुले हालै नेताहरुसँग लिएका जम्मा २९ वटा अन्तर्वार्तामध्ये ५ वटाबाहेक सबै भाजपाका छन्। अपवादमा कर्ली टेल्समा विपक्षी नेता राहुल गान्धीले अन्तर्वार्ता दिएका छन्।

‘सोसल मिडिया इन्फ्लुएन्सरहरुलाई हामी परिवारका सदस्य मान्छौँ,’ भाजपाका प्रवक्ता पुनीत अग्रवाल भन्छन्, ‘हाम्रो पार्टी थप कोसिस गरिरहेको छ। उनीहरुले हामीलाई अझ प्रभावकारी रुपमा सहयोग गर्छन्।’

इन्फ्लुएन्सरहरुलाई अन्तर्वार्ता दिँदा नेताहरुले आफ्नो जीवन र आनीबानीका विषयमा होसियारीपूर्वक तयार गरिएको दृष्टिकोण बिनाकुनै परीक्षण राख्न पाउँछन्। जबकि परम्परागत सञ्चारमाध्यममा त्यस्तो जाँच ज्यादा हुने सम्भावना रहन्छ।

तथापि, केही विश्लेषकहरु इन्फ्लुएन्सरबाट राजनीतिक दलले गराउने प्रचारको पारदर्शितामा प्रश्न उठाउँछन्।

सत्तारुढ दल र चुनावमा जित्ने पनि सम्भावना भएकाले भाजपाको आर्थिक स्रोत ठूलो छ। त्यसैले मोदीका विपक्षीसँग जोडिँदा इन्फ्लुएन्सरहरुलाई ज्यादा फाइदा हुँदैन।

‘इन्फ्लुएन्सरहरुलाई सामेल गर्ने वा तिनलाई खुसी पार्ने प्रयास निरन्तर चलिरहेको छ। ताकि तीबाट सकारात्मक सन्देश जाओस्,’ दिल्लीस्थित इन्टरनेट फ्रिडम फाउन्डेसनका प्रतीक वाग्रे भन्छन्।

इन्फ्लुएन्सरहरुले राजनीतिकर्मीको प्रचारका लागि पैसा लिएको पनि थाहा नहुने विश्लेषकहरु बताउँछन्।

टेक ग्लोबल इन्स्टिच्युट नामक थिंक ट्यांककी संस्थापक सबानाज रासिद दिया सामाजिक सञ्जालहरुको राजनीतिक सामग्रीसम्बन्धी नीति अस्पष्ट रहेको बताउँछिन्। त्यस्तै, कारोबार बाहिरबाट हुने हुनाले त्यस्ता नीति लागू गर्न पनि कठिन रहेको उनको भनाइ छ।

‘यसले सूचना र विज्ञापनको एउटा अवैध बजार नै सिर्जना गरेको छ। र, यसले नेताहरुलाई हेर्ने जनताको नजर विकृत तुल्याएको छ,’ मेटाकी पूर्वकर्मचारी दिया भन्छिन्।

युट्युबका अनुसार कुनै सामग्री सशुल्क प्रचार हो भने खुलाउनुपर्ने नियम छ। मेटाले पनि ब्रान्डेड कन्टेन्टका लागि पेड पार्टनरसिप लेबल लगाउनुपर्ने व्यवस्था गरेको छ।

छत्तीसगढ राज्यका २१ वर्षीय इन्फ्लुएन्सर शैलश लिलहारेले गत नोभेम्बरमा भएको विधानसभा चुनावमा छोटो भिडिओका लागि प्रतिउम्मेदवार १५ हजार रुपैयाँ लिएका थिए। आम निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।

‘हाम्रो क्षेत्रमा कोही पनि पत्रिका पढ्दैन, टीभी हेर्दैन। तर, मान्छेको आँखा दिनैभरि फोनमा गाडिएको हुन्छ,’ लिलहारे भन्छन्, ‘नेताहरु आफ्नो सन्देश मतदातासम्म पु¥याउन चाहन्छन्। त्यहीँनेर हाम्रो काम हुन्छ।’

भाजपाका प्रवक्ता अग्रवाल भने पार्टीले प्रायः इन्फ्लुएन्सरलाई पैसा नदिने बरु उम्मेदवारले गर्ने बताउँछन्। अधिकांश इन्फ्लुएन्सरले विचार मिलेका कारण भाजपाको प्रचार गर्ने उनको तर्क छ।

तर, राजनीतिमा धेरै निकट हुनु प्रत्युत्पादक हुनसक्ने लिलहारे बताउँछन्। ‘हाम्रो जादु हाम्रो विश्वसनीयता र फलोअर्सहरुको विश्वासमा टिकेको हुन्छ भन्ने पार्टीहरुलाई थाहा छ,’ उनी भन्छन्, ‘त्यसैले त्यस्तो सन्देश सूक्ष्म भएको राम्रो।’

अरुको तरिका अलग छ। बाबा बागेश्वरका नामबाट चर्चित २७ वर्षीय हिन्दु धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीले धार्मिक राष्ट्रवादको प्रचार गरेर युट्युबमा ७५ लाख फलोअर्स जम्मा गरेका छन्। 

गत महिना मोदीले अयोध्यामा राम मन्दिर उद्घाटन गरेपछि त्यसको खुसीमा गरिएको कार्यक्रममा भाजपा सांसदहरुले शास्त्रीलाई निम्त्याएका थिए। 

‘हिन्दुविरोधी शक्तिबाट भ्रमित नहुनुहोस्,’ शास्त्रीले भने, ‘यो भूमि रामको हो।’ फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .