ग्लोबल


सरिफको तर्फबाट सरिफ र खानको तर्फबाट खान : को बन्ला पाकिस्तानको प्रधानमन्त्री?

सरिफको तर्फबाट सरिफ र खानको तर्फबाट खान : को बन्ला पाकिस्तानको प्रधानमन्त्री?

नेपालखबर
फागुन १७, २०८० बिहिबार १५:१०,

को बन्ला पाकिस्तानको प्रधानमन्त्री?

बिहीबार पाकिस्तानको संसद् बैठक बस्दा यी प्रश्न सबैका सामु हुनेछ। विवदास्पद चुनावपछि पहिलो पटक संसद् बैठक बस्न लागेको हो।

तनावपूर्ण चुनावले नतिजा पनि अस्पष्ट दियो। जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरुले ९३ सिट जिते। तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफको पीएमएलएन पार्टीले ७५ सिट पाउँदा पीपीपी पार्टी ५४ सिटमा चित्त बुझायो।

पीएमएलएन र पीपीपीले सरकार बनाउन गठबन्धन गरेका छन्। इमरान खानको पीटीई समर्थित एक सांसद पनि सरिफको पार्टीमा प्रवेश गरेका छन्।

तल्लो सदन नेसनल एसेम्ब्लीको बैठक सरकार गठन प्रक्रिया सुरु गर्नेपर्ने अवधिको अन्तिम दिनमा बोलाइँदैछ। ३३६ सदस्यीय एसेम्ब्लीमा २६६ प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७० जना मनोनयन हुन्छ। ६० सिट महिलाका लागि आरक्षित छन् भने १० सिट धार्मिक अल्पसंख्यकका लागि। हरेक पार्टीले सोही चुनावमा ल्याएको मतको आधारमा यी सिट बाँडफाँट हुन्छन्।

सरकार बनाउन गठबन्धन वा पार्टीलाई १६९ सिट चाहिन्छ।

आरक्षित सिटको हिस्सा पाउन इमरान खान समर्थित ९२ स्वतन्त्र सांसदमध्ये ८९ जना एउटा सानो धार्मिक पार्टी सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) मा प्रवेश गरेका छन्। सो पार्टीले दाबी गरेको १० सिटमा निर्वाचन आयोगले अझै निर्णय दिएको छैन।

गठबन्धनले नवाज सरिफका भाइ सहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। यसअघि सहबाज १६ महिना प्रधानमन्त्री थिए। २०२२ मा उनले विश्वासको मत गुमाएका थिए।

चार साना पार्टी र केही स्वतन्त्र सांसदसहित यो गटबन्धनलाई १५० सिटको समर्थन छ।

अर्कोतिर एसआईसीले भने पीटीआईका नेता उमर अयुब खानलाई उम्मेदवार बनाउने भएको छ।

७७ वर्षको इतिहासमा पाकिस्तान २३ औँ प्रधानमन्त्री चुन्ने सँघारमा छ। तर, सेनाको हालीमुहाली रहेको यो मुलुकमा अहिलेसम्म कुनै पनि प्रधानन्त्रीले पनि आफ्नो पाँच वर्ष कार्यकाल पूरा गर्न पाएका छैनन्। 

सहबाज सरिफ
गठबन्धनको अंकगणित हेर्दा ७२ वर्षीय सहबाज सरिफ सजिलै प्रधानमन्त्री चुनिने देखिन्छन्।

पञ्जाबमा तीन पटक मुख्यमन्त्री भइसकेका उनले आफूलाई सबल प्रशासकका रुपमा उभ्याएका छन्। सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्री हुनु भनेको राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारीका रुपमा लिइन्छ।

नवाजलाई २०१८ मा भ्रष्टाचारमा दोषी ठहर गरेपछि सहबाज दाजुको छायाबाट बाहिर निस्केका हुन्। त्यसपछिको चुनाव इमरान खानले जिते। सहबाजले संसदमा पार्टीको नेतृत्व गरे र विपक्षी नेता बने।

२०२२ मा सहयोगीहरुको साथ र सेनाको समर्थनमा उनले इमरानको सरकार गिराए। र, प्रधानमन्त्री बने।

उनी सत्तामा रहुन्जेल पाकिस्तान एउटा संकटबाट अर्को संकटमा फस्दै गयो। जसमा २०२२ को भयानक बाढी पनि थियो। मुलुकको झण्डै एकतिहाइ हिस्सा डुबाएको बाढीले १८ सयको ज्यान लियो भने दसौँ लाख बेघरबार भए।

करिब ३० अर्ब डलर नोक्सान गरेको बाढीले यसै संकटमा रहेको पाकिस्तानी अर्थतन्त्रलाई घुँडा टेकायो। अन्तर्राष्ट्रिय मुद्राकोषबाट ३ अर्ब ऋण लिएर उनले यो संकट पार लगाए। अर्को महिना सो सम्झौता समाप्त हुँदैछ। प्रधानमन्त्री भए उनले तत्काल आर्थिक संकट टार्नुपर्नेछ।

उनले संकट टार्न चाहे पहिलो सम्बोधनमा विपक्षीप्रति नरम भएर प्रस्तुत हुने विश्लेषक सलमान गनी बताउँछन्। 

‘मुलुकमा स्थिरता र लोकतन्त्र आवश्यक छ भने उनले पहिलो भाषणमा विपक्षीसँग सम्झौताको प्रयास गर्नेछन्,’ उनी भन्छन्, ‘यदि उनी अर्थतन्त्रप्रति चिन्तित छन् भने उनले विपक्षीसँग कुरा गर्ने क्षमता देखाउनै पर्छ। दोस्रो कुरा, मुलुकको समग्र राजनीतिक नेतृत्व एकठाउँमा बस्नैपर्छ। अन्यथा यस्तो रिक्तता उत्पन्न हुनेछ, जहाँ अनिर्वाचित शक्तिले फाइदा लिनेछ।’

उमर अयुब खान
उमर अयुब खान राजनीतिक परिवारका सदस्य हुन्। उनले अनेक पटक मन्त्रीका रुपमा काम गरिसकेका छन्। 

उमरका हजुरबा अयुब खान पाकिस्तानको पहिलो सैन्य तानाशाह थिए। जसले १९५८ देखि १९६९ सम्म पाकिस्तानमा शासन चलाएका थिए। 

उनका बुबा गोहर अयुब खान पनि सैन्य सेवामा थिए। अवकाशपछि राजनीतिमा लागेका उनी १९९० मा संसदको सभामुख भए।

पीटीआईमा प्रवेश गर्नुअघि उमर पनि नवाजकै पार्टीमा थिए। २०१८ मा उनले पार्टी बदलेका थिए।

२०२२ मा सत्ताच्युत भएपछि उमरसहित सयौँमाथि चर्को दमन भयो। उनीविरुद्ध अनेक मुद्दा दायर भए। उनी लुक्न समेत बाध्य भए।

कतिपयले पार्टी छाडे पनि उनले छाडेनन्। र, पार्टीको महासचिव नियुक्त भए। त्यहीकारण उनलाई उम्मेदवार बनाइएको विश्लेषण गरिन्छ।

विश्लेषक माजिद निजामी भने संस्थापन अर्थात् सेनाविरुद्धको अडानका कारण उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको बताउँछन्।

‘उनको परिवारको राजनीतिको आधा शताब्दीलाई हेर्दा संस्थापनविरोधी यति चर्को अडान लिने उनी नै पहिलो हुन्,’ निजामी भन्छन्।

प्रधानमन्त्री नचुनिए पनि उमर बलियो नेताको रुपमा उभिन सक्ने निजामीको विश्लेषण छ। अल जजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .