ग्लोबल


उत्तर कोरियाद्वारा तोप शक्ति प्रदर्शन, बन्नसक्छ दक्षिणका लागि ठूलो खतरा

उत्तर कोरियाद्वारा तोप शक्ति प्रदर्शन, बन्नसक्छ दक्षिणका लागि ठूलो खतरा

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १७:४६, काठमाडौँ

उत्तर कोरियाले बिहीबार लामो दुरीमा प्रहार गर्नसक्ने हतियार प्रदर्शन गरेको छ। उत्तर कोरियाले प्रदर्शन गरेका ती हजारौँ तोपले दक्षिण कोरियामा ठूलो क्षति गर्नसक्ने विश्लेषकहरुको भनाइ छ।

अमेरिका र दक्षिण कोरिया ११ दिने संयुक्त सैन्य अभ्यास गरिरहेकै बेला उत्तर कोरियाले तोप प्रहार गरी सैन्य अभ्यास गरेको हो। 

यही साता उत्तर कोरियाले गरेको यो दोस्रो सैन्य अभ्यास हो। नेता किम जोङ उन सो अभ्यास हेर्न उपस्थित थिए।

दक्षिण कोरियालाई सन्देश दिन सो सैन्य अभ्यास गरिएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

किमले युद्ध सुरु भएको बेला तुरुन्तै सम्पूर्ण तोप शक्ति परिचालनका लागि तम्तयार रहनु निकै महत्वपूर्ण हुने बताएका छन्।

पछिल्लो समय उत्तर कोरियाले रुसलाई समेत तोपका गोला दिएर सहयोग गरेको थियो। सो मुलुकले ६ हजार ७ सय कन्टेनरमा करिब ३० लाख गोला पठाएको बताइन्छ।

२०२० को एक रिपोर्टमा उत्तर कोरियासँग दक्षिण कोरियाको बस्ती र सहरमा प्रहार गर्नसक्नेगरी करिब ६ हजार तोप रहेको उल्लेख थियो। 

‘यदि गैरसैनिक क्षेत्रमा प्रहार गर्ने हो भने ती ६ हजार तोपले एक घण्टामै १० हजारभन्दा बढीको ज्यान लिनसक्छ,’ र्‍यान्ड कर्पोरेसनको रिपोर्टमा भनिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .