ad ad

ग्लोबल


पहिलोपटक इजरायललाई सिधै हानेर इरानले दिएको सन्देश

पहिलोपटक इजरायललाई सिधै हानेर इरानले दिएको सन्देश

इरानी क्षेप्यास्त्र


नेपालखबर
बैशाख ३, २०८१ सोमबार १६:२९,

इजरायलमा सयौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी सेनाका प्रमुखले ‘लक्ष्य पूरा’ भएको घोषणा गरे। 

आफ्नो चिरशत्रुमाथि पहिलो पटक सीधा आक्रमण गरेको इरानले आफ्नो हमला जोडदार शक्तिप्रदर्शन होस् भन्ने चाहेको थियो। जसले इजरायलसँगको उसको छाया युद्धलाई खुला बनाएको छ।

इजरायलका अनुसार १७० मध्ये कुनै पनि ड्रोन इजरायली हवाई क्षेत्रमा पुगेन। ३० मध्ये २५ क्रुज क्षेप्यास्त्र इजरायली सीमामा प्रवेश गर्नुअघि न खसाइयो। र, १२० मध्ये अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्र इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट पार्‍यो।

तैपनि इरानभित्र यो कारबाहीलाई सफलताका रुपमा सराहाना गरियो। जसले उसको निवारक क्षमतालाई पुनर्स्थापित गर्नुका साथै सो क्षेत्रका उसका प्रोक्सी र समर्थकहरूमाझ उसको छवि सुदृढ तुल्याउने काम गर्‍यो। इरान आफूले दिएको चेतावनीअनुसार काम गर्छ र कसैले उक्साएमा निर्णायक कारबाही गर्न हिच्किचाउँदैन भन्ने कुराको प्रमाणका रुपमा पनि यसलाई हेरियो।

‘इरानको सन्देश स्पष्ट छ– तिमीले सोचेभन्दा पनि खतरनाक छौँ हामी। हामी आवश्यक परे युद्धको परिणाम भोग्न पनि तयार छौँ,’ एक इरानी अधिकारीले भने, ‘यो हाम्रो निवारक क्षमता र अब अति भइसक्यो भनेर अमेरिका तथा इजरायललाई दिएको संकेत पनि हो।’

इजरायलमाथि सीधै आक्रमण गर्ने निर्णय इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका लागि पनि निकै ठूलो राजनीतिक जुवा हो। उनले अमेरिका र इजरायलजस्ता शत्रुका हकमा बदला लिने मामिलामा हालसम्म ‘रणनीतिक धैर्य’ को नीति अपनाउँदै आएका थिए। यसको अर्थ के हो भने इरानी नेतृत्वले प्रत्यक्ष द्वन्द्वबाट बच्ने कोसिस गर्दै आएको थियो। जबकि इरानले आफ्नै भूमिभित्र आण्विक वैज्ञानिकको हत्या इजरायलले गराएको आरोप समेत लगाएको थियो।

इरानका सर्वोच्च नेता खामेनी

प्रत्यक्ष भिडन्तको सट्टा इरान असमान युद्धमा निर्भर थियो। अर्थात्, सो क्षेत्रका हेजबुल्लाह तथा इराक र इरानका मिलिसियालाई प्रयोग गरेर उसले बदला लिने गर्थ्यो।

यो आक्रमणले इरानको रक्षा नीतिमा नयाँ अध्याय सुरु गरेको लेबनानका लागि इरानका पूर्वराजदूत अहमद दस्तमलदाचिन बताउँछन्। अब इरानको नीति ‘रणनीतिक धैर्यबाट बहुस्तरीय रक्षामा परिवर्तन भएको’ पनि उनको भनाइ छ।

दमास्कसमा इरानको दूतावासमाथि इजरायली आक्रमणबाट दुई वरिष्ठ अधिकारीसहित ७ रिभोलुसनरी गार्ड्सको मृत्यु भएपछि त्यसको बदलामा इरानले इजरायलमाथि आक्रमण गरेको हो। अक्टोबर ७ मा हमासले आक्रमण सुरु गरेपछि इजरायलले सिरियामा इरानलाई लक्षित गर्दै हमला वृद्धि गरेको थियो।

सिरियामा मात्रै कम्तीमा १८ रिभोलुसनरी गार्ड मारिइसकेका छन्। दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट २५० हेजबुल्लाह लडाकुको मृत्यु भएको छ। यति हुँदा पनि इरानी अधिकारीहरूले आफूहरूले क्षेत्रीय युद्ध वा इजरायलसँग प्रत्यक्ष युद्ध नचाहेको बताउँदै आएका छन्।

तर, दमास्कसको हमलाले सीमा पार गरेको इरानको ठहर छ। यसमा जवाफ नदिने हो भने इरान थप कमजोर देखिने र इजरायलको आक्रमण अझ बढ्ने चिन्ता तेहरानलाई भएको ती अधिकारीले बताए।

इजरायलविरुद्धको कारबाही ‘सीमित’ भएको र अप्रिल १ मा दमास्कस आक्रमणमा प्रयोग भएका सैन्य शिविरहरूलाई मात्र निसाना बनाइएको इरानी अधिकारीहरूले बताएका छन्।

इजरायलभित्र खसेको क्षेप्यास्त्रको हिस्सा संकलन गरिँद। तस्बिर : द न्युयोर्क टाइम्स

‘इजरायलले ठूलो संख्यामा ड्रोनहरूलाई रोक्यो, यो साँचो हो। तर, दर्जनौँ ड्रोन प्रहार गर्नुको लक्ष्य इजरायलको हवाई प्रतिरक्षा प्रणालीलाई अस्तव्यस्त तुल्याउनु हो, ताकि इरानी क्षेप्यास्त्रले सो प्रणाली भेद्न सकोस्,’ इरानका एक नेता हमिद रजा तरागीले भने, ‘इजरायलको एउटा प्रमुख सैन्य शिविरमा सात वटा क्षेप्यास्त्र प्रहार गर्न इरान सफल भयो।’

आक्रमणबाट मुलुकको दक्षिणमा अवस्थित एउटा हवाई अखडामा न्यूनतम क्षति भएको इजरायली सेनाले बताएको छ। रातिको सो आक्रमणमा कसैको मृत्यु नभएको बताइएको छ। तर, नष्ट गरिएको क्षेप्यास्त्रको टुक्राले लागेर एक बच्चा गम्भीर घाइते भएको बताइएको छ। 

‘इरानको आक्रमण निकै ठूलो हुनसक्थ्यो। तर, हामीले यसलाई सीमित राख्यौँ,’ रिभोलुसनरी गार्ड्सका कमान्डर मेजर जनरल हुसेन सलामी भन्छन्। 

इरानी विदेशमन्त्री हुसेन आमिरअब्दुल्लाहियनले पनि सो क्षेत्रका आफ्ना ‘मित्र’हरूलाई ७२ घण्टाअघि नै सूचना दिइएको बताएका छन्। उनले अमेरिकालाई आइतबार ‘कारबाही सीमित हुने’ जानकारी पनि दिइएको बताए। यसले इरान अमेरिकासँग तनाव बढाउन चाहँदैन भन्ने संकेत गर्छ।

आक्रमणको क्रममा देखिएको दृश्य। रोयटर्स

कयौँ इरानीहरूले सामाजिक सञ्जालमार्फत अलगअलग धारणा व्यक्त गरेका छन्। केहीले यो कारबाही उचित भएको बताएका छन्। यसले राष्ट्रिय गौरवको भावना ब्युँताएको र इजरायललाई सजाय दिएको बताएका छन्। अन्य कयौँले मुलुकलाई युद्धको सम्मुख पुर्‍याउनु गल्ती भएको बताएका छन्। उनीहरू इजरायलले दिने जवाफप्रति चिन्तित छन्।

इजरायलले बदला लिने खतरा भए पनि इरानी अधिकारीहरू कम्तीमा बाहिरबाट हेर्दा विश्वस्त देखिन्छन्– इजरायलले इरानलाई सीधै निसाना बनाउने छैन। खामेनीको दाउ सफल हुने उनीहरूको विश्वास छ।

‘यो सजाय दिने कारबाही थियो। जुन सम्पन्न भएको छ,’ दस्तमलचिन भन्छन्, ‘यदि इजरायलले अर्को गल्ती गर्‍यो भने इरानले अझ ठूलो मात्रामा जवाफ दिनेछ। तर, हामीलाई के विश्वास छ भने युद्ध विस्तार गर्नमा न अमेरिकी, न अन्य पक्षकै हित छ।’ फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .