किर्गिस्तानको अवैतनिक महावाणिज्यदूतको कार्यालय सीतापाइलामा खुलेको छ।
निर्माण व्यवसायी रमेश शर्मा नेपालको लागि अवैतनिक महावाणिज्यदूत नियुक्त भएसँगै औपचारिक रूपमा कार्यालय खुलेको हो।
आरके कम्प्लेक्समा नेपालका लागि किर्गिस्तानका राजदूत अस्कर बेमिसोभ र अवैतनिक दूतले संयुक्त रूपमा झण्डा फहराएका छन्।
शर्मालाई केही दिनअघि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शर्मा हाल महासंघका सल्लाहकार छन्।
निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन्।
शर्माले नेपाल र किर्गिस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाई नेपालमा किर्गिस्तानको लगानी भित्र्याउन पहल गर्ने बताए।
उनले दुई देशबीच सहकार्यका क्षेत्र पहिचान गरी दुई देशबीचको विभिन्न क्षेत्रमा बलियो सम्बन्ध बनाउने बताए।
कार्यक्रममा दुई देशको पहिचान झल्काउने टोपी साटासाट गरिएको थियो। शर्माले राजदूतलाई नेपाली ढाका टोपी लगाई बुद्वको मूर्तिले कार्यालयमा स्वागत गरेका थिए।
किर्गिस्तानका लागि नेपाली राजदूतसँगै नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवाल, सांसद मोहन आचार्यलगायतका व्यवसायी पनि उपस्थित थिए।
Shares
प्रतिक्रिया