ad ad

ग्लोबल


टिकटक बन्द गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित

टिकटक बन्द गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित

रासस/एएफपी
चैत १, २०८० बिहिबार १४:३९, वासिङ्टन

टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ। 

भिडिओ साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानुनले  ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन्।

टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ। सांसदहरूले प्रस्तावित कानुनका पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन्। 

रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ। अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। 

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि भने, ‘आजको मतदानमा संसद्‌भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकाविरुद्ध जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ।’

उनले भने, ‘म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ।’

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्‌बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताएको ह्वाइट हाउसले जनाएको छ। 

‘यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,’ टिकटकका प्रवक्ताले विज्ञप्तिमा भनेका छन्। 

‘हामी आशावादी छौँ  सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसाय र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ।’

मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्युले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरूसहित आफ्ना कथा  बोल्न र साझा गर्न आग्रह गरेका थिए।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा उहाँले भन्नुभयो, ‘हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानूनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौँ ।’

‘हामीलाई विश्वास छ हामी (टिकटक र यसका प्रयोगकर्ता) मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौँ। आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस्। तपाईंहरु आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस्।’ 

सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक छ। उनले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा’ गर्ने बताएका छन्। 

टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .