कर्णाली प्रदेशका १० जिल्लामा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ २४ वटा निर्वाचन क्षेत्र रहेका छन्। २४ सिटका लागि कर्णालीमा १५ राजनीतिक दल र स्वतन्त्रबाट गरी ११६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
११६ जना उम्मेदवारहरूमा तीन जना महिला मात्रै प्रत्यक्ष उम्मेदवार बनेका छन्।
निर्वाचन आयोगका अनुसार प्रदेशभर सबैभन्दा बढी नेकपा एमालेबाट २४ जना, दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २१ जना, तेस्रोमा नेपाली कांग्रेसबाट १२ जना, नेपाल मजदुर किसान पार्टीबाट १२, माओवादी केन्द्रबाट १० जना उम्मेदवार बनेका छन्।
यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीबाट ६ जना, जनता समाजवादी पार्टीबाट ५ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट तीन जना, र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेकपा माओवादी समाजवादी, नेपाली कांग्रेस (बी.पी), हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीबाट एक÷एक गरेर जम्मा ७ जना उम्मेदवार बनेका छन्।
स्वतन्त्रबाट १६ जनाले उम्मेदवारी दिएका छन।
यी सबै उम्मेदवारहरु मध्ये महिला उम्मेदवार तीन जना मात्रै रहेका छन्। उनीहरु नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन्। अन्य १४ दलबाट र स्वतन्त्रबाट उम्मेदवारी दिएका १६ जना उम्मेदवार पनि पुरुष रहेका छन्।
निर्वाचन आयोगका अनुसार उक्त पार्टीबाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२)मा लक्ष्मीकुमारी सिंह उम्मेदवार बनेकी छन्।यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा मनकली रामजाली र सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (१)मा विजुकला राना मगरलाई नेमकिपाले महिला उम्मेदवार उठाएको छ।
सुर्खेत जिल्लामा रहेको ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी उम्मेदवार रहेका छन्। सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन्।
सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्। सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन्।
Shares
प्रतिक्रिया