कर्णाली


कर्णालीका सांसद भन्छन् : प्रदेशलाई सम्वृद्ध बनाउन मिलेर काम गर्छौं

कर्णालीका सांसद भन्छन् : प्रदेशलाई सम्वृद्ध बनाउन मिलेर काम गर्छौं

दिनेश बुढा
पुस ११, २०७९ सोमबार २१:५२, सुर्खेत

सोमबार दिउँसो साढे ३ बजे कर्णालीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य नेकपा एमालेका विनोदकुमार शाहले शपथ गराएका हुन्। 

नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउनुअघि सोमबार बिहान साढे ११ बजे शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए। शाह ६६ वर्ष उमेरका भए।

ज्येष्ठ सदस्य शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई शपथ खुवाएका हुन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा शाहले ३९ जना सांसदलाई शपथग्रहण गराएका हुन्। 

नवनिर्वाचित सांसदहरु पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै कर्णाली प्रदेशलाई सम्वृद्ध बनाउन मिलेर काम गर्ने बताएका छन्। शपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले कर्णालीको समग्र विकासका लागि एकमत भएर अगाडी बढ्ने बताएका हुन्।  

नेकपा एमालेकोतर्फबाट जुम्ला प्रदेशसभा (२) बाट निर्वाचित सांसद टेकराज पछाईले कर्णालीका जनताको जीवनस्तर बदल्नका लागि सही नीति निर्माणमा प्रतिबद्ध रहेको बताए। उनले कर्णालीको समृद्धिका लागि सबै सांसदहरु एकमत हुने अपेक्षा राखेको बताउँदै प्रदेशको भूमिकालाई सशक्त र बलियो बनाउने नीतिहरु निर्माणमा जोड दिने बताए।

दैलेख–२ प्रदेश सभा (१) बाट निर्वाचित सांसद घनश्याम भण्डारीले प्रदेशलाई बलियो बनाउने नीति, ऐन र कानून निर्माणमा जोड दिने बताए।

उनले भने, ‘राजनीतिक रुपमा संघीयता सफल भएको छ, प्रशासन तथा वित्तिय संघीयता सफल हुन सकेको छैन, अब कर्णाली प्रदेश सभाका सबै सांसदहरु मिलेर प्रशासन र वित्तीय संघीयतालाई कार्यान्वयन गर्ने नीति निर्माणमा ध्यान दिन्छौँ।’

समानुपातिक सांसद हुम्लाकी बिजया बुढाले कर्णालीको सम्वृद्धिका लागि सबै सांसदहरुको एउटै आवाज हुने बताइन्।

‘म हुम्ला जस्तो विकट जिल्लाबाट प्रतिनिधित्व गर्छु, जहाँ राष्ट्रिय सडक संजाल जोडिएको छैन’ उनले भनिन् ‘हुम्लामा सडक पुर्याउन मेरो पहिलो प्राथमिकता हुन्छ।’ 

उनले कर्णालीका महिला, दलित र विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि उचित नीति तथा कानून निर्माणमा ध्यान दिने बताइन्। समानुपातिक सांसद दैलेखकी गमता विकले कर्णालीका दुरदराजका नागरिकको आवश्यकता र अपेक्षा अनुसार प्रदेश सभामा आफ्नो भूमिका निर्वाह गर्ने बताइन्।

 ‘कर्णालीका अधिकांश घरपरिवारको पहुँचमा अझै विद्युत पुग्न सकेको छैन्, कर्णालीका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउनुपर्नेछ, त्यसबाहेक सबै नागरिकको पहुँचमा शिक्षा, स्वास्थ्य, खानेपानी पुर्याउनुपर्नेछ,’ उनले भनिन्।

हुम्ला प्रदेश सभा (१)बाट निर्वाचित सांसद रनसिंह परियारले जनतासँग गरेको बाचा अनुसार काम गर्ने बताए।

उनले भने, ‘कर्णालीका जनताको आवश्यकता र चाहाना अनुसार प्रदेश सभामा नीति निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र कर्णालीको पर्यटक विकासका लागि काम गर्ने योजना रहेको छ। साथै हामीले चुनावका बेला जनतासँग घोषणापत्रमार्फत, घरदैलोमा पुगेर थुप्रै आश्वासन दिएका छौँ, सोहि अनुसार कर्णालीका सबै प्रदेश सभाका सदस्यहरु मिलेर काम गर्छौं।’ 

यस्तै, हुम्लाबाट माओवादी केन्द्रकी समानुपातिक सांसद जुम्कित लामाले महिलाको हितको निम्ति र देशमा समग्र जनताको हित हुने तरिकाले नीति निर्माणमा संविधानभित्र रहेर काम बताइन्। 

उनले भनिन्, ‘मैले संसदमा मेरा जनताले गरेको अपेक्षा छ। लामा जाति विशेष रुपमा आदिवासी जनजाती कोटबाट म सांसद बनेकी छु। त्यसो हुँदा मैले समग्र जनजातीको हितको निम्ति आवाज उठाउँछु।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक÷एक र एक जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन्। जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .